व्यवसायी अरुण चौधरीसहित तीन व्यक्तिको पक्राउपछि शीतल निवासदेखि सत्तारुढ दलमै तरंग

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले व्यवसायी अरुण चौधरीसहित बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पक्राउ गरेको छ ।

चौधरीलाई सीआईबी टोलीले राजधानीको लैनचौरबाट पक्राउ गरेको थियो भने थापालाई बत्तीसपुतलीबाट पक्राउ गरिएको बताएको छ ।
बाँसवारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी गरेको घटनामा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरेको सीआईबीको भनाइ छ ।

सोही प्रकरणमा सीआईबीले सीजी होल्डिङ्सको महाप्रबन्धक रहिसकेका सञ्जय ठाकुरलाई पनि पक्राउ गरेको छ ।

पक्राउ परेका तीनै जनालाई आज म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिँदै छ । उनीहरूलाई प्रहरीले ठगी र किर्ते कसुरमा म्याद थप गर्न सरकारी वकिलको कार्यालय काठमाडौंबाट जिल्ला अदालत लग्ने तयारी गरिरहेको छ।

व्यवसायी अरुण चौधरी सांसद एवं अर्वपति विनोद चौधरीका सहोदर भाइ समेत हुन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनपछि सीआईबीले बिहीबार पक्राउ गरेको हो ।

सीआईबीले उनीहरुलाई नियन्त्रणमा लिएपछि यतिबेला शीतल निवासदेखि सत्तारुढ दलमा समेत तरंग पैदा भएको छ ।
अरुण चौधरी पक्राउ परेपछि कांग्रेसका पूर्व महामन्त्री तथा सांसद शशांक कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले नेतृत्व गरेको अहिलेको सरकार असफल भएको र अब माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने बताउनु भएको छ । उहाँको यो अभिव्यक्ति आफ्ना मित्र विनोद चौधरीको भाइ पक्राउ परेलगत्तै आएको हो । चौधरी शशांकका नजिकका साथी रहेको बुझिएको छ ।

गृहजिल्लामा रहनुभएको कोइरालाले प्रधानमन्त्री आफैं सरकारको कामकारबाहीबाट सन्तुष्ट नभएको अवस्थामा अब ढिला नगरी पूर्व सहमतिअनुसार माधव नेपाललाई प्रधानमन्त्री बनाउनु पर्ने बताउनु भएको छ ।

यता कागजात कीर्ते गरेर सरकारी जग्गा हडपेको सम्बन्धमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीमाथि समेत नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अध्ययन गरिरहेको स्रोतको दाबी छ । विनोद चौधरीकै नाममा पनि २ हजार कित्ता सरकारी जग्गा भेटिएको प्रहरीको दाबी छ ।

यता आफ्ना नातेदार पक्राउ परे लगत्तै राष्ट्रपतिका राजनीतक सल्लाहकार सुनिल थापाको पनि सकृयता बढेको छ । थापा आज केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पुग्नुभएको छ ।

बिहीबार अपराह्न सीआईबी पुगेर थापाले सीआईबीकी प्रमुख किरण बज्राचार्यसँग भेट गर्नुभएको छ । बिहीबार नै पक्राउ परेका अजित नारायणसिंह थापा उहाँको नातेदार भएको बताइएको छ । पक्राउ परेका थापा छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समितिका अध्यक्ष हुन् । थापा कांग्रेस नेता तथा पूर्वमन्त्री समेत हुनु हो । आफन्त पक्राउ परेसँगै उहाँ सीआईबी पुग्नुभएको हो ।

चौधरी समूहले हडपेको जग्गामा चाँदबाग स्कूल सञ्चालन गरिएको छ भने अहिले अर्को अपार्टमेन्ट बनाउने तयारी छ । विसं २०४२ सालदेखि बाँसबारीको सरकारी जग्गालाई आफ्नो नाममा बनाउने काम सुरू भएको स्रोत बताउँछ। त्यसरी पटकपटक गरी १० रोपनी जग्गा किर्ते गरी आफूहरूको नाममा सारेको खुलेको स्रोतको दाबी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?