✍️ कलानिधि दाहाल
प्रशान्त महासागरको जलसौन्दर्य । लामो यात्राको अनवरत जलविहार । थकित तर आनन्दित चेहराहरू । त्यसका नायक कुपेका आँखा एकाएक टक्क अडिए । प्राकृतिक तत्क्षणमा नै निर्मित भएर दौडिएको डुङ्गा ढुङ्गाजस्तै स्थिर मुद्रामा देखापर्यो । चौबीस जना यात्रुहरू एकतमास कुपेको अनुहार चियाउन लागे । किनारामा अडिएको डुङ्गाभित्र कौतुकतापूर्ण तर जिज्ञासु नयन चारैतिर छरिरहेको नायकलाई देखेर सबै शान्त र स्थिर अझखुशी चेहरामा परिणत हुँदै ठाने-अब हाम्रो अडानस्थल टाढा छैन ।
असङ्ख्य सुन्दर, रमणीय र मनमोहक टापुहरू एकअर्कामा अङ्कमाल गरेर उभिएका छन् । कतै घनाच्छादित जङ्गल, पिङ खेल्दै गरेका लहराहरू, शान्त संयमित ढङ्गले जङ्गलकै भित्री भागसम्म भँगाला फुटेर पसेको प्रशान्त, नागबेली परी सर्वत्र फैलिएका जलतरङ्गमा लुकामारी खेल्दै गरेको यो स्थल कविकल्पित स्वर्गभन्दा कम छैन । दुष्यन्त शकुन्तलाले उन्मत्त जवानी विश्राम गरेको विपिन विहारभन्दा कम छैन । कण्व ऋषिले मेनकाद्वारा परित्यक्त शकुन्तलालाई चरीको चुच्चोबाट आफ्नो अञ्जुलीमा सतर्कतापूर्वक समाल्दै आफ्नो बासस्थान कुटीतिर पाइला सारेभन्दा कम छैन ।
सातौं शताब्दीबाट सुरु भएको माओरीको न्युजिल्याण्ड वासस्थान विनाअवरोध निर्विवाद रूपले अगाडि बढ्यो । यो बसाइँसराइ उनीहरूको लागि शुभ सङ्केतको समयधार बन्यो । पारस्परिक सौजन्य, सुमधुर संयोग र नेताको सकारात्मक छनोटमा मख्ख परेको माओरी समुदायको तीव्र गतिमा यिनका पारिवारिक सदस्य वृद्घि पनि हुँदै गए ।
मानवरहित त्यो स्थलप्रकृति नै पिता, प्रकृति नै माताको प्रणयोत्सर्गपछि जन्मेका दिलबहलाउने, आँखामा मोहनी लगाउने अगणित प्रेमोपहार बाँड्दै गरेका दुबाका अश्रयस्थल चौरहरू लामबद्घ छन् । कतै अनकण्टार रिङ्गटे भीरहरू त कतै घामका झुल्कासँगै विनावस्त्रका शरीर सुताएर लडीबुडी गरौँजस्ता लाग्ने वातावरणको मोहक दृश्यले नायक कुपे लगायतको समूह मदारीको लठ्ठाइमा लठ्ठिएका बाँनर समूहवत् बन्न पुग्यो । सपेराद्वारा मन्त्रमुग्ध ढकीका सर्पजस्तै बन्न पुग्यो ।
सर्वत्र भेडाहरू भ्या भ्या र बाख्राहरूका म्याँ म्याँ क्याँ क्याँ !! का ध्वनि प्रतिध्वनित भएर सर्वत्र फैलिएका आवाजले कुपेको त्यस समयको समूहलाई सायद नछुन सक्छ तर यो वातावरण यी दृश्यहरू कुनै काल्पनिक इतिहासका पाना नभएर वर्तमान न्युजिल्याण्डको जीवन्त कहानी हो । कैयौं शताब्दी भोलिसम्मको स्वरूप हो । अहिलेको विधिविधानले अहिलेका नीतिनियमले यथावत् भोलिसम्मको सङ्केत गरिरहेको छ ।
अनुसन्धेय तर लामो समय यताबाट गई त्यता बसोबास गरेका, साहित्यिक लेखन पनि भएका कोमल अनुभूतिवाहक पाल्पाका मित्र बबिन घिमिरे र पोखराका ज्वाइँ दीपक लामिछानेसँग लामो समय अन्तक्रियामा डुल्दा पनि यो प्रश्न अनुत्तरित छ-भेडाहरू कहाँबाट आए ? कसले ल्याएर राखे ? या यिनीहरू स्वतस्फुर्त प्रकृतिबाट नै उत्पन्न भएका हुन् ?
सातौँ शताब्दी आसपासमै कुपे समूहका सामु यी दृश्य देखिएका सङ्केतहरू पाइन्छन्, प्रमाणित पनि छन् । जे होस् कुपे समूहका निमित्त यी दृश्य अपरिहार्य आवश्यकताका रहेनन् । भोको पेटले दृश्यको रौनक रुचाउन्न, नाङ्गो आङ्ले शीतको सौन्दर्य चाहन्न, भिजेको शिरले महलको सान सहन्न । यस समूहलाई पेटको सारङ्गीले सताएको थियो तर भोकाए पनि बाघले घाँस खाँदैनको सार चरितार्थमा भेडाबाख्रा यिनका रुचिभित्र पर्दैनथे । यसर्थ पनि यिनका दृष्टिकेन्द्रमा मात्र प्रशान्तको शान्त तर भीमकाय वक्ष सुतेको थियो जसका अन्तर्गतमा सल्बलाउने, कहिले माथि निस्कने, कहिले डुबुल्की मार्ने, चुल्बुलाउने र मुख बाउने माछाहरू थिए ।
यिनै सामुद्री मत्स्यस्वादका जिब्रामिठासमा कुपे समूहको अन्तरमन निर्णायक बन्न पुग्छ । यिनका सामु अन्य कुनै आशङ्का रहेनन्, निशङ्क यसै सामुद्री टापुलाई सुदूर भविष्यसम्मको जीवनयात्रा बनाउने निर्णयमा पुगे । भोकले छट्पटाइरहेको अतीत बासस्थान सम्पूर्ण बस्ती समूह ल्याउने निचोडमा यिनीहरू पुगे । नायक कुपेको अरोट शिरमा राखेर केही व्यक्तिगई पहिलेको अर्को युरोपियन टापुबाट सबैलाई यता ल्याए ।
सातौं शताब्दीबाट सुरु भएको माओरीको न्युजिल्याण्ड वासस्थान विनाअवरोध निर्विवाद रूपले अगाडि बढ्यो । यो बसाइँसराइ उनीहरूको लागि शुभ सङ्केतको समयधार बन्यो । पारस्परिक सौजन्य, सुमधुर संयोग र नेताको सकारात्मक छनोटमा मख्ख परेको माओरी समुदाय तीव्र गतिमा अझ भनौं दिनदुगुना रातचौगुनाका हिसाबले यिनका पारिवारिक सदस्य वृद्घि पनि हुँदै गए । अन्य कुनै नयाँ सोचको समय नरहेका बेला, शिक्षाको जग नबसेका बेला, चेतनाको चर्खा नघुमेका बेला, आरामको बास, मिठासको अर्थात् जिब्राले चाहेजस्तो गाँस, खोजेजस्तो आभूषण अभावबाट भावमा परिणत हुनु नै सन्तुष्टिको चरम प्राप्ति हो । माओरी परिवार यस अवस्थामा एकाएक अभाव, असन्तुष्टि र चिन्ताका घेराबाट उठेपछि एउटै लक्ष्यमा केन्द्रित रहृयो । आनन्द, मोजमज्जा, विलासिता, सामु देखिने सामान्य प्राकृतिक अवरोधसँग जुध्नुसिवाय अन्य समस्या रहेनन् ।
दुःखबाट सुखमा, अभावबाट भावमा, चिन्ताबाट सन्तुष्टिमा अचानक उक्लेपछि माओरी समुदायले आफ्नै खालको स्वभावमा रहेर आफ्नै तरिकाका संस्कार संस्कृतिको निर्माण गर्न लागे । बलका हतियार प्रयोग गरेर एकअर्काले एकअर्काको आकृति वा चेहराबाट स्वभाव पत्ता लगाई काठमा त्यस्तै चित्र बनाउने र तिनलाई हेरेर आफैं मख्ख पर्ने त्यस जमानाको स्वरूपलाई अद्यावधि न्युजिल्याण्डका ठाउँठाउँमा साकार रूपमा देख्न पाइन्छ । शताब्दीऔं लागेर विकसित भएको तत्कालीन स्वरूप वर्तमानजस्तै भई विद्यमान रहेको छ ।
विपरीत केही नभएको न्युजिल्याण्ड सामुद्री टापु आफैँमा जङ्गलको मनमोहक सुन्दरताको घुम्टोले छोपिनु, भयरहित हुनु, जति बेला जस्तासुकै जङ्गलमा पसे पनि आफैँ डराएर मर्नुबाहेक अर्को कृत्रिम मृत्युको यमराज नबस्नु अजीव आश्चर्यसिवाय के नै हुन सक्छ र ?
शत्रुसँग यिनीहरूले यसबेला समय खर्चनु नै परेन । मान्छेको नामनिशाना नै थिएन यस टापुमा । खतराका घण्टी माओरीसामु त्यस बेला बज्थे जब वन्य हिंस्रक प्राणीको उपस्थिति सामु रहन्थ्यो । अजीव अनुसन्धेय विषय यो पनि हो न्युजिल्याण्डको । चारैतिर घना जङ्गलहरू अहिले पनि मुस्कुराइरहेका छन् । अनुमान गरौँ त्यस बेला अझ कस्तो थियो होला । जङ्गल यसै पनि आक्रामक हिंस्रक जङ्गली प्राणीहरूको बासस्थान हो । विषालु सानामसिना जीवहरूको क्रीडास्थल हो । मान्छेका लागि भयोत्पादक दृश्य हो । अग्ला रिङ्गटालाग्दा पहाडहरू, डरलाग्दा ओडारहरू, आँखाले देखी नभ्याइने गुफाहरू यसै पनि मानव दृश्यका लागि भयप्रद, घातक अनुहारहरू हुन् । ती अद्यावधि जस्ताका तस्तै छन् । अझ भयानक हुन सक्छन् त्यसबेला ।
अचम्मको लीला छ प्रकृतिको । त्यस्ता उपयुक्त र अनुकूल वातावरणमा पनि कतै हिँस्रक वन्यजन्तुको आभास पाइन्न । बाघ चितुवाहरू अन्य देशबाट आयातीत गरेर चिडियाखानामा सजाइएमात्र देख्न पाइन्छ । सिंहका आकार कलाकारका हातबाट भित्तामा निर्मित भएमात्र हेर्न पाइन्छ । बिच्छीको ‘ब’ सम्म भेटिन्न । सर्पको ‘स’ अक्षरमात्र त्यो पनि लेखेपछि । विषालु वा अविषालु भन्ने प्रश्न नै रहेन ।
हाम्रो तराईमा अद्यावधि वर्षा लाग्नासाथ बिच्छीको विषले मान्छे मर्छन् । बस्ती बाघचितुवा र सिंहका आक्रमणले सखाप हुन्छन् । दिनदहाडै हात्तीका पाइला नै मान्छेका यमराज बन्छन् । वन्य बङ्गुरले सताएर अङ्गुर टिप्न गएको मान्छे घर फर्कन्न । अलिकति घाम बाँकी हुँदै मान्छेका अनुहार घरबाहिर निस्कनु कालले कुत्कुत्याएको ठहर्छ । सुतिरहेका ठाउँमा सर्पले सुत्केरी समाप्त पार्छ । हरियो वन नेपालको धन भने पनि त्यो नै विनाशको धड्कन पनि बनेको छ । विपरीत केही नभएको न्युजिल्याण्ड सामुद्री टापु आफैँमा जङ्गलको मनमोहक सुन्दरताको घुम्टोले छोपिनु, भयरहित हुनु, जतिबेला जस्तासुकै जङ्गलमा पसे पनि आफैँ डराएर मर्नुबाहेक अर्को कृत्रिम मृत्युको यमराज नबस्नु अजीव आश्चर्यसिवाय के नै हुन सक्छ र ?
दुनियाँबाट अलगभएको माओरी समुदाय न कसैको भयमा रहृयो, न केहीको भयमा । अन्य समुदायबाट, अन्य समूहबाट, अन्यजनसम्पर्कको नजिकपासबाट बेखबर हुनपुग्यो । कसैसँग उसको दुश्मनी थिएन, मनमुटाव थिएन । अझ यता आएपछि त ऊ कसैको आभाससम्ममा पनि नरहेकाले ऊ विवादरहित आफ्नो यात्रामा अगाडि बढ्यो । चाहेजति र चाहेजस्तै सामुद्री माछाको आहार, भनेजस्ता जङ्गली फलफूलको प्राप्ति, मनले खोजेजस्तै बास बनाउन मिल्ने स्थानगत सुलभताले ठाउँलाई स्वर्ग र आफूलाई देवीदेवताका रूपमा चित्रित गर्न पुगे ।
नभन्दै यिनीहरूको स्वभाव पनि सामान्य मान्छेका अनुपातमा अलि हठीजस्तो, अलि अहङ्कारयुक्त जस्तो बनेर गयो । अन्य प्रजातिलाई भुसुना बराबर ठान्ने मनोविकास यसबाट नै विकसित हुँदै गयो । सातौँ शताब्दीदेखि सुरु भएको एकतन्त्रीय आफ्नै खालको माओरी साम्राज्य सत्रौं शताब्दी आसपासमा पुग्दा सय डेढसयबाट बढेर एघार लाखको हाराहारीमा पुगेको पाइन्छ र न्युजिल्याण्डको सामुद्री टापु माओरी समुदाय विकासको उर्वर टापु बन्न पुग्यो । चरमपछिको परिणाम फेरि अधोगतितिर झर्नु प्रकृतिको नियम हो । इस्वीको १६४२ बिन्दु माओरी समुदाय विकासको अवरोधक बिन्दु बनेर देखापर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच