सरकारको मुख्यसचिवमा बैकुण्ठ अर्याल

वैरागी राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । डा. बैकुण्ठ अर्याल मुख्यसचिवमा नियुक्त हुनुभएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारको मुख्यसचिवमा डा. बैकुण्ठ अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो । सचिवका रूपमा पाँच वर्षे कार्यकाल पूरा गरी तीन दिनपछि अनिवार्य अवकाशमा जान लाग्नुभएका अर्याललाई सरकारले मुख्यसचिवमा नियुक्त गरेको हो । सचिवहरूमध्ये वरिष्ठताका आधारमा अर्याललाई मुख्यसचिवमा नियुक्त गरिएको परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले बताउनुभयो । अर्याल हाल सरकारका ७२ सचिवमध्ये सबैभन्दा वरिष्ठ सचिव हुनुहुन्थ्यो । निजामती सेवा ऐनको दफा १९ (२) ‘क’ मा ज्येष्ठता र कार्यकुशलताका आधारमा बहालवाला सचिवहरूमध्येबाट एकजना मुख्यसचिव नियुक्त गरिने व्यवस्था छ ।

मन्त्री साउदका अनुसार सरकारले मुख्यसचिवका रूपमा कार्यरत शंकरदास वैरागीलाई भने राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरेको छ । तीन महिनापछि अनिवार्य अवकाश पाउने वैरागीलाई सरकारले मुख्यसचिवबाट राजीनामा दिन लगाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरेको हो । निवर्तमान मुख्यसचिव रहनुभएका वैरागीको कार्यकाल आगामी असोजसम्म थियो । वैरागीलाई मन्त्रीस्तरीय सुविधा दिनेगरी राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरिएको छ । निवर्तमान मुख्यसचिव वैरागीले बिहीबार नै राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकारको शपथ लिनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित विशेष समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैरागीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

नासुबाट सरकारी सेवामा प्रवेश, अनिवार्य अवकाशमा जाने बेला उपल्लो तहको जिम्मेवारी
बिहीबार सरकारको मुख्यसचिव हुनुभएका बैकुण्ठ अर्याल नायव सुब्बाबाट सरकारी सेवामा प्रवेश गर्नुभएको थियो । काठमाडौंको फर्पिङमा जन्मिनुभएका अर्याल २०४६ सालमा नायव सुब्बाको रूपमा निजामती सेवा प्रवेश गर्नुभएको थियो । सचिवका रूपमा पाँच वर्षे कार्यकाल पूरा गरी तीन दिनपछि अनिवार्य अवकाशमा जान लाग्नुभएका अर्याललाई सरकारले मुख्यसचिवमा नियुक्त गरेको हो । त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासनमा स्नातकोत्तर र नर्वेबाट अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएका उहाँ २०४९ सालमा शाखा अधिकृत बन्नुभएको थियो ।

प्राकृतिक स्रोतको बाँडफाँट र वित्त व्यवस्थापनका ज्ञातासमेत हुनुभएका उहाँले सचिवका रूपमा वित्त व्यवस्थापन आयोग, वाणिज्य मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा जिम्मेवारी सम्हाल्नुभएको थियो । सहसचिव हुँदा पनि उहाँले योजना आयोग, अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेर काम गर्नुभएको थियो । अर्थ मन्त्रालयमा ६ वर्षसम्म काम गर्नुभएका उहाँ अर्थसचिव भने बन्न पाउनुभएन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?