ठगीमा किसान !

विवेक खड्का दाङ, संवाददाता
Read Time = 7 mins

दाङ । दाङको लमही नगरपालिका-३ निवासी रमेश चौधरीले धान खेती गर्न थुप्रै सास्ती खेप्नुपर्‍यो । अनुदानको रासायनिक मल पाउन सक्नुभएन । खडेरीले झन् समस्या थप्यो । जेनतेन धान उत्पादन भयो । रमेशले धान बिक्री गर्न खोज्नुभयो । तर, खेती गर्न लागेको लागतसमेत नउठ्ने अवस्था भयो । ‘खेती गर्दा जति लगानी लाग्यो । बिक्री गर्दा लगानीसमेत नउठ्ने अवस्था भयो’, उहाँले भन्नुभयो, ‘कसरी खेतीपातीमा टिक्न सकिन्थ्यो ? ’ रमेशले २४ सय रुपैयाँ क्विन्टल धान बिक्री गर्नुभयो । रमेश जस्तै किसानले लगानीअनुसार धानको उचित मूल्य पाएका छैनन् ।

किसान यसपालि पनि धानको सही मूल्य नपाउँदा ठगिएका छन । राइस मिल तथा गल्ला खरिद गर्ने व्यापारीले धान खरिद गरिरहेका छन् । उनीहरूले किसानबाट आफूखुसी मूल्य तोकेर धान खरिद गर्ने गरेका छन् । सरकारले तोकेको मूल्यभन्दा थोरै मूल्यमा धान खरिद गर्ने गरेका छन् । नेपाल सरकारले यसपालि धानको मूल्य तोकेको छ । मध्यम धान प्रतिक्विन्टल तीन हजार १२८ रुपैयाँमा खरिद गर्न सरकारले मूल्य तोकेको छ । मोटो धानको मूल्य प्रतिक्विन्टल दुई हजार ९६७ रुपैयाँमा खरिद गर्न तोकिएको हो । तर किसानले सरकारी मूल्यमा धान बिक्री गर्न पाउँदैनन् ।

‘धान खरिद बिक्रीमा बिचौलिया छन् । त्यही भएर हामीले कहिल्यै उचित मूल्य पाउँदैनौँ’, किसान गणेश चौधरीले भन्नुभयो, ‘खेती गर्न लाग्ने मल, बिउ, परिश्रमको मूल्य उठ्दैन ।’ स्थानीय स्तरमा अहिले राइस मिलहरूले मसिनो धान प्रतिक्विन्टल २९ सयदेखि तीन हजार रुपैयाँमा खरिद गरेका छन् । मोटो धान प्रतिक्विन्टल दुई हजार चार सयदेखि दुई हजार पाँच सय रुपैयाँमा खरिद भइरहेको छ । मसिनो धानको रूपमा गोरखनाथ, सुप्रिम सोना, कुबेलनलगायत खरिद गर्ने गरिएको छ भने मोटो धानको रूपमा राधा ४, ६४४४, शंकरलगायत खरिद गर्ने गरिएको छ ।

गत वर्षको तुलनामा केही रूपमा धानको मूल्य बढेको देखिन्छ । क्विन्टलमा ५० देखि एक सय रुपैयाँ बढेर व्यवसायीले खरिद गरेका छन् । पोहोरसाल मसिनो धान दुई हजार सात सय रुपैयाँ र मोटो धान दुई हजार तीन सय रुपैयाँ क्विन्टलमा खरिद गरिएको थियो । तर, किसानले पाउने मूल्य लागतको हिसाबले ज्यादै न्यून भएको अगुवा किसान विश्व अधिकारीले बताउनुभयो । ‘खाद्यान्न उत्पादन गर्ने किसानलाई अन्याय छ । किसानले सरकारले तोकेको मूल्यसमेत नपाउने अवस्था छ’, उहाँले भन्नुभयो- ‘सरकारले किसानको समस्या बुझ्दैन ।’ धान खेतीमा लागत घटाउने विषयमा स्थानीय सरकारले कार्यक्रम बनाउन सकेका छैनन् । वर्षे धान खेतीमा किसानले रासायनिक मल र सिँचाइको चरम समस्या भोग्नुप¥यो । जसले गर्दा धान उत्पादनसमेत घट्न पुगेको छ । स्थानीय सरकारले धानको उत्पादन बढाउन उन्नत धानको बिउ उपलब्ध गराउने, प्रांगारिक मलको प्रयोगलाई बढाउने योजना बनाएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनुभयो ।

‘रासायनिक मलको विकल्पमा प्रांगारिक मल तयार, गड्यौला मल बनाउने योजना पार्नुपर्ने देखिन्छ । प्रांगारिक मल बनाउन स्थानीय सरकारले ध्यान दिएको छ’, उहाँले भन्नुभयो– ‘रूखका पात पतिंगर र गोबर मिसाएर प्रांगारिक मल छ ।’ किसानलाई धानको सही मूल्य दिन पहल लिने अध्यक्ष विष्टले बताउनुभयो । कक्षपति राइस मिलले यस वर्ष पनि धान खरिद गरेको छ । ‘हामीले धान खरिद गर्दै आएका छौँ । गत वर्षको तुलनामा यसपालि धानको मूल्य केही बढेको छ’, म्यानेजर मदन अधिकारीले भन्नुभयो, ‘सरकारी मूल्यमा धान खरिद गर्न सकिँदैन । चलन चल्तीको मूल्यमा खरिद गर्छाैं ।’

खाद्य तथा व्यापार कम्पनी लिमिटेड दाङले जिल्लाबाट धान खरिद गर्दैन । सरकारले धानको मूल्य तोके पनि जिल्लाबाट सरकारी निकायले धान खरिद नगर्ने गरेको हो । कार्यालय प्रमुख तिलक सुनारका अनुसार यसपालि तोकिएको धानको मूल्यअनुसार खरिद गर्ने कार्यादेश प्राप्त भएको छैन । ‘हामीलाई धान खरिद गर्न कार्यादेश छैन’, सुनारले भन्नुभयो, ‘जिल्लाभित्र सरकारी दररेटको आधारमा धान खरिद भएको देखिँदैन । व्यापारीले पनि नाफा कमाउन सरकारी मूल्यभन्दा कम मूल्यमा धान खरिद गर्ने गरेको पाइएको छ ।’

दाङ जिल्लामा वर्षे धान खेती करिब ३९ हजार हेक्टर क्षेत्रफलमा हुँदै आएको थियो । तर, यस वर्ष खडेरीका कारण ३७ हजार ३४० हेक्टर क्षेत्रफलमा मात्रै धान खेती भएको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले जानकारी दिनुभयो । यस वर्ष १५ लाख ३४ हजार ६३५ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्षको तुलनामा यस वर्ष पाँच प्रतिशतले धान उत्पादन घटेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । ‘यो वर्ष असार, साउन महिनामा पानी परेन । जसले गर्दा धान खेती हुने ठाउँमा धान खेती भएन’, लामिछानेले भन्नुभयो, ‘भदौमा पानी परेकाले धान उत्पादन केही सप्रियो ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?