रुपन्देही । वातावरणीय प्रभाव मूल्याङ्कन नभएको, कहिले ठेक्का प्रक्रिया नमिलेको त कहिले के भन्दै रोकिएको लुम्बिनी प्रादेशिक अस्पतालको गुरुयोजना अनुसारको पुराना संरचना हटाएर नयाँ बन्ने भएको छ ।
यस क्षेत्रको १ सय १४वर्ष पुरानो लुम्बिनी प्रादेशिक अस्पताल योजना बनेको लामो समयसम्म पछि निर्माणको बाटो खुलेको छ । अहिले यी सबैखाले विवादको निरुपण भई १२ सय सैयाको १० तले आधुनिक अस्पताल भवनको निर्माण कार्य सुरु भएको हो।
प्रदेश पूर्वाधार विकास प्राधिकरणमार्फत यी नयाँ भवनको निर्माणकार्य अगाडि बढेका छन् । अब बन्ने अस्पतालको मुख्य भवन अण्डरग्राउण्ड सहित १२ तलाको हुनेछ भने क्यान्सर उपचारका लागि अण्डरग्राउण्ड सहित पाँच तलाको अलग्गै भवन ‘ओन्कोलोजी ब्लक’ बन्ने भएको छ ।
अस्पतालको संरचना निर्माणका लागि आठ अर्ब ९९ करोड ७५ लाख ६४ हजार एक सय ९९ रुपैयाँ २३ पैसा बराबरको लागत अनुमान गरिएको थियो । निर्माण कम्पनीले छ अर्ब १८ करोड ७५ लाखमा निर्माण सुरु भएको पाँच वर्षमा सक्नेगरी हालै (पुस २६ गते) ठेक्का सम्झौता गरेको छ ।
बुटवल उपमहानगरपालिकाको वडा नम्बर ९ मा रहेको ६ बिघा १२ कठ्ठा जग्गामा यी अत्याधुनिक संरचनासहितको अस्पताल भवन निर्माण हुन लागेको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर छविराज पोखरेलले बताउनु भयो।
हालको तीन सय (सीमितबाट थप भएका समेतगरी ५ सय) शैयाको अस्पताललाई विस्तार गरी न्यूनतम १२०० शैयाको क्षेत्रीय बहुअनुशासनात्मक अस्पतालमा स्तरोन्नति गर्ने प्रस्ताव गरिएको सिइओ इन्जिनियर पोखरेलको भनाइ छ ।
विशेषज्ञ सेवासहितको अत्याधुनिक अस्पताल भवन निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले यसअघि नै गुरुयोजना बनाएको थियो । प्रदेश सरकार मातहतमा रहेको अस्पतालको गुरुयोजना तथा भवनको ड्रोइङ र डिजाइनलाई यसअघि नै मन्त्रिपरिषद्ले पारित गरेको थियो ।
प्राधिकरणले चरणबद्ध निर्माणमा आधुनिक स्वास्थ्य उपचार सुविधासहित १२ सय शैयाको अस्पताल निर्माण गर्ने प्रस्ताव गरेको र सबै प्रक्रिया पूरा भएर निर्माणकार्य सुरु हुने चरणम पुगेको सिइओ ई.पोखरेलले बताउनु भयो । एउटा आधुनिक अस्पतालका लागि आवश्यक पर्ने सबैखाले सुविधासहितको विशेष अस्पताल भवन निर्माणको प्रस्ताव गरिएको सिइओ ई.पोखरेलले वताउनु भयो।
अस्पतालमा पहिलो चरणमा अस्पतालको सबैभन्दा पुराना भवन र संरचनाहरु हटाइने छ । जोखिमरहित तरिकाले उपचारमा कुनै डिस्टर्भ नहुनेगरी पुराना संरचनाहरुलाई मार्किङ गरेर हटाउने प्रक्रिया सुरु भएको मेडिकल सुपरिटेण्डेन डा.सुदर्शन थापाले वताउनु भयो ।
यो ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले नै समन्वय गरेर हटाउने तयारी थालेको थापाको भनाई छ। उहाले पहिलो चरणमा हटाउनुपर्ने भवन परिसरलाई बारबन्देज गरेर सुरक्षित तरिकाले हटाउन लागिएको र परिसरमा रहेका रुखहरुका बारेमा पनि सम्बन्धित कार्यालयसँग समन्वय भइरहेको मेसु डा.थापाको भनाइ छ ।
नयाँ बन्ने अस्पताल भवनको अगाडिको भागमा अत्याधुनिक बहिरङ्ग सेवा (ओपिडि), आपतकालिन (इमर्जेन्सी), इन्डोर सर्भिस कक्ष रहनेछन् । साथै विशिष्टिकृत ग्याष्ट्रो, न्यूरो, कार्डियोलोजीलगायतका सवै बिशेषज्ञ सेवा एउटै भवनबाट व्यवस्थित तरिकाले प्रदान गर्नेगरी संरचना निर्माण हुनेछन् ।
हाल उपचारका लागि प्रयोगमा रहेका तीनवटा नयाँ भवनमा डाइग्नोष्टिक एण्ड रिसर्च, प्रसूति र महिला तथा बालरोगको उपचारका लागि प्रयोग गरिने मेसु थापाको भनाइ छ । भवनको माथि हेलिप्याडसमेत रहने उल्लेख गरिएको छ । हेलिप्याडबाट सिधै इमर्जेन्सीमा आऊजाऊ गर्न मिल्ने व्यवस्थित लिफ्टसमेत बन्नेछ ।
सम्झौता भएको पाँच वर्षमा (२०८५ साल पुसमा) निर्माण सक्नेगरी हालै भवन निर्माणको सम्झौता भएको छ । प्रतिष्ठित अन्तर्राष्ट्रिय (भारतीय) कम्पनी क्यापासाइट–आशिष–रेलिग्रेट भेन्चरले नेपाली कम्पनीसँग संयुक्त रुपमा काम गर्नेगरी गत पुस २६ गते सम्झौता भएको हो । अहिले अस्पताल भवन निर्माणका लागि निर्माण कम्पनी फिल्डमा आइसकेको छ ।
अस्पताल भवन निर्माणको शिलान्यासका लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले प्रदेश सरकारसँग समन्वय गरिरहेको प्राधिकरणका साइट इन्जिनियर रशेम शर्माले वताउनु भयो । मातहतका प्रमुखहरुसँग आवश्यक परामर्श र समन्वय भइरहेको बताउँदै प्रक्रिया पूरा गरेर शिलान्यास गरिने,’ इन्जिनियर शर्माले बताउनु भयो।
स्वास्थ्यमन्त्री राजु खनालले लुम्बिनी प्रादेशिक अस्पतालमा रोकिएको भवन निर्माणको काम पनि सुरु गर्न कानुनी अड्चन हटेको बताउँदै ८ सय बेड क्षमताको भवन निर्माण कार्य सुरु हुन लागेको बताउनु भयो।
अस्पतालमा अहिले ३सय बेडको सरकारी र १सय बेड समितितर्फ गरी ४सय बेड स्वीकृत भएको भए पनि ५सय २४ बेड सञ्चालनमा रहेको छ। अस्पतालमा बहिरङ्ग सेवाहरुमा जनरल मेडिसिन, न्यूरो मेडिसिन, यौन तथा छाला रोग, नेफ्रोलोजी, जनरल सर्जरी, हाडजोर्नी तथा नसा रोग, नाक कान घाँटी रोग, आँखा रोग, युरोलोजी, न्यूरो साइक्याट्रिक, दन्त रोग, कार्डियोलोजी, प्लास्टिक सर्जरी, मनोरोग सञ्चालनमा रहेको अस्पतालका सूचना अधिकारी वरिष्ठ बालरोग विशेषज्ञ डा.नेत्रबहादुर रानाले बताउनु भयो।
उहाले मातृशिशुसम्बन्धी सम्पूर्ण उपचार सेवा हुने गरी प्रसूती तथा स्त्री रोग उपचार र बाल रोग उपचारको लागि बेडको व्यवस्थासहित तत्तत् विभागका ओपिडी, इमर्जेन्सी, डेलिभरी कक्ष, खोप, परिवार नियोजन समेटेर मातृशिशु क्लिनिक, नवजात शिशु सघन कक्ष, बच्चाहरुको लागि सघन कक्षसहितको भवन निर्माण सम्पन्न भइ सञ्चालनमा रहेको छ ।
साथै अन्य सेवाहरु फार्मेसी, प्याथोलोजी, एक्स–रे, सिटी स्क्यान, अल्ट्रा साउण्ड, इन्डोस्कोपी, क्लोनोस्कोपी, इइजी, ओपीजी, इकोकार्डीओग्राम, आइसीयु, सामाजिक सेवा इकाइ, विस्तारित अस्पताल सेवा पनि उपलब्ध रहेको सूचना अधिकारी डा.रानाको भनाइ छ ।लुम्बिनी प्रादेशिक ४० लाख जनसंख्यालाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको अस्पतालको तथ्याकमा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच