सार्वजनिक सुनुवाई : स्थानीयद्वारा एम्बुलेन्सदेखि पशुमा नश्ल सुधारको माग

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 4 mins

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर– १४ पराल्मीका स्थानीयले एम्बुलेन्सको माग गरेका छन् । रेसुङ्गा नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा त्यहाँका स्थानीयले एम्बुलेन्सको माग गरेका हुन् ।

स्थानीय सुशील सूर्यवंशीले यहाँका नागरिकका लागि एम्बुलेन्सको खाँचो रहेको बताउनुभयो । उहाँले एम्बुलेन्सको सुविधा उपलब्ध गराई गाउँमा कोही बिरामी भएर बाहिर जानुपर्दा चर्को शुल्क तिरेर जानुपर्ने बाध्यता हटाईदिन माग समेत गर्नुभयो ।  बिरामी भएर सदरमुकाम तम्घासलगायत बाहिर उपचारका लागि जानुपर्दा अन्य सवारी साधन रिजर्भ गरेर जाँदा महङ्गो शुल्क तिर्न बाध्य हुने बताउँदै उहाँले एम्बुलेन्सको आवश्यकता रहेको बताउनुभयो ।

अर्का स्थानीय केशवप्रसाद पोखरेलले कृषकहरुलाई उत्साहित बनाउन पशुपालनमा नश्ल सुधारका कार्यक्रम ल्याउनुपर्ने भन्दै सिचाइको अभाव समेत रहेको बताउनुभयो । उहाँले यस वडालाई आलु र तरकारीका लागि पकेट क्षेत्र बनाई कृषिमा विशेष ध्यान पुर्याउन र दुग्ध डेरीको स्थापना गरी कृषकहरुलाई सहयोग गर्न आग्रह गर्नुभयो । त्यस्तै, दिवाकर पोखरेलले वडा कार्यालयबाट हुने विकास निर्माण र योजना छनौट प्रक्रियामा सबैलाई समावेश गरी लैजान सुझाव दिनुभयो ।

त्यस अवसरमा प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले नगरपालिकाले चालू आर्थिक वर्षको हालसम्मको सम्पादन गरेका कार्यहरुको जानकारी गराउनुभयो । यस नगरपालिकामा चालु आर्थिक वर्षको अहिलेसम्म ५० प्रतिशत भन्दा बढी भौतिक प्रगति र ३६ प्रतिशत भन्दा बढी वित्तीय प्रगति भएको बताउनुभयो । बाँकी रहेका योजनाहरु पनि चालू आर्थिक वर्षको अन्त्यसम्म सबै सम्पन्न गर्ने गरी लागिरहेको बताउनुभयो ।

सहभागीहरुको जिज्ञासालाई सम्बोधन गर्नुहुँदै रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले सधै आफुहरुले नागरिकलाई केन्द्रमा राखेर काम गरेको बताउनुभयो । उहाँले भूगोलले कठिनाई भएको यस वडामा आगामी आर्थिक वर्षमा पनि बिशेष प्राथमिकतामा राखेर बजेट बिनियोजन गर्ने बताउनुभयो ।

एम्बुलेन्स सञ्चालनका लागि नगरकार्यपालिका बैठकमा छलफल गरेर अघि बढिने भन्दै उहाँले नगरपालिकालाई सुशासनको पाटोमा पनि अब्बल बनाउन अहिले वडातहमै आएर नागरिकहरुको समस्या, माग तथा गुनासोहरुको सम्बोधन गर्न सार्वजनिक सुनुवाई गरिएको बताउनुभयो । नगरपालिकाले अहिले देखिने र अनुभव गर्ने गरि विकासका काम अगाडि बढाएको उहाँले दाबी गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?