सडक व्यापारलाई तीन वटै तहको सरकारले कानूनी रुपमै व्यवस्थित गर्नुपर्छ : एमाले

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले सडक व्यापारलाई व्यवस्थित बनाउन सरकारसँग माग गर्नुभएको छ ।

सरकारले नीतिगत र कानूनी रुपमै सडक व्यापारलाई व्यवस्थित गर्नुपर्ने उहाँको भनाई थियो ।

शुक्रवार काठमाडौंमा आयोजित एक अन्तक्रिया कार्यक्रममा बोल्दै प्रमुख सचेतक गिरीले नेपाल जस्तो सानो अर्थतन्त्र भएको मुलुकमा सडक व्यापार पनि मुलुकको अर्थतन्त्रको महत्वपूर्ण पाटो हुने भएकाले तीन वटै तहको सरकारले मिलेर यसलाई व्यवस्थित बनाउनुपर्ने बताउनु भयो । उहाँले सडक व्यापारको व्यवस्थापनका लागि आफ्नो पार्टीले संसदमार्फत सरकारलाई दबाब दिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

प्रमुख सचेतक गिरीले भन्नुभयो, ‘सडक व्यापारलाई मर्यादित ढंगले, सडकलाई पनि मर्यादित बनाउन सकियोस् । भद्रगोल पनि नहोस् । अव्यवस्था पनि नहोस् । सडक कुरुप पनि नबनोस् । तर सँगसँगै यसलाई मर्यादित र व्यवस्थित गर्नसक्ने हो भने हाम्रो जस्तो सानो इकोनोमी भएको, अहिलेको जुन आर्थिक स्थिति छ । यस्तो बेलामा सानोसानो पूँजीलाई लिएर मान्छेले आत्मनिर्भरताको बाटो लिइरहेका बेलामा यो एउटा अर्थतन्त्रको महत्वपूर्ण पाटो बन्नसक्छ । तर यसलाई नीतिबाट गाइड गर्नु प-यो । विधिबाट गाईड गर्नुप¥यो । कानूनद्वारा व्यवस्थित गर्नुप-यो । यसतर्फ सोच्नुपर्छ तीन वटै तहको सरकारले भन्ने मलाई लाग्छ ।’

कार्यक्रममा बोल्दै सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसकी सांसद रमा कोईराला (पौड्याल) ले गरिखानेहरुलाई उठिबास लगाउने ढंगले काठमाडौं महानगरपालिकाले सडक व्यापारीहरुलाई बिस्थापित गर्ने काम गरेको भन्दै मेयर बालेन्द्र साहप्रति आक्रोश व्यक्त गर्नुभयो । उहाँले महानगरको सौन्दर्य नबिग्रने गरी सडक व्यापार गर्न दिनेगरी तत्काल निर्णय लिन पनि काठमाडौं महानगरपालिकासँग आग्रह गर्नुभयो ।

सांसद कोईरालाले भन्नुभयो, ‘म महानगरपालिका, बालेन साह, योङ एनर्जेटिक व्यक्तित्व हुनुहुन्छ । उहाँले राम्रो काम गर्न खोज्नुभएको छ । तर उहाँको वरीपरी को छ, यहाँ यस्तो भइराखेको छ । यसरी दुःख दिनुहुँदैन गरिखानेहरुलाई भनेर सुझाव दिने मान्छेहरु छैनन् कि क्या हो ? भनेर मलाई पीर भएको छ । काठमाडौंमा ठूला शहरहरु छन् । म चाहन्छु–सडकका पेटीहरु पनि अव्यवस्थित हुनु हुँदैन । बिक्री हुने ठाउँलाई ख्याल गरेर उनीहरुको व्यवस्थापन गर्नुपर्छ । व्यापारीहरुलाई पनि सजिलो हुुने र महानगरको सौन्दर्य पनि नबिग्रने गरी उनीहरुलाई सडक व्यापार गर्न दिनुपर्छ । त्यतातिर ध्यान दिनुपर्छ महानगरपालिका पनि ।’

सांसद कोईरालाले व्यापार हुने ठाउँमा सडक व्यापारीहरुको व्यवस्थापन गर्न उचित हुने धारणा समेत राख्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?