कहिले देखाउने साकेला सिली र मौलिक बाजागाजा ?

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 8 mins

खोटाङ । पछिल्लो समय जिल्लामा हुने साना तथा ठूला कार्यक्रमहरुमा किरात संस्कृतिको साकेला सिली र त्यसमा प्रयोग हुने मौलिक बाजागाजा प्रदर्शन हुने गरेको छ ।

मुन्दुमी व्याख्या र दर्शन अनुसार निश्चित समय बाहेक अन्य समयमा साकेला सिली र साकेला सिलीमा प्रयोग हुने मौलिक बाजागाजाहरु प्रदर्शन गर्न पाइन्दैन । तर, राजनीतिक दलको कार्यक्रमदेखि स्थानीय सरकारसम्मको कार्यक्रममा साकेला सिली र मौलिक बाजागाजाहरु प्रदर्शन हुन थालेपछि त्यसको विरोध र आलोचना हुन थालेको छ ।

२१ माघमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजना तथा सरस्वती मावि दिक्तेलको संयोजनमा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा समाविका विद्यार्थीहरुले साकेला सिली र बाजागाजा प्रयोग गरेपछि किरात संस्कार, संस्कृतिको जगेर्नाका निम्ति स्थापना भएका संघसंस्थाले त्यसलाई लक्षित गर्दै निश्चित समय र स्थानमा मात्रै साकेला सिली र बाजागाजा प्रयोग गर्न प्रेस विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।

पछिल्लो समयमा जहाँ पायो त्यहाँ, जहिले पायो त्यहिले र जसले पायो त्यसले साकेला सिली र यसमा प्रयोग हुने बाजागाजाहरु प्रदर्शन गरेर साकेला सिलीको मुल्य र मान्यता तथा सिङगो किराती संस्कृतिमाथिको उपहास भईरहेकोप्रति गम्भिर ध्यानाकर्षण भएको किरात सेवा समाज दिक्तेलका अध्यक्ष ध्यान बहादुर राई, किरात राई कलाकार संघका केन्द्रीय सदस्य धनिराम नछुङ र किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरातले संयुक्त प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिनुभएको छ ।

किरात संस्कृतिको सम्मान र साकेला सिलीको निश्चित मुल्य र मान्यतालाई स्थापित गर्न जिल्लाका सम्पूर्ण राजनैतिक दल, सामाजिक संघसंस्था, नागरिक समाज साथै सम्पूर्ण नागरिकहरुलाई अव उप्रान्त मुन्दुमी व्याख्या र दर्शनभन्दा अन्य समयमा साकेला सिली र साकेलामा प्रयोग हुने बाजागाजाको प्रयोग नगर्न नगराउनहुन जानकारी गराउँदछौ । विज्ञप्तिमा भनिएको छ ।

कहिले देखाउने साकेला सिली र बाजागाजा

मुन्दुमी व्याख्या र दर्शन अनुसार ढोल, झ्याम्टा, सिलिमी, पोमी, वाबुजस्ता मौलिक बाजागाजाहरु र सिलीहरु नछुङ÷नाक्छोङहरु मुन्दुमी यात्रा गर्दा, साँस्कृतिक चाडहरु धिरिनाम उधौली–छिरिनाम उभौली, खाउमो, सेग्रोमालुदेल, चाक्चाखुर वाढाङमी, चवा, नागपुजा, भुमेपुजा, ओमाइक, तोषखाम÷पधयद, चारी, वाढामी/वाढाङमेटमा प्रयोग हुन्छ ।

कुलपित्र कार्य अन्तर्गत मोछामा, माङै, दाया माङै, हुइलुङ, छौवा साम्खामा र शुभकार्यहरु वाइको, बिवाह, घरपैचो तथा अशुभ कार्यहरु मृत्यु संस्कारमा मुन्दुमी रिसीया अनुसार नछुङ -नाक्छौले साकेला सिली बाहेकको समयमा साकेला सिली गर्नु र बाजागाजा प्रयोग गर्नु हुँदैन ।

एकजना जानकारका अनुसार चारिमा(कोदोको चोखो जाँड)अदुवाहरुको प्रयोग गरी सुप्तुलुङ मैयालुङ, छैकुलुङ, बारालुङलाई साक्षी राखी, कोक्पा पिरिमा, पित्री पुर्खाको आर्शीवाद मागी निश्चित समयमा साकेला नाच्ने गरिन्छ ।

नछुङ(धामी)को मुन्दुमी अनुसार उभौलीमा मात्रै ढोल, झ््याम्टा बजाएर सिली गरिन्छ। बैशाखे पूर्णिमादेखि एक महिना नछुङले पित्र पुज्न सुरु गरेदेखि मात्र साकेला नाच्न मिल्दछ । जब नछुङले साकेला वा भूमिपुजा गरिसकेपछि नछुङहरुले सिली मार्ने वा सेउली मार्ने कार्य सकेपछि सम्पूर्ण सिलीमपा, सिलीममा, मुल ढोलेहरुले सिली मारिसकेपछि वर्षदिनसम्म कुनै पनि सिली ढोल, झ्याम्टा बजाउनु मिल्दैन । तर, अहिले आएर उधौलीमा पनि साकेला सिली नाच्ने गरेको पाइन्छ ।

साकेला सिली र त्यसमा प्रयोग हुने बाजागाजाहरु मुन्दुमी व्याख्या र दर्शन अनुसार मात्रै प्रयोग गराउन विभिन्न कार्यक्रमहरु गरेरै अब सचेत गराइने किरात राई कलाकार संघका केन्द्रीय सदस्य नछुङ बताउँनु हुन्छ ।

उभौलीमा किन नाचिन्छ साकेला

किरातीहरु प्राकृतिक पुजक हो । उभौलीमा चराचुरुङगी, जनवार, माछा, पाहा लगायत रुख विरुवाहरुले आफ्नो स्वरुप बदल्दै रमाउँदै नाच्दै गाउँदै आ–आफ्नो भाषा फेर्दै उकालो लाग्छ र यसैलाई प्राकृतिक पुजकहरुले उभौली भन्ने गरेका छन् । कुनै पनि चराचुरुङगी, जनवारको नक्कल गरेर नाच्नुलाई नै सिली भनिन्छ । उभौलीमा विभिन्न चराहरुको नाँचको सिकोलाई नाँचेर किराती पुर्खाहरुले नाँच्दै आएको मानिन्छ । जनवारहरुको नाच वा उसको हाउँभाउँ चाँहि कुनै पनि नछुङहरुले कार्जे गर्दा मात्र जनवारहरुको सिली गर्छ । साकेला सिली उभौलीमा मात्रै नाच्नु मिल्दछ ।

उधौलीमा किन नाचिन्न साकेला

जब लेकतिर जाडो बढ्दै जान्छ अनि चराचुरुङगी, जनवार उधो(बेंशी)तिर झर्ने क्रम जारी हुन्छ । यो बेला कुनै पनि जनवार, चराचुरुङगी, रुख विरुवाले आफ्नो स्वरुप, भाषा बदल्दैन, चराहरु माथि डाँडाबाट एकैचोटी बेग हानेर बेशीतिर झर्छ, जनवारहरु पनि एकैचोटी ओरालो झर्ने गर्छ । यो बेला उनीहरुको कुनै पनि हाउभाउहरु देख्न सकिन्दैन । उनीहरु बेरमाइलो मान्दै ओरालो झरेको हुन्छ । कुनै पनि कुराहरु ओरालो लागेकोमा खुशीयाली मनाइन्दैन । प्राकृतिक पुजक किरात र नछुङहरुको मुन्दुमी अनुसार कुनै पनि उधौलीमा सिली पाइन्दैन । ढोल, झ्याम्टा पनि बजाउन मिल्दैन ।

तस्विर:  चिसाङ शेर्पा

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?