काठमाडौं । यातायात व्यवसायीले अनधिकृत सवारीसाधनको प्रयोग, दुर्घटना न्यूनीकरणलगायत यातायात क्षेत्रका विभिन्न समस्यामा समाधानको माग गर्दै प्रहरी प्रधान कार्यालयलाई विभिन्न ११ बुँदे सुझाव दिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अध्यक्ष विजयबहादुर स्वाँर नेतृत्वको प्रतिनिधिमण्डलले सवारी ऐन २०४९ विपरीत दर्ता भएका तर प्रयोजनविपरीत सार्वजनिक सवारीसाधन सरह यात्रु र मालसामान ओसारपसार गर्ने÷गराउने कार्यमा रोक लगाउन माग गरेको छ ।
त्यसैगरी देशभर राष्ट्रिय राजमार्ग र सहायक राजमार्गमा विश्रामस्थल राखेर सोही स्थानमा चेकिङ गर्ने व्यवस्था मिलाउन, प्रस्थान बिन्दुबाट चेकिङ भएर सञ्चालित सवारीलाई विश्रामस्थलमा चेकजाँच गर्ने वा गन्तव्य स्थानमा चेकजाँच गर्ने व्यवस्था मिलाउन, दुर्घटना न्यूनीकरणका लागि मापदण्डविपरीत रूट इजाजतबिना सञ्चालित सवारीसाधनमा रोक लगाउन, बिपी राजमार्गलगायत देशका विभिन्न भागमा टाइम कार्ड लागू गरी मापदण्डविपरीत सञ्चालित सवारीसाधनमा रोक लगाउन माग गरेको छ ।
त्यस्तै, एउटै प्रदेशका जिल्लामा सार्वजनिक यात्रुबाहक र मालबाहक सवारीसाधन चेकिङ कार्यलाई हटाई सहजीकरण गर्न, दुर्घटना न्यूनीकरणका लागि प्रदेश जिल्लास्तरीय सचेतना अभियान चलाई सरोकारवालासँग सहकार्यको व्यवस्था मिलाउन, दुर्घटनापछि सवारीसाधनलाई २४ घण्टाभित्र सम्बन्धित कम्पनी वा व्यवसायीले पाउने कानुनी व्यवस्था कडाइसाथ लागू गर्न, भारतीय मालबाहक सवारीसाधनले देशभर निर्वाधरूपमा यात्रु तथा मालसामान ढुवानी गर्ने गरेकाले त्यस्ता सवारीसाधन पूर्णरूपमा रोक लगाउन पनि माग गरेको छ ।
त्यसैगरी गुणस्तरहीन सडकका कारण काठमाडौं उपत्यकालगायत देशभर सञ्चालनमा रहेका सवारीसाधन सडकमै भासिने गरेकाले क्षतिग्रस्त सवारीसाधनको क्षतिपूर्तिको व्यवस्थाका साथै सम्बन्धित निकायलाई सडकको गुणस्तर चेकजाँच गरेरमात्र यातायात सञ्चालन गर्ने व्यवस्था गर्न र सार्वजनिक यातायात सञ्चालन हुने सडकमा कानुनविपरीत छाडा चौपाया छोड्ने, बिस्कुन सुकाउने र मर्निङ वाक गर्ने कार्यले दुर्घटनाको जोखिम बढ्दो अवस्थामा रहेकाले उक्त कार्यमा पूर्णरूपमा रोक लगाउन पनि महासंघले माग गरेको छ । महासंघले प्रहरी महानिरीक्षक वसन्त कँुवर, प्रहरी अतिरिक्त महानिरीक्षक कार्यविभाग प्रमुख श्याम ज्ञवाली र प्रहरी नायब महानिरीक्षक प्रवक्ता भीमप्रसाद ढकाललाई सुझावपत्र बुझाएको हो ।
सीमा नाकामा कडाइ गर्न नाडाको आग्रह
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरी नेपाल र भारतबीचको नाकामा कडाइ गर्न आग्रह गरेको छ । नाडाका अध्यक्ष करण चौधरी नेतृत्वको प्रतिनिधिमण्डलले नेपालमा मालबाहक भारतीय ट्रक निर्वाधरूपमा ७२ घण्टासम्म नेपाल प्रवेश गर्न सक्ने व्यवस्थाले खासगरी नेपालका मालबाहक सवारीसाधन बिक्री र त्यसको व्यवसायमा गम्भीर असर परेको भन्दै भारतीय मालबाहक साधनलाई नेपालमा २४ घण्टामात्र समयावधि दिने र भन्सार बिन्दुबाट अधिकतम् १६ किलोमिटरमम्म मात्र सञ्चालन गर्न दिने व्यवस्था गर्न आग्रह गरेको हो ।
नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले दुई देशबीचको खुला सीमाका कारण भारतबाट ठूलो परिमाणमा अनधिकृतरूपमा लुब्रिकेन्ट्स, टायर तथा अटोमोबाइल स्पेयर पार्ट्स आयात हुँदा एकातर्फ नेपालका लुब्रिकेन्ट्स र टायर ट्युब उद्योगमा गम्भीर असर परिरहेको र अर्कातर्फ ती वस्तुको अनधिकृत आयातका कारण नेपालमा बसेर आधिकारिक व्यापार व्यवसाय गरिरहेका व्यवसायी व्यवसायमा टिकिरहन चुनौती बन्दै गएको बताउनुभयो । नेपालको सीमा क्षेत्रमा कडाइ साथै व्यवस्थित गर्न सकेमा देशले गुमाइरहेको ठूलो राजस्व पनि प्राप्त हुने भन्दै त्यसतर्फ आवश्यक पहल गर्न उहाँले गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण गराउनुभएको थियो ।
गृहमन्त्री श्रेष्ठले पहिलेको २४ घण्टाको समयावधि ७२ घण्टा पुर्याइएको र सीमा नाकामा भइरहेको समस्याबारे गहिरो चासो राख्दै समस्या समाधानका लागि सरकारले आवश्यक पहल गर्ने आश्वासन दिनुभएको नाडाले जनाएको छ । उक्त अवसरमा नाडाका संस्थागत उपाध्यक्ष पुष्कर ओझा, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्यसमिति सदस्यद्वय ऋद्धि कार्की, नारायणप्रसाद पौडेल तथा सचिव सुरेन्द्र प्रधानको उपस्थिति रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच