लुम्बिनी प्रदेशमा दादुरा–रुबेलाको खोप ११ लाख ६० हजार बढीलाई लगाइने

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 8 mins

रुपन्देही । सन् २०२६ सम्ममा नेपालबाट दादुरा रुबेला रोग निवारण गर्न नेपाल सरकारले प्रतिबद्धता जनाएपनि कोभिड–१९को महामारी र अन्य कारणहरुले गर्दा नेपालमा पछिल्लो समय बालबालिकाहरूमा दादुरा रुबेलाको महामारी देखिएको छ ।

कोभिड–१९ ले गर्दा नेपालमा दादुरा रुबेलाको खोप लगाउन छुटेका बालबालिका हरुको संख्यामा बृद्धि भई २०७९/०८० मा दादुराको महामारी देखिएको स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशले जनाएको छ ।

लुम्बिनी प्रदेश पूर्ण खोप प्रदेश घोषण भएपनि २०७९ मंसिर ३ देखि २०८० पुष १५ गतेसम्म दादुरा रुबेलाको महामारीको रुपमा सबै भन्दा धेरै बिरामी बाँकेमा फेला परेको थियो ।

स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका अनुसार बाँकेमा ३ सय २१ जना दादुरा रुबेलाबाट बालबालिका संकमित भएका थिए । त्यसैगरी बर्दियामा ७२, दाङमा ३९, अर्घाखाँचीमा ११ जनामा बिरामी परेका थिए ।

नियमित दादुरा रुबेला खोपको कभरेज सबै स्थानिय तहमा एकरुपता रहेको छैन । जसका कारण पनि दादुरा रुबेला खोप अभियान २०७६÷०७७ समापन्नपछि गरिएको सर्वेक्षणबाट दादुरा रुबेला खोपको कभरेज ८४ प्रतिशत मात्र रहेको पाइएको छ ।

दादुरा रुबेला खोप अभियान २०८०÷०८१ अन्तरगत प्रदेशस्तरीय समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका खोप फोकल पर्सन कुमार थापाले पछिल्लो समय दादुरा रुबेलाका बिरामीको संख्या बढेको हुदा नेपाल सरकारले यहि फागुन १३ देखि २५ गतेसम्म देशव्यापी रुपमा दादुरा रुबेला खोप अभियान संञ्चालन गर्न लागेको बताउनु भयो ।
प्रदेशस्तरीय खोप समन्वय समितिका अध्यक्ष तथा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. जनार्दन पन्थीको अध्यक्षतामा अभिमुखीकरण कार्यक्रममा सम्पन्न भएको छ ।तराईका २१ जिल्लामा ९ महिनादेखि १५ वर्ष उमेर समुहका र पहाडी जिल्लामा ९ महिनादेखि ५ वर्ष उमेर समुहका बालबालिकाहरूमा दादुरा रुबेला खोप अभियान संचालन हुन लागेको हो ।

स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोद कुमार गिरीले यस अभियान सफल बनाउन सबैको साथ सहयोग रहेको बताउनु भयो । डा. गिरीले भन्नुभयो यो अभियान नियमित हो, यस भन्दा पहिला नियमित दादुरा रुबेलाको खोप लगाइसकेका बालबालिकाहरुलाई पनि यस अभियानमा खोप लगाउन सबैलाई अनुरोध गरेका छौँ ।

यस अभियान अन्तरगत लुम्बिनी प्रदेशमा मात्र ११ लाख ६० हजार ६ सय ६६ जना बालबालिकाहरुका खोप लगाउने लक्ष रहेको लुम्बिनी प्रदेश स्वास्थ्य सचिव डा.जनार्दन पन्थीले बताउनु भयो । उहाले सबैलाई यो खोप लगाउन सहयोग गर्न आग्रह गर्नु भयो।

दादुरा रोक के हो?

मिजल्स भाइरसबाट लाग्ने दादुरा निकै छिटो सर्ने सरुवा रोग हो । यो रोग समान्यतया ५ वर्ष मुनिका वालवालिका हरुलाई धेरै लाग्दछ र त्यसले छिट्टै महामारीको रुप पनि लिन सक्दछ ।

एउटा बिरामीले १८ जनासम्म दादुरा रोग सार्न सक्छ । दादुरा रोग लाग्यो भने यसका जटिलताहरु जस्तै निमोनिया, झाडापखाला, जलवियोजन र कुपोषणको कारणले विरामीको मृत्यु समेत हुन सक्छ । खास गरेर यस रोगले कुपोषित बच्चाहरूको बढी मृत्यु गराउँछ ।

दादुरा कसरी सर्दछ ?

दादुराको भाइरस मानिसबाट मानिसमा मात्र सर्दछ । यो भाइरस संक्रमण भएको व्यक्तिको नाक तथा घाँटीमा रही वृद्वि हुने र श्वास नलि एवं अरु भित्रि अंगहरूमा संक्रमण गर्दछ । दादुरा रोग संक्रमण भएको व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा निस्कने छिटा एक व्यक्तिबाट अर्को व्यक्तिमा हावाको माध्यमबाट सर्दछ ।

दादुराको लक्षण

दादुरा रोगको पहिलो लक्ष्यण उच्च ज्वरो आउनु र शरीरमा राता विविरा देखा पर्नु प्रमुख लक्षण हुन् । रोगीसँग सम्पर्क भएको १०–१२ दिन पछि ज्वरो आउँछ । यो समयमा रोगीको नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने वा आँशु बग्ने र रोगीको गालाको भित्री भागमा मसिना सेतो दाग देखा पर्दछन् । केही दिनपछि मुख तथा माथिल्लो गर्नको भागमा केही उठेका बिमिरा देखा पर्दछन् ।

यी बिमिरा करिव ३ दिनभित्र छाती, पेट, हात तथा खुट्टामा फैलिन्छन् । यी बिमिरा ५, ६ दिन सम्म रहिरहन्छन् र त्यसपछि क्रमशः हराएर जान्छन् । सामान्यतया यो रोगको जीवाणु शरीरमा प्रवेश गरिसकेपछि यसको लक्षण देखिन १४ दिन (घटीमा ७ दिन र बढीमा १८ दिनसम्म) लाग्दछ ।
उपचार
दादुरा रोग लागेपछि यसको खास उपचार छैन । दादुरा रोगबाट बच्ने एक मात्र उपाय दादुरा बिरुद्धको खोप लिनु नै हो । त्यसैले यो रोगबाट बचाउन नियमित खोप मार्फत बालबालिकाहरुलाई जन्मेको ९ र १५ महिनाको उमेरमा दादुरा खोपको दुई मात्रा लगाउनु पर्दछ । रोग लागेमा अरुलाई सर्नबाट बचाउन बिरामीलाई अलग राख्नुका साथै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा तत्काल लगी लक्षण अनुसार र जटिलताको उपचार गर्नु पर्दछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?