वर्षा र हिमापातसँगै किसान खुसी

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 4 mins

म्याग्दी । पाँच महिनापछि भएको वर्षा र मध्य माघपछि पहिलो पटक परेको हिमपातका कारण म्याग्दी लगाएत धौलागिरि क्षेत्रका किसानहरु खुसी भएका छन् ।

गत असोजमा मनसुन बहिरिएपछि पहिलो पटक धौलागिरि क्षेत्रमा वर्षा र हिमपात भएको हो । लामो समयपछि वर्षा भएकाले बाली सप्रिने भन्दै किसान खुसी भएका हुन् ।

मालिका गाउँपालिका २ रुमका किसान टेकबहादुर विकले भन्नुभयो, “लामो समयसम्म वर्षा नहुँदा हिउँदेबालीमा समस्या देखिन थालेको थियो । हिउँ नपर्दा चिस्यान कम भएकोले जंगलमा जंंगली फलफूल र कन्दमुलहरु सप्रिन पाएका थिएनन् । अहिले वर्षा र हिमपातभएसँगै गहुँ, तरकारी, फलफूललगायत हिउँदे खेतीका लागि राम्रो भएको छ ।”

किसान पार्वती पुनले लामो समयसम्म वर्षा नहुँदा सिंचाइ नभएको ठाउँमा बालीनाली सुक्न थालेका र ढिलोगरी भए पनि वर्षा भएपछि किसानलाई ठूलो राहत मिलेको बताउनुभयो । बिहीबार बिहानदेखि शुक्रवार विहानसम्म भएको वर्षा र हिमपातले किसानहरुलाई ठूलो राहत मिलेको कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो ।

गत असोज अन्तिमतिर मनसुनी वर्षा बाहिरिएपछि पहिलो पटक बिहीबार वर्षा भएको छ । वर्षा र हिमपातले हिउँदे बालीका लागि राम्रो हुनुका साथै वायुमण्डल पनि सफा भएको र दिनपनि घमाउन थालेका बताउनुभयो ।

गहुँ, जौँ, आलुलगायतका हिउँदेबाली पानी नभएर सुक्न थालेको अवस्थामा पानी परेपछि राहत भएको मालिका गाउँपालिका ६ का किसान तिला सिउथानीले बताउनुभयो । “खेतबारीको हिउँदेबाली पानी नपाएर सुक्ने डर थियो, ढिला भए पनि वर्षा भयो राम्रो भयो”, उहाँले भन्नुभयो ।

त्यसैगरी म्याग्दीको उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । सोले गुर्जा, लुलाङ, मल्कबाङ, कुइनेमङ्गले, चिमखोला, ठाडाखानी, कुइनेखानी, नाँगी, शिखलगायतका बस्तीमा हिमपात भएको छ । जिल्लाको मुख्य पर्यटकीयस्थल पुनहिल, घोडेपानी, खोप्रा, खयरलेक, मोहरेडाँडा, टोड्के, गाम्फाधुरी, भेडिओढारलगायतका ठाउँमा समेत हिमपात भएको स्थानीयले जनाएका छन् ।

पर्यटकीयस्थलमा यो यामको पहिलो हिमपात भएपछि पर्यटक हिउँमा रमाइरहेका छन् । यस वर्षको पहिलो हिमपात भएकाले यसले हिउँदे खेतीबालीमा किसानलाई राहत भएको मालिका गाउँपालिका २ का टिका पुनले बताउनुभयो ।

पश्चिमी वायुको प्रभावस्वरुप वर्षा भएको जल तथा मौसम विभागले जनाएको छ । पानी पार्ने प्रणाली शुक्रबार बिहानदेखि विस्तारै कमजोर हुँदै गएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?