
पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–६, मस्यामको चिदिसमा मंगलबार भएको जिप दुर्घटनामा १० जनाको मृत्यु भएपछि यहाँको स्थानीय सरकारले बुधबार शोक विदा दिएको छ । पालिकाभित्र भएको कहालीलाग्दो दुर्घटनामा ज्यान गुमाएका सबै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै तिनाउ गाउँ सरकारले शोक बिदा दिएको हो ।
गाउँपालिकाभित्र सञ्चालनमा रहेका सम्पूर्ण कार्यालयहरुमा शोक विदा दिइएको गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिनुभयो ।
सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप मंगलबार मस्यामस्थित इको फार्महाउस नजिकै भित्री कच्ची सडकखण्डमा दुर्घटना हुँदा ८ जनाको घटनास्थलमा र २ जनाको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको थियो ।
मृत्यु हुनेमा तिनाउँ गाउँपालिका–६ मस्यामका ६० वर्षीया यनकुमारी पन्त, तिनाउ–६ का ३९ वर्षीय रामबहादुर अस्लामी, सोही स्थानका ६७ वर्षीय कृष्णबहादुर अस्लामी, २८ वर्षीय उर्मिला अस्लामी, रुपन्देही बुटवल उपमहानगरपालिका–१४ तामनगरका ७० वर्षीय चन्द्र रणपाल र सोही स्थानका ६० वर्षीय चुना रणपाल रहेका छन् ।
यसैगरी तिनाउ–२ खुर्सानेकी २० वर्षीय गीता सुनार, रिब्दिकोट गाउँपालिका– १ ख्याहाकी ६६ वर्षीया विष्णुकला कामी, सोही ठाउँकै ६५ वर्षीया दिलकुमारी सुनार, रुपन्देही देवदह नगरपालिका–५ का २९ वर्षीया दिलमाया जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डिएसपी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा १६ जना घाइते भएका छन् ।
घाइतेको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । घाइतेमध्ये ३६ दिने बालकसहित १६ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । आफैँ अनियन्त्रित भएर जिप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो । जिप चालक तानसेन नगरपालिका–१० का ४५ वर्षीय दानबहादुर चिदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तिनाउ गाउँपालिकाले मृत्यु भएका पालिका भित्रका परिवारलाई जनही ३५ हजार रुपैयाँको दरले राहत दिने समेत निर्णय गरेको छ । गाउँ कार्यपालिकाको बैठकले पालिकास्तरीय विपद् व्यवस्थापन कोषबाट उक्त रकम दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच