सामन्यतया क्रान्तिपछि प्रतिक्रान्तिको जमर्को हुने गर्छ । नेपालको सन्दर्भमा पहिलो र दोस्रो जनआन्दोलनको खिलापमा त्यस्तो कुनै प्रयत्न भएको थिएन वा पाइएन तर अहिले आएर यथास्थितिवादीहरू बिस्तारै परिस्थिति अनुकूल देखेर होला प्रतिक्रान्तिको पक्षमा जनमत तयार गर्दै गरेको देखिएको छ । त्यस्तो परिस्थिति निर्माणमा सत्तापक्ष र प्रमुख प्रतिपक्षको भूमिका नै जिम्मेवार छ भन्दा फरक पर्दैन । परिवर्तनकारी शक्तिहरूले देशमा शान्ति, समृद्धि र सुशासन दिन नसक्दा त्यसको परिणाम प्रतिक्रान्तिको बाटो सहज हुन गएको हो । पहिलो जनआन्दोलनभन्दा अगाडिको राजनीतिक, आर्थिक, शैक्षिक, रोजगारी आदिको स्थिति के थियो त्यो कुरा अहिलेको युवा पुस्तालाई कुनै जानकारी थिएन ।
त्यस युवा पुस्तालाई प्रतिक्रान्तिका अगुवाहरू मानौं राजाको प्रत्यक्ष शासनकाल स्वर्णिम युग नै थियो भन्ने लागेको हुनसक्छ । त्यही भनाइलाई विस्वास गर्दै धेरै नवयुवा होमा हो मिलाउँदै प्रतिक्रान्तिलाई मलजल पुर्याइरहेका छन् । त्यस्तो भ्रमपूर्ण र झुटो प्रचारप्रसारलाई चिर्न नसक्नु परिवर्तनकारी शक्तिहरूको ठूलो कमजोरी देखिएको छ । कता/कता परिवर्तनकारी शक्तिहरू कांग्रेस र कम्युनिष्टहरूको मनोबल खस्किएको हो कि जस्तो पनि अनुभव हुँदै छ । यो कुरा प्रतिक्रान्तिका पक्षधरहरूले अवश्य पनि अध्ययन विश्लेषण गरेका छैनन् होला भन्न सकिँदैन । सम्भवतः सत्तासीन र प्रतिपक्षहरूको मनोविज्ञानको राम्रो अध्ययन विश्लेषणको आधारमा प्रतिक्रान्तिको दुष्साहस भएको हुनसक्छ ।
त्यसैले जनतामा कांग्रेस कम्युनिष्टप्रतिको विश्वास क्रमशः खस्कँदै गएको तथ्य कहिँ कतै छिपाएर छिप्ने अवस्था छैन । दलहरूप्रतिको असन्तुष्टि जनतालाई आज घुमाउरो पाराले प्रक्तिक्रान्तिको गोटी बनाइँदै छ । यस कुराको सुइँको कथित ठूला पार्टीहरूलाई छैन भन्न सकिँदैन ।
अहिले स्वयम गद्दिच्युत पूर्वराजा विशेष गरेर धार्मिक आवरणमा जनताबीच सिधा सम्पर्क स्थापित गर्न पुगेका छन् । पूर्वराजाको चलखेल बढेपछि पूर्र्वमण्डलले र नवमण्डलेहरू जुर्मुराएका छन् र उनीहरू यस प्रणालीमाथि सिधैं प्रहारमा उत्रिएका छन् । यसमा यो प्रणालीका हिमायतीले जनताको उर्लँदो आकांक्षालाई सम्बोधन गर्न नसक्नु पनि एउटा कारण हो । जनतालाई यो पनि गरिदिन्छौँ त्यो पनि गरिदिन्छौँ भनी अश्वासन बाँडियो तर ती अश्वासनहरू कति व्यावहारिक थिए र कति पूरा गरियो त्यसको कुनै समीक्षा गर्ने प्रयाससम्म पनि भएन ।
त्यसैले जनतामा कांग्रेस कम्युनिष्टप्रतिको विश्वास क्रमशः खस्कदै गएको तथ्य कहिँ कतै छिपाएर छिप्ने अवस्था छैन । दलहरूप्रतिको असन्तुष्टि जनतालाई आज घुमाउरो पाराले प्रक्तिक्रान्तिको गोटी बनाइँदै छ । यस कुराको सुइँको कथित ठूला पार्टीहरूलाई छैन भन्न त सकिँदैन तर यस सन्दर्भमा उनीहरू ‘किम कर्तब्य बिमुढ’ भने अवश्य छन् । जे होस् अहिलेसम्मको परिस्थितिको सूक्ष्म मूल्यांकन र समीक्षाले प्रतिक्रान्तिको पूर्वाभ्यास भएको होइन भन्न सकिँदैन ।
अब एक छिन राजाको शासनकालको पुनरसमीक्षा गर्न आवश्यक छ र ती विषयलाई बहस र छलफलमा ल्याइनुपर्छ भन्ने लाग्छ । जहाँ नागरिक अधिकार कुण्ठित गरी निरंकुशताको जाँतोमा सचेत र जागरुक नेपालीहरू पिसिएका थिए । यो यथार्थतासँग अहिलेका युवा पुस्ताहरू पूर्ण अनभिज्ञ थिए र छन् भन्दा निश्चित रूपमा अन्यथा हो भन्न सकिँदैन । विसं २०१७ सालदेखि २०४६ चैत्र २७ गतेसम्मको र अहिलेको करिब सोही अवधिको तुलनात्मक अध्ययन विश्लेषण नगरेसम्म हामी सत्य तथ्यको नजिक पुग्न सक्ने छैनौं । यस दिशामा अधिकांश जानकार इमानदार भएर बोल्ने र लेख्ने काम गर्नुको सट्टा भिडको बहकाउमा लागेको पाइन्छ ।
प्रतिक्रान्तिका पक्षधरले केही उद्योगहरूको निजीकरणलाई आधार मानेर जनमत भड्काउने काम गरिरहेका छन् । राज्यको नीति निजीकरणतर्फ ध्यान केन्द्रित हुँदा अधिकांश घाटामा गएका उद्योगहरू निजीकरण भएका थिए । यद्यपि त्यहाँ केही कमजोरी भए होलान् जसलाई ठाडै नकारात्मक मान्न सकिँदैन तर त्यसो भन्दैमा प्रजातन्त्र वा लोकतन्त्रको गला त निमोठ्न पाइँदैन नि भए गरेका कमिकमजोरी वा त्रुटिहरू सच्याउने र दोषीलाई कानुनबमोजिम दण्डित गर्ने हो तर लोकतान्त्रिक प्रणाली जहाँ जनताका छोरा राष्ट्र प्रमुख हुने व्यवस्था छ त्यसका खिलापमा जानु अहिलेको २१औं शताब्दीमा ठूलो मुर्खता हो । त्यस्तै प्रजातन्त्रको पुनस्र्थापनापश्चात् केही भ्रष्टाचारका मुद्दा सामाजिक सञ्जाल र छापाहरूमा आएका छन् ।
त्यस्ता भ्रष्टाचारजन्य मुद्दाहरूको प्रमाणको वा सत्यतथ्यको आधारमा प्रचलित कानुनअनुसार कारबाही गर्ने हो तर प्रणालीविरुद्ध लाग्ने होइन । ‘दूधको कुँडेमा झिँगो प¥यो भनेर दूधसहितको कुँडे फाल्ने मुर्खता गर्ने होइन झिँगो टिपेर फाल्ने हो । राज्य सत्तामा बसेका र तिनीहरूको आडमा अनुचित लाभ लिनेहरूलाई दूधको कुँडेमा परेको झिँगो झैँ टिपेर फाल्नेतिर लाग्नुपर्छ । इतिहासका पानामा थन्किसकेको राजतन्त्र कुनै बाहनाबाजीमा फर्काउने वा पुनस्र्थापनाको पहल गर्नु किमार्थ स्वीकार्य हुँदैन । मुलुकमा अब पनि राजनीतिक प्रणालीकै चक्करमा फसियो भने कहिले विकास र समृद्धिको बाटो समाउने ?
अब सधैं राजनीतिक द्वन्द्व मच्चाइरहने हो भने नेपालीहरूको सुन्दर सपना चकनाचुर हुनेबाहेक अरू केही हुँदैन । यसर्थ अहिलेकै शासन प्रणालीलाई अझ उन्नत र विकासित गर्दै जानु आजको आवश्यकता हो भन्ने लाग्छ । पूर्वराजालाई पनि उचित सम्मान गर्दै नागार्जुन दरबारमा सुरक्षाकर्मीको समेत व्यवस्था मिलाएकै छ अब यसभन्दा अरू के चाहियो ? नारायणहिटी दरबार छोड्दा जनताको नासो जनतालाई नै सुम्पिएको तथ्य स्मरण गर्दै जे छ त्यसैमा रमाएर बस्नु उपयुक्त हुनेछ न कि प्रतिक्रान्तिको बाटो खोज्नु ।
जनआन्दोलन २०४६ र २०६२/०६३ पछिका प्रगतिको विश्लेषणात्मक समीक्षा नगरी सही सत्यमा निष्कर्षमा पुग्न सकिँदैन । केही भ्रष्टाचारका सबाल र उद्योगहरूको निजीकरणको इस्युले व्यवस्थामा धावा बोल्नुले द्वन्द्व निम्त्याउनुबाहेक अरू केही हुँदैन । राजतन्त्रको पुनस्र्थापनाको पक्षमा देखिएको राप्रपा आफैंमा एउटा कन्जरभेटिभ पार्टी हो जसले सिद्धान्ततः निजीकरण नीतिको विरोध गर्न सुहाउँदैन । बरू अब प्रजातन्त्र र लोकतान्त्रिक गणतन्त्रमा भएका विकास निर्माणका कार्यहरूको सूक्ष्म समीक्षा गर्नतिर लागौं । अहिले हाम्रो जति पनि सूचना तथा सञ्चार क्षेत्रको विकास भएको छ जसको २०४६ भन्दा पहिलेको स्थितिसँगको कुनै तुलना नै हुन सक्तैन ।
आज नेपाली पढालेखा युवा प्रविधिको विकाससँगै अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न अवसर लिइरहेका छन् । विश्व एउटै गाउँ भएको सन्दर्भमा नेपालीहरू अपवाद हुने कुरै भएन । नेपालीमात्रै होइन संसारका कुनै देशका नागरिक एकअर्काको देशमा शिक्षा तथा रोजगारीमा जाने क्रम बढ्दो छ ।
त्यसैले सञ्चार क्षेत्रमा असाधारण फड्को मारेको छ जसले लगभग प्रत्येक नेपाली अहिले सञ्चारको पहुचबाट टाढा छैनन् । एउटा नेपाल टेलिभिजनको बिरासत प्राप्त स्थिति थियो भने आज गन्नै नसकिने टेलिभिजनहरू छ्याप्छ्याप्ति छन् । अरू छापा र सोसल मिडियाहरू त्यत्तिकै छन् । के यो सञ्चारको क्षेत्रमा विकास भएको होइन ? यस अवधिमा स्वास्थ्यको क्षेत्रमा देशले धेरै प्रगति गरेको छ । मानिसहरूको औसत आयु अहिले बढेर झण्डै ७२ वर्ष पुगेको अवस्था छ भने बालमृत्युदर त अत्यन्तै न्यून अवस्थामा छ । हरेक पालिकाका प्रत्येक वडाहरूसम्म प्राथमिक स्वास्थ्य केन्द्रहरू पुगेका छन् । स्वास्थ्य चेतनामा निकै अभिवृद्धि भएको तथ्य घामजस्तै छर्लंग छ । सडक सञ्जालको त झन कुरै नगरौं ।
आज सडक सञ्जाल हिमाली जिल्लासँग समेत जोडिन पुगेको छ । सरकारको ध्यान पनि पूर्वाधार विकासमा बढी केन्द्रित छ । बढ्दो सडक सञ्जालसँगै गाउँबाट शहरतिर बसाइँ सराइको क्रममा क्रमशः कमी आउँदै गरेको अवस्था छ । बाटो तथा पुलपुलेसाहरू प्रचुर मात्रामा बनेका छन् भने यो क्रम अझ तीव्र रूपले अघि बढिरहेको छ । यी विकासलाई नजरअन्दाज गर्दै केही पनि भएन भन्नु पूर्वाग्रही सोच र चिन्तनबाहेक अरू के नै हो र ? शिक्षाका क्षेत्रमा भएको प्रगतिबारे पनि सूक्ष्म चर्चा गरौं । पञ्चायतले छोडेको बिरासत एउटा त्रिभुवन विश्वविद्यालय र अर्को संस्कृत विश्वविद्यालय थिए ।
आज कति विश्वविद्यालय छन् मनन् गरौं । भए गरेका कामको मूल्यांकन पूर्वाग्रही आँखाले नहेरौं । देशका ७५३ पालिकामध्ये अधिकांश पालिकाहरूमा कम्तीमा बाह्र कक्षासम्म शिक्षा प्राप्त भएको अवस्था छ भने धेरैजसो पालिकामा महाविद्यालय स्थापना भई त्यहाँका बालबालिकाले आफ्नो घरको रोटोपिठो खाएर घरको काममा समेत सघाएर पढ्न पाएका छन् । के यो उपलब्धिलाई केही भएन भन्न मिल्छ ? त्यसैले आज नेपाली पढालेखा युवाहरू प्रविधिको विकाससँगै अन्तर्राष्ट्रिय क्षेत्रमा समेत विभिन्न अवसर लिइरहेका छन् । आज विश्व एउटै गाउँ भएको सन्दर्भमा नेपालीहरू अपवाद हुने कुरै भएन । नेपाली युवामात्रै होइन संसारका कुनै पनि देशका नागरिकहरू एकअर्काको देशमा शिक्षा तथा रोजगारीमा जाने क्रम बढ्दो रूपमा भएको पाइन्छ ।
यसर्थ हामीले यहाँ जति रोजगार सिर्जना गरे पनि नेपाली युवाहरू विदेशिने क्रम रोकिन्छ भन्ने होइन । रोजगारी नपाएरमात्रै युवाहरू पलायन भएका हुन् भन्न सकिँदैन । विसं २०४६ भन्दा पहिले नेपालीहरूको रोजगारीको गन्तव्य भारत थियो । थोरै मात्रा ब्रिटिश आर्मीमा जाने गर्थे त्यो सीमित जातिहरूमात्र । तसर्थ यो यथार्थ स्थितिको ज्ञान हुँदाहुँदै पनि बुझ पचाएर राजनीतिक स्वार्थको अगाडि कति झुट बोल्ने ? त्यसैले यी सब गलत र झुट छोडेर यथार्थपरक ढंगले समाज विकासको गतिलाई अधि बढाऊँ । यसैमा सबैको कल्याण छ । भ्रष्टाचारका इस्युलाई कानुनको दायरामा ल्याएर तिनीहरूलाई दण्डित गर्नेतिर लागौं न कि प्रतिक्रान्तिको पूर्वाभ्यासमा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच