
काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को आयोजनामा बिहीबारदेखि काठमाडौंमा क्यान इन्फोटेक २०२४ सुरु भएको छ । भृकुटीमण्डपमा पाँच दिनसम्म सञ्चालन हुने क्यान इन्फोटेक उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोबाइल एपमार्फत् गर्नुभएको थियो । सो अवसरमा ड्रोनबाट झाँकीसमेत प्रस्तुत गरिएको थियो । मन्त्री शर्माले सूचना प्रविधिको विकासका लागि तीनवटै तहका सरकारले निजी क्षेत्रसँग सहकार्य र साझेदारी गर्न आवश्यक रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘सूचना प्रविधि क्षेत्रमा देखिएको चुनौती व्यवस्थापन गर्न दक्ष जनशक्ति तथा पूर्वाधार निर्माण गर्न संघ, प्रदेश र स्थानीय तहमा निजी क्षेत्रसँग साझेदारी, सहकार्य र समन्वय गर्न सरकार प्रतिबद्ध छ । आगामी दिनमा युवा जनशक्ति दक्ष बनाउने, सरकारी तथा निजी क्षेत्र, समुदाय, विद्यालयलगायतका क्षेत्रमा डिजिटल साक्षरता र प्रविधिको प्रयोग बढाउन आवश्यक अध्ययन, अनुसन्धान गर्दै सरकारका लागि आवश्यक सुझावका लागि पनि क्यान महासंघसँग आग्रह गर्दछु ।’
सूचना प्रविधिको विकासका लागि सरकार आवश्यक कानुनी, नीतिगत र संरचनात्मक विकासमा जुटेको भन्दै उहाँले नेपालमा पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति २०८० जारी गरेर कार्यान्वयनमा ल्याइएको र डेटा सुरक्षा, साइबर सुरक्षालगायतका क्षेत्र समेटेर सूचना प्रविधिसम्बन्धी कानुनको तयारी भइरहेको जानकारी गराउनुभयो ।
क्यान महासंघ अध्यक्ष रणजीत पोदारले सूचना प्रविधिसम्बन्धी नयाँ नीति, कानुन तथा निर्देशिकामा महासंघले समन्वयकारी भूमिका खेलिरहेको भन्दै सूचना प्रविधि क्षेत्रमा देखिएका समस्याको हल नीतिगत तवरबाटै हुनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा विद्युतीय सुशासन आयोगका प्रमुख कार्यकारी अधिकृत दिपेश विष्ट, नेपाल दूरसञ्चार प्राधिकरणका कार्यवाहक अध्यक्ष नवराज अधिकारी, सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष रमेश मल्ल, क्यान महासंघका संस्थापक निर्देशक विमलकुमार शर्मा, असोसिओका उपाध्यक्ष एवं क्यान महासंघका निवर्तमान अध्यक्ष नवराज कुँवरलगायतको उपस्थिति रहेको थियो ।
२९औँ क्यान इन्फोटेकको मुख्य प्रायोजकमा एस पावर बिपिई प्राइभेट लिमिटेड र सह-प्रायोजकमा एचएमसी दहुआ रहेको छ । प्लाटिनम स्पोन्सरमा लर्डबुद्ध एजुकेसन फाउण्डेसन, डायमण्ड स्पोन्सरमा नेपाल टेलिकम तथा गोल्ड स्पोन्सरमा इन्फोडेभलपर्स प्रालि र मर्कन्टाइल अफिस सिस्टम प्रालि रहेका छन् ।
क्यान इन्फोटेकमा अन्तर्राष्ट्रियस्तरमा प्रचलित नेपालमा उपलब्ध अधिकांश ब्राण्डका साथै सूचना तथा सञ्चार प्रविधिका विभिन्न क्षेत्र फिन्टेक, इन्टरनेट तथा दूरसञ्चार सेवा प्रदायक, हार्डवेयर सेल्स तथा मेन्टेनेन्स, डिलर र डिस्ट्रिब्युटर्स, आइटी कलेज तथा तालिम केन्द्र, सफ्टवेयर सोलुसन्स, स्टार्टअप र इनोभेसनका साथै कम्प्युटिङ डिभाइससँग सम्बन्धित कम्पनी, अफिसियल, प्रायोजक र फुड कोर्टसमेत गरी एक सय ५० स्टल रहेका महासंघका महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच