कृषि, आधारभूत उत्पादन प्रणाली तर जटिल

Read Time = 15 mins

✍️ स्वयम्भुनाथ कार्की

कृषि जीवनको आधार हो अर्थात् कृषि मूलश्च जीवनम् भन्ने नारा शाश्वत हो । यो नारामा आधारित बग्रेल्ती लेखन, व्याख्यान भेटिन्छन् । कृषिसँग सम्बन्धित व्यक्तित्वहरू, संस्थाहरू, समूहहरू आफ्ना हरेक जस्तो प्रस्तुतिमा यो कुरा उल्लेख गर्ने गर्दछन्, जो स्वाभाविक नै हो । अरू सबै किसिमको उत्पादन प्रणाली र कृषि उत्पादन प्रणालीमा तात्विक भिन्नता छ । प्राणी, वनस्पतिमात्र होइन माटो, हावा आदिमा हुने विभिन्न चिजको प्रयोगले प्रकृतिले उत्पादन गर्छ । एक चिजको व्यर्थ अर्को चिजको निमित्त उपयोगी हुन्छ । यसरी वातावरण सन्तुलन कायम रहेको हुन्छ ।

सहजीकरण गरेर उत्पाद बढाउने कामलाई कृषिकर्म भनिन्छ, यो कर्म गर्नेलाई कृषक । कृषिकर्ममा वर्षभरि एकनासको काम हुँदैन । जति खेर मन लाग्यो त्यति खेर मिहिनेत गरेर उल्लेख्य उत्पादन हुँदैन । हिजो शून्य श्रम र आज अधिकतम श्रम चाहिने खेतीको यो विषम कार्य प्रणालीमा उत्पादन बढाउन अन्य उत्पादनमा जस्तो स्थायी कामदार मात्रले सम्भव हुँदैन । कृषिकर्मको यो विषम कार्यप्रणालीलाई सहज गर्न लामो परम्परा तथा अनुभवले केही तरिका विकसित भएका थिए । ज्यालादारी वा श्रम सापटी गरेर कामदारको आवश्यकता पूरा गरिन्छ । सबै मिलेर एउटाको खेतीमा श्रम गर्ने त्यसपछि अर्काको खेतीमा श्रम गर्ने यसै गरेर सबैको खेतीमा सबैले काम गर्ने पर्म पद्धति अपनाइन्छ । यो पद्धतिको निमित्त प्रयाप्त जनशक्तिको आवश्यकता पर्छ । तर कृषि कर्मले आवश्यकता पूरा गर्न नसकेको कारणले किसानहरू अन्यत्र पलायन भएको गाउँमा पर्मले पनि सबैको खेतीको काम सक्न सम्भव नहुने अवस्था वर्तमानको कटु यथार्थ हो ।

जग्गाधनीले जग्गा उपलब्ध गराउँछ, जग्गाको सुधार र विकासको खर्च जग्गाधनीले गर्छ । बिउ जसले पनि उपलब्ध गराउन सक्छ, कोही तेस्रोले पनि उपलब्ध गराउन सक्छ । जसले बिउ उपलब्ध गराउँछ उसले फलेपछि दिएको बिउको दुई गुणा पहिले असुल गर्छ ।

त्यसमाथि मौसमको दयामा खेती हुने भएकाले यो महिनामा यो काम गर्नुपर्छ भन्ने थाहा भए पनि कुन-कुन दिन काम गर्नु पर्ला भन्ने पहिलेदेखि निश्चित हुँदैन । सिञ्चित जग्गामा पनि बाहिर खुल्लामा काम गनुपर्ने हुँदा मौसमको अनुकूलता र प्रतिकूलताले काम गर्ने कार्य तालिकामा तुरन्तै परिवर्तन गर्नुपर्ने हुन्छ । समयमा काम पूरा गर्नुपर्ने हुँदा कुनै दिन अतिरिक्त समय काम गर्नु पर्छ र कुनै दिन गर्नुपर्ने काम हुँदाहुँदै विश्राम गर्नुपर्ने अवस्था हुन्छ ।

त्यसमाथि कृषि उत्पादनमात्र यस्तो उत्पादन हो जसको मूल्य उत्पादकले निर्धारण गर्दैन । त्यसैले सानो क्षेत्रफलमा अपनाइएको यो पेशाले धन सञ्चय गर्न अत्यन्त कठिन छ । कृषिलाई यान्त्रिकीकरण गर्न सानो क्षेत्रफलको भूस्वामित्वले खर्च उठाउँदैन । यसै कारणले खेतीको बेला बिदा लिएर खेती गरौँला अरू खाली बस्ने दिन अन्य ठाउँमा श्रम गरौँ भन्ने सोचाइले किसान जमिन छोडेर अन्य स्थानमा जान बाध्य हुन्छ, अरू नोकरी गर्न बाध्य हुन्छ । अन्य नोकरी सुरु गरेपछि सधैँ खेतीको बेला खेतीको निमित्त समय निकाल्न अनुकूल पर्दैन ।

फलस्वरूप आफ्नो जमिन अर्कालाई खेतीको निमित्त दिन बाध्य हुन्छ । यसरी जग्गा धनी र मोहीको उत्पत्ति हुन्छ । सबै जग्गाधनीले आफ्नो आवश्यकताभन्दा धेरै जमिन भएरमात्र जग्गा अरूलाई कमाउन दिएका हुँदैनन्, निर्वाह गर्न अपुग भएर पनि अरूलाई कमाउन दिएका हुन्छन् । सबैभन्दा पुरानो जग्गाधनी र मोहीबीचको सम्बन्ध श्रम र सम्पत्तिले गर्ने उत्पादनमा बराबरीको हिस्सेदारी हो । यो चलनलाई अधियाँ बटियाँ भन्ने गरिन्छ । यो चलनमा खेतीमा लाग्ने श्रम मोहीले गर्छ वा जुटाउँछ । जग्गाधनीले जग्गा उपलब्ध गराउँछ, जग्गाको सुधार र विकासको खर्च जग्गाधनीले गर्छ । बिउ जसले पनि उपलब्ध गराउन सक्छ, कोही तेस्रोले पनि उपलब्ध गराउँन सक्छ । जसले बिउ उपलब्ध गराउँछ उसले फलेपछि दिएको बिउको दुई गुणा पहिले असुल गर्छ । कृषिकर्ममा लाग्ने हलो तथा अन्य ज्यावल र श्रमको जिम्मा मोहीको हुन्छ ।

बाली उठाउने कामको मजदुरी, बिउको भाग छुट्याएर बाँकीलाई बराबर दुई भाग लगाई एक भाग मोहीको र अर्को भाग जग्गाधनीको हुन्छ । मजदुरीलाई बनिबुटी, जग्गाधनीको भागलाई धनीबुटी भनिने गर्छ । यो मूल्यको घटबढले धेरै असर नगर्ने पद्धति हो । मोल जेसुकै भए पनि आफ्नो भागको वस्तुले त्यही मोल पाउँछ, बजार सस्तो भए सस्तो महँगो भए महँगो । पारम्पारिक खेती अर्थात् अहिलेको भाषामा ‘अग्र्यानिक खेती’बाहेक उन्नत खेती गर्नु पर्दाको रासायिनिक मल, सिँचाइको अतिरिक्त खर्च जग्गाधनी र मोहीले बराबरी गर्दछन् ।

पारम्पारिक अर्थात् ‘अग्र्यानिक खेती’ मा लाग्ने सामूहिक कुलो पैनी आदिको प्रबन्धको खर्च मालपोत, पानीपोत जग्गाधनीको एकलौटी खर्चभार हो । जमिनमा ठूलो सुधारको निमित्त गर्नुपर्ने खर्चको भार पनि जग्गाधनीकै थाप्लोमा पर्छ । यसरी अधियाँको चलनमा खेतीको प्रबन्धनको भार जग्गाधनीले लिएको हुन्छ र श्रमको भार मोहीले लिएको हुन्छ । गोठको वा घरको मल जग्गासम्म पुर्‍याउने काम मोहीको हो । निःशुल्क उत्पादन हुने फोहरबाट तयार गोठको वा घरको मल जग्गाधनी वा मोही जसकोमा भए पनि निःशुल्क नै उपलब्ध हुने गर्छ ।

यो पद्धतिलाई भूमिसुधारले आंशिक तोड्यो । यसले उत्पादनमा एक पक्षको चासो नै समाप्त गरिदियो । बालीलाई मुख्यबाली मात्रको जग्गाको किसिमअनुसार ठेक्का तोकिदियो । जग्गाधनीले लिने हिस्सा, जसलाई कूत भनिन्छ, बापत जग्गाधनीले मालपोतमात्र बुझाए पुग्नेभयो । जग्गाको स्वामित्वबाहेक अन्य कुनै जिम्मेवारी र अधिकार जग्गधनीलाई भएन । उब्जनी बढाउन जग्गाधनीलाई कुनै रुचि रहने अवस्था रहेन । यस अवस्थाले जग्गाको उब्जनी बढाउन जग्गाधनीलाई बाधा गर्‍यो भने मोहीलाई जग्गाको दीर्घकालीन सुधार नगरी असन्तुलित तरिकाले रासायनिक मल, किटनाशक र झारपातनाशकको प्रयोग बढाएर तुरन्त लाभ लिन प्रेरित गर्‍यो । यसले जग्गाको प्राकृतिक उर्वरापनमा कमी आएर उब्जनीमा कमी हुने परिस्थिति पैदा भयो । रासायनिक मल, किटनाशक, झारनाशक आदिको प्रयोगले जग्गाको उत्पादकत्व समाप्त भयो । जति रासायनिक मल दवाई प्रयोग गर्‍यो त्यही अनुपातमा उत्पादन बढ्ने नत्र उत्पादन बिल्कुलै नहुने अवस्थामा नेपालको धेरै कृषियोग्य मानिएका भूमि छन् ।

ट्याक्टर, थ्रेसर जस्ता आधुनिक कृषिका औजारहरूमा लगानी गर्न जग्गाधनीलाई रुचि भएन, मोहीको सामथ्र्य भएन । अपवादबाहेक मोहीहरू आधुनिक कृषि प्रणालीको जानकारीबाट टाढा भए । सुटबुटधारी कृषि प्राविधिक र गैरसरकारी संस्थाका प्रतिनिधिहरूका छोटा प्रशिक्षण कार्यक्रमले आधुनिक कृषिकर्मको टुटफुट ज्ञान त दियो तर कृषक त्यस्ता प्रशिक्षणले दिएको ज्ञानको उपयोग गर्ने जोखिम लिन मुस्किलले मात्र तयार भए । यसरी कृषि उत्पादन बढ्नुमा सरकारको कुनै भूमिका हुन छोडेको दशकौं हुन थालेको छ । हो बरू व्यवधान भने कैयौैं गुणा थप्नमा सरकार दत्तचित्त भएर लागेको छ । अर्थात् यदि कुनै वर्ष कृषि उत्पादन बढ्छ भने त्यसमा सबैभन्दा धेरै योगदान मौसमको हुन्छ । त्यसपछि सरकारले लगाएका नियमबाट छिद्र खोजेर बल्लबल्ल बाँचेको कृषकको मिहिनेतको हो । नत्र त खेतीमा छर्न ठीक पारेको मलबिउ अवैधानिक भनेर खोस्न तयार राजनीतिक संगठनका भ्रातृ या भगिनी युवा संघहरू छ्यापछ्याप्ती छन् । चल्ला र कुखुरा ओसारपसारमा च्याँखे थापेर बस्नेहरू संगठनहरूको कमी छैन ।

कृषि उत्पादन भन्नाले केबल अन्न, दलहन तेलहन आदिको साथै पशुपक्षीमा आधारित उत्पादन, जडिबुटी, कृषि, वन आदिका उत्पादनसमेत पर्दछन् । यी उत्पादन निर्यात नै हुने मात्रामा उपलब्ध हुन नसकेमा पनि आयात प्रतिस्थापन गर्दछन् ।

औद्योगिकीकरणको नाममा विशाल पुँजीका कारखानाले घरेलु उद्योगको सम्भावना न्यून गरेका छन् भने भूमिको खण्डीकरण र जग्गाधनी र मोहीको झमेलाले कृषिलाई पनि पेट पाल्न नसक्ने अवस्थामा मध्यम वर्गलाई पारिने क्रम सुरु भइसकेको छ । भविष्यमा पर्नसक्ने अर्पझटको निमित्त पनि धन सञ्चय गर्न शेयरमा लगानी वा बैंकमा निक्षेप गर्नबाहेक अर्को उपाय छैन । यसरी संकलन भएको निक्षेपको मात्रा उत्पादनशील लगानी गर्ने अवसर कम भएर बैंकहरूले घर बनाउने, मोटरसाइकल कार खरिद गर्ने वा टिभी, फ्रिजजस्ता वस्तु खरिद गर्ने काममा लगानी गर्दैछन् ।

यो यति उर्बर भएको छ कि कुनै पनि बजारमा एकै घरमा चार/पाँच बैंक देख्नु सामान्य भएको छ । उत्पादनशील क्षेत्रमा लगानी नगरेर यस्ता लगानी धेरै गर्दा हुन सक्ने आर्थिक मन्दीको खतराबाट मुलुक कहिलेसम्म बच्न सक्ला भन्ने प्रश्नले पिरोल्न सुरु गरेको अहिलेसम्म छैन । कृषिलाई लगानी गर्न उपयुक्त क्षेत्र कुनै बैंकले मानेको छैन । कृषिमै कारोबार गर्न भनेर स्थापित कृषि बैंकको वर्तमान लगानीलाई उद्देश्यगत भाग लगाएर हेर्ने हो भने कृषि सम्बन्धित लगानी र अन्य लगानीको अनुपातले अचम्म पार्ने छ । कृषि र कृषकलाई यसरी मूलधारबाट कटाउनभन्दा जग्गा, पशुधन तथा साना कृषि उद्योगमा आफ्नो संकलन लगानी गर्ने वातावरण पैदा गरेमा यसबाट पैदा हुने आर्थिक गतिविधिले सर्बहारा र पुँजीपतिलाई पनि भलो नै गर्नेछ । कृषि उत्पादन भन्नाले केबल अन्न, दलहन तेलहन आदिको साथै पशुपक्षीमा आधारित उत्पादन, जडिबुटी, कृषि, वन आदिका उत्पादनसमेत पर्दछन् । यी उत्पादनहरू निर्यात नै हुने मात्रामा उपलब्ध हुन नसकेमा आयात प्रतिस्थापन गर्दछन् ।

यसले भुक्तानी सन्तुलनमा अनुकूलता आएर मुद्रास्फीतिको बेग रोक्न सहायक हुन्छ । यो मुलुक समृद्धितर्पmको बाटो लागेको अवस्था हो । यसैले दिगो विकासको निमित्त राज्यको कर्तव्य कृषिकर्मका जटिलता न्यून गरेर यसमा आकर्षण थप्नु हुन जान्छ । वैदैशिक रोजगारीको अनिश्चय भविष्यभन्दा यो दिगो र सुनिचित रोजगारीको प्रत्याभूति हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?