काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को छ महिनामा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ६.६ प्रतिशतले बढेको छ । साउनदेखि पुससम्म बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप तीन खर्ब ७७ अर्ब सात करोडले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप दुई खर्ब १५ अर्ब १४ करोड अर्थात् ४.२ प्रतिशतमात्रै बढेको थियो । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको तथ्यांकअनुसार वार्षिक बिन्दुगत आधारमा २०८० पुसमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १४.९ प्रतिशतले बढेको छ ।
२०८० पुसमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.८, २६.८ र ५९.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ७.८, २५.६ र ६०.३ प्रतिशत थियो । २०८० पुसमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेप अंश ३६.६ प्रतिशत रहेको छ । २०७९ पुसमा पनि यस्तो निक्षेप अंश ३६.६ प्रतिशत नै थियो ।
पुससम्म बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप तीन खर्ब ७७ अर्ब सात करोडले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप दुर्ई खर्ब १५ अर्ब १४ करोड अर्थात् ४.२ प्रतिशतमात्रै बढेको थियो ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा एक खर्ब ९२ अर्ब ६४ करोड अर्थात् ४.० प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा एक खर्ब ३७ अर्ब ३३ करोड अर्थात् ३.० प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० पुसमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.९ प्रतिशतले बढेको छ । २०८० पुसमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर-वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जा अंश ६३.२ र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.९ र ३५.१ प्रतिशत थियो ।
समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ४.०, विकास बैंक ४.४ र वित्त कम्पनीहरूको कर्जा प्रवाह २.४ प्रतिशतले बढेको छ । २०८० पुसमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ११.४ प्रतिशत कर्जाका लागि चालु सम्पत्ति (कृषि तथा गैर-कृषिजन्य वस्तु) सुरक्षणका रूपमा रहेको छ भने ६७.७ प्रतिशत कर्जाका लागि घरजग्गा धितो सुरक्षण रहेको छ । २०७९ पुसमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.२, ६७.२ प्रतिशत थियो ।
त्यस्तै, आर्थिक वर्ष २०८०/०८१ को छ महिनामा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा १.१, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.०, निर्माण क्षेत्रतर्फको कर्जा ४.१, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १०.६, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २.०, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ४.५ र उपभोग्य क्षेत्रतर्फको कर्जा ७.० प्रतिशतले बढेको छ । सो अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १३.२, नगद प्रवाह कर्जा २७.५, ट्रष्ट रिसिट (आयात) कर्जा ५.८, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ४.७ र मार्जिन प्रकृतिको कर्जा १०.५ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ४१.० प्रतिशत र हायर पर्चेज कर्जा १९.९ प्रतिशतले घटेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकबाट स्थायी तरलता सुविधामार्फत् एक अर्ब २० करोड र ओभरनाइट तरलता सुविधामार्फत् पाँच खर्ब १३ अर्ब ९१ करोड गरी कुल पाँच खर्ब १५ अर्ब ११ करोड तरलता उपयोग गरेका छन् भने निक्षेप संकलन बोलकबोलमार्फत् तीन खर्ब १५ अर्ब ५५ करोड तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा खुला बजार र स्थायी तरलता सुविधालगायतका विभिन्न उपकरणमार्फत् खुद ३० खर्ब ९९ अर्ब ४६ करोड तरलता प्रवाह गरिएको थियो ।
समीक्षा अवधिमा केन्द्रीय बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर दुई अर्ब ७६ करोड खुद खरिद गरी तीन खर्ब ६६ अर्ब १४ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर दुई अर्ब ७६ करोड खुद खरिद गरी तीन खर्ब ५८ अर्ब ९० करोड तरलता प्रवाह गरिएको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलर एक अर्ब ८२ करोड बिक्री गरी दुई खर्ब ४२ अर्ब आठ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर दुई अर्ब २८ करोड बिक्री गरी दुई खर्ब ९६ अर्ब २२ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच