काठमाडौं । प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेससँगको गठबन्धन पार्टीको लागि लाभदायक नभएको बताउनुभएको हो । अध्यक्ष प्रचण्डले कांग्रेसको रबैया ठिक नभएको टिप्पणी गर्दै गठबन्धनमाथि नै विचार गर्नुपर्ने अवस्था आएको बताउनुभएको हो । पार्टीको केन्द्रीय कमिटी बैठकलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गत निर्वाचनदेखि राष्ट्रियसभा सदस्यको निर्वाचनसम्म आइपुग्दा कांग्रेसबाट पटक-पटक धोका पाएको बताएको एक केन्द्रीय सदस्यले जानकारी दिनुभयो । बैठकमा प्रचण्डले गर्नुभएको सम्बोधनलाई उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भन्नुभयो, ‘कांग्रेसले सुरुबाटै हामीलाई धोका दिएको छ । हामी ५४ सिटबाट ३२ मा झर्यौँ । हामीले इमानदारीपूर्वक कांग्रेसलाई भोट दियौँ, तर उनीहरूले दिएनन् । कोशी प्रदेशमा हामीले मुख्यमन्त्री, सभामुख र राष्ट्रियसभा सदस्य पनि गुमाउनुपर्यो, किनकि कांग्रेसले नै अन्तर्घात गर्यो । यो प्राकृतिक गठबन्धन पनि होइन । कांंग्रेसले पटक-पटक धोका दिँदै आएकाले गठबन्धनको विषय विचारणीय प्रश्न हो । तर, गठबन्धनबारे अहिले नै निर्णय गर्न उपयुक्त समय आएको छैन । शान्ति प्रक्रियालाई पूरा गर्न बाँकी छ ।’
पटक-पटक धोका पाएको विषयमा प्रभावकारी समीक्षा भने गर्नुपर्ने अवस्था आएको र सरकार सञ्चालनमा पनि कांग्रेसले सहजतापूर्वक नसघाएको टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले बैठकमा भन्नुभयो, ‘सरकार सञ्चालनका लागि पनि गठबन्धनका कारण कम्फर्टेबल स्थिति छैन । मन्त्री हेरफेर गर्नका लागि धेरैपटक प्रयास गरे पनि कांग्रेस तयार भएन । यसमा पुनर्विचार गर्नुपर्ने अवस्था देखिएको छ ।’
प्रचण्डलाई कांग्रेसको जवाफ : ‘गठबन्धन फलदायी बनाउन तेस्रो दललाई नेतृत्व दिएको हो’
सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले गठबन्धनलाई फलदायी बनाउन निरन्तर लागिपरेको दाबी गरेको छ । प्रचण्डले कांग्रेससँगको गठबन्धन लाभदायक नभएको टिप्पणी गरेपछि कांग्रेसको यस्तो प्रतिक्रिया आएको हो । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस सबैभन्दा ठूलो पार्टी भएर पनि माओवादीलाई सरकारको नेतृत्व दिएको स्पष्ट पार्दै भन्नुभयो, ‘हामीले गठबन्धन फलदायी बनाएकै छौँ । कांग्रेस सबैभन्दा ठूलो पार्टी भएर पनि माओवादीलाई नेतृत्व दिएका छौँ । माओवादीसँगको हाम्रो सहमति सम्झौताअनुसार नै अगाडि बढिराखेका छौँ । अगाडि बढ्न तयार छौँ । माओवादीलाई कहाँनिर गठबन्धन अनकम्फर्टेबल भयो ? बसेर छलफल गरौँला ।’
दुई छुट्टाछुट्टै अभियान सञ्चालन गर्ने
नेकपा माओवादी केन्द्रले निकट भविष्यमा दुई छुट्टाछुट्टै अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । जसअनुसार तराई मधेश जागरण अभियान र उत्तर–दक्षिण नामक अर्को अभियान चलाउने योजना माओवादीको छ । केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष प्रचण्डले उत्तर दक्षिण अभियानले हिमाल पहाड र तराईलाई जोड्ने जानकारी दिनुभयो । यस्तै, तराई मधेश जागरण अभियानले पार्टीको संगठन सुदृढीकरणमा सघाउ पुग्ने प्रचण्डको भनाइ छ । यसबारे पार्टीले ठोस निर्णय गरेर अघि बढ्ने उहाँको जानकारी दिनुभयो । बैठकमा प्रचण्डले उत्पीडित जनसमुदायलाई जोडेर जानुपर्ने र आगामी निर्वाचनको पनि अहिलेदेखि नै तयारी थाल्नुपर्ने धारणा राख्नुभएको छ ।
अभियानमा नजानेलाई कारबाहीको डण्डा
माओवादी केन्द्रले पार्टीले सञ्चालन गरेको चार महिने विशेष रूपान्तरण अभियानका क्रममा पार्टीको जिम्मेवारी १० प्रतिशत पनि पूरा नगर्नेमाथि कारबाही गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष प्रचण्डले १० प्रतिशत पनि नखट्ने नेताहरूलाई कारबाही गर्ने बताउनुभएको हो । उहाँले कारबाहीका लागि सबै प्रदेशका इञ्चार्जहरूलाई दुई दिनभित्र रिपोर्ट दिन पनि निर्देशन दिनुभएको छ । ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’मा पूरै अवधिभर खट्नेलाई बधाईपत्र दिने निर्णय गरेको छ । त्यस्तै, ६० देखि ९० प्रतिशत समय दिएर खट्नेलाई धन्यवाद पत्र र १५ देखि ६० प्रतिशत समय खट्नेलाई सतर्कतापत्र दिने निर्णय गरेको छ । १५ प्रतिशतभन्दा कम खट्नेलाई भने स्पष्टीकरण पत्र दिएर कारबाही गर्ने निर्णय बैठकले गरेको छ ।
सरकारले राम्रो काम गरेको दाबी
अध्यक्ष प्रचण्डले सुशासन र सामाजिक न्यायको पक्षमा सरकारले राम्रो काम गरेको ब्रिफिङ गर्नुभएको छ । अन्तर्राष्ट्रिय फोरममा पनि वर्तमान सरकार संसारले देख्ने गरी प्रस्तुत भएको दाबी गर्दै प्रचण्डले भन्नुभयो, ‘आशा र अपेक्षा माओवादी पार्टीप्रति महसुस भएको छ ।’ यस्तै भ्रष्टाचारको निर्मूल नभएसम्म समाजवादको बाटो तय नहुने पनि प्रचण्डको भनाइ छ । नक्कली भुटानी शरणार्थी प्रकरणदेखि भूमाफिया र तस्करीका विरुद्ध सरकार गम्भीर भएर लागिपरेको र निरन्तर लागिपर्ने पनि उहाँले बैठकमा जानकारी दिनुभएको छ ।
१८ जना वैकल्पिक केन्द्रीय सदस्य थप
नेकपा माओवादी केन्द्रले १८ जना वैकल्पिक केन्द्रीय सदस्य थप गरेको छ । फागुन पहिलो सातादेखि सुरु हुने पार्टीको विधान सम्मेलनको तयारीका लागि गत २६ र २७ गते बसेको पार्टी स्थायी कमिटी बैठकले १८ जना केन्द्रीय सदस्य थप्ने निर्णय गरेको हो । माओवादीले थप गरेका वैकल्पिक केन्द्रीय सदस्यमा लालबहादुर सुस्लिङ, शंकर राई, रिपुप्रसाद राई, महादेव महतो, टंक गिरी, रामसुर बुढा, पुरन केसी, राजेन्द्रवीर राय, नारायण महर्जन, हिरानाथ खतिवडा, मनऋषि धिताल, खिलाबहादुर भण्डारी, मैनकुमार मोक्तान,चन्द्रबहादुर खड्का, विवश चिन्तन देवकोटा, गंगा पोखरेल र विजय वनेम छन् । वैकल्पिक केन्द्रीय सदस्य थप गरेको आन्तरिक सर्कुलरमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरूङले हस्ताक्षर छ । यसअघि साउनमा बसेको केन्द्रीय समिति बैठकले २२ जना महिला र दुई जना पुरुष गरी २४ जना केन्द्रीय सदस्य थप गरेको थियो ।
बाबुराम र विप्लवसँग पार्टी एकता हुनेमा संशय
अध्यक्ष प्रचण्डले माओवादी धारका पार्टीसँग एकता गर्ने विषय अझै पनि संशयको स्थितिमा रहेको ब्रिफिङ गर्नुभएको छ । पार्टी एकताबारे छलफल भइरहेकै भए पनि निष्कर्षमा पुग्न नसकेको जानकारी दिँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘पार्टी एकताका विषयमा छलफल भइरहेकै छ । बाबुरामजीले नेतृत्व गरेको नेसपासँग पटक-पटक छलफल गरेर संयोजन समिति बनाएर जाने भन्ने भएको छ, गति लिएको छैन । संशयको स्थिति अझै छ । अर्को विप्लवजीको पार्टीसँग पनि संयोजन समिति बनाउने कुरा चलेको छ । तर, त्यो पनि निष्कर्षमा पुगेको छैन ।’ पार्टी एकताका विषयमा धेरै चासो गर्नुभन्दा पनि यही पार्टीलाई शक्तिशाली बनाउनेतर्फ लाग्न कार्यकर्तालाई निर्देशन दिँदै केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘मलाई के लाग्छ र तपाईंहरूले के बुझ्न जरुरी छ भने एकता छिटो गरेर धेरै होला भनेर अब आशा गर्नुभन्दा यही पार्टीलाई शक्तिशाली बनाउन लागौँ । काम गर्दै जाँदा साथीहरू आउनुभयो भने स्वागत गरौँला ।’
विद्यार्थी र युवा संगठनको नेतृत्व बदल्ने चेतावनी
अध्यक्ष प्रचण्डले पार्टीका दुई मुख्य जनवर्गीय संगठनप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । चार महिने रूपान्तरण अभियान र अन्य काममा पनि दुई मुख्य जनवर्गीय संगठनहरू अखिल क्रान्तिकारी र योङ कम्युनिष्ट लिग (वाइसिएल)ले अपेक्षा गरेजस्तो काम गर्न नसकेको टिप्पणी गर्दै उहाँले भन्नुभयो, ‘जनवर्गीय संगठन जसरी चल्नुपथ्र्यो र अभियानमा भूमिका खेल्नुपथ्र्यो त्यस्तो हुन सकेन । त्यसमा पनि मुख्यतः वाइसिएल र विद्यार्थीको भूमिका जस्तो हुनुपथ्र्यो । ती दुईवटै संगठन केही आन्तरिक कारणले र केही अन्य कारणले पनि त्यति राम्रो हुन सकेन । अब हामी जनवर्गीय संगठनलाई सम्मेलनतिर लैजाने, पुनर्गठन गर्ने र नेतृत्वको बारेमा सोच्नुपर्ने भएको छ ।’
जनयुद्ध दिवस मनाउने अधिकार कसैले रोक्न नसक्ने दाबी
प्रधानमन्त्री प्रचण्डले जनयुद्ध मनाउने आफूहरूको नैसर्गिक अधिकार भएको दाबी गर्दै यसलाई कसैले रोक्न नसक्ने जिकिर गर्नुभएको छ । देशभरि जनयुद्ध दिवस मनाउने जानकारी दिँदै प्रचण्डले भन्नुभयो, ‘जनयुद्ध दिवस मनाउने भनेर सरकारले निर्णय गरेको थियो । अस्ति भर्खरै शान्ति प्रक्रिया नटुंगिएको हुनाले जनयुद्ध दिवस मनाउन उचित नहुने भनेर अदालतले निर्णय गर्यो । हामी अदालतको निर्णयलाई शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने बेलासम्म सम्मान नै गर्छौं । तर, जनयुद्ध दिवस मनाउने हाम्रो नैसर्गिक अधिकारलाई कसैले रोक्न सक्दैन, रोकिँदैन । देशभरि जनयुद्ध दिवस मनाइन्छ ।’ नेकपा माओवादी केन्द्रले विधान अधिवेशनलगत्तै विशेष महाधिवेशन गर्ने भएको छ । केन्द्रीय कमिटीको बैठकले पार्टीलाई पहिलो चरणको अभियानले चलायमान बनाएको निष्कर्ष निकालेको हो । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विधान अधिवेशनलगत्तै पार्टीले विशेष महाधिवेशन गरेर विचार संश्लेषण गर्ने जानकारी दिनुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच