
नेपाल कम्युनिष्ट पार्टी माओवादीले ०५२ फागुन १ बाट जनयुद्ध नामकरण गरी आरम्भ गरेको हिंसा अनेक कारणले जनयुद्ध थिएन भनेर प्रमाणित हुन्छ । चीनका नेता माओको वैचारिक र जनयुद्धको पद चिहृन अनुशीलन गरेको दाबी गरे पनि नेपाली माओवादीहरूले गरेको क्रूर व्यक्तिहत्या र अरूको श्रीसम्पत्ति कब्जा अभियान थियो त्यो । माओवादी सशस्त्र हिंसाका सही पाटाहरू अनुसन्धेय छन् । ती भविष्यमा पनि खुल्दै जानेछन् । अहिलेको प्रश्न हो फागुन-१ लाई गौरवान्वित गर्न जनयुद्ध दिवसका नाममा माओवादी पार्टीले स्थानीय तहलाई अराजक सिद्ध गर्ने काम गरेको छ । तीन वर्ष पहिले फागुन-१ मा राष्ट्रिय बिदा दिन गरेको निर्णय कार्यान्वयन हुन सकेन । अहिले कार्यान्वयन हुन नसकेको त्यो निर्णयलाई स्थानीय अधिकारका नाममा माओवादी प्रमुख भएको पालिकाहरूले कार्यान्वयन गर्ने प्रयास गरेको देखियो । तर, सम्बन्धित तहमा विजयी अरू दलका पदाधिककारीहरूले स्वीकार गरेनन् । माओवादीले क्रूरतापूर्वक सुरु गरेको रक्तकुण्डमा हजारौं निर्दोष नागरिकहरूको आहुति भएको थियो भने जनवादी सत्ता ल्याउन देखेका र देखाइएका सपनाबाट प्रभावित र भ्रमित हजारौंको जीवन त्यही कुण्डमा पुरिन पुग्यो ।
अन्ततः माओवादीका केही नेताहरूको सत्तारोहण, सम्पत्तिमाथि रजाई र सुविधाभोगबाहेक जीवन आहुति गर्नेको कुनै सपना पूरा भएन । त्यही अपूरो सपनाको झण्डा देखाएर भ्रमित तुल्याउन र अल्मलाई राख्न फागुन-१ लाई महान भनेर बारम्बार स्मरण गराउने माओवादी नेतृत्वको प्रयास देखिन्छ । परिवर्तनका लागि क्रान्तिका नाममा यसैगरी गौरव गर्ने हो भने नेपाली कांग्रेसले २००७ साल कात्तिक २६ गते राष्ट्रिय बिदा घोषणा गर्नुपर्ने हुन्छ । तत्कालीन झापा प्रकरणको विकसित रूप आजको एमालेले बुटन चौधरीलाई हत्या गरी विद्रोह सुरु गरेको वैशाख २६ लाई राष्ट्रिय गौरवका रूपमा बिदाको निर्णय गर्नुपर्ने हुन्छ । मधेस आन्दोलनको प्रश्न पनि यही नै हो । प्रारम्भको अर्थवत्ता नभएपछि परिणाम महत्वको हुन्छ । यसरी बिदा दिने हो भने माओवादी सशस्त्र हिंसाको स्थायी अवशानभएको दिन मंसिर पाँचलाई राष्ट्रिय उत्सवको दिन घोषणा गर्दा हुन्छ । किनकि त्यस दिन बृहद् शान्ति सम्झौता भएको थियो ।
यो सत्य हो : माओवादी पार्टी फरक बाटोबाट नेपाली राजनीतिमा आएको हो । यसले गणतन्त्रको एजेण्डा बोकेको थियो र यही एजेण्डालाई स्थापित गर्नुपर्ने अभिप्रायका साथ लामो समयसम्म सशस्त्र हिंसाको बाटो अवलम्बन ग¥यो । गणतन्त्रको माग लिएर आएका कारण राजतन्त्रको समेत सबलीकरणका लागि अतुलनीय योगदान गरेका राजा पृथ्वीनारयण शाहको विरोध गर्नुपर्ने उसको बाध्यता हुनसक्छ । तर, राष्ट्रवादको कुरा गर्ने माओवादीसहित देशभक्तिको माला जप्नेहरूले पृथ्वीनारायण शाहप्रति देखाउने गरेको व्यवहार कुनै पनि अर्थमा स्वीकार्य हुँदैन । राष्ट्र नै विघटन भयो भने फरक हो । यसै द्विविधाबीच माओवादीले न त राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्तीलाई नकार्न सक्यो न घोषणा गरेर रमाउनै सक्यो । तर केही कुत्सित मनोभावनाका विकृत व्यक्तिहरूले पृथ्वीनारायण शाहको फोटो र सालिकमा थुक्ने र कुल्चिने काम गरेपछि माओवादीलाई समेत यस्तो कृत्य मन परेन तर तिनलाई समातेर थुन्न पनि सकेन ।
तिनको मेख मार्न र आफ्नो पृष्ठभूमिमा भएको कमजोरीलाई स्वीकार्नसमेत केही वर्ष पहिलेदेखि पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस पुनः मनाउन सुरु भएको छ । तर राष्ट्रिय बिदा दिने गरिएको छैन । यही मौकाको फाइदा लिएर आफ्नो विगतको सशस्त्र हिंसा पनि सही थियो भन्ने प्रमाणित गर्ने हेतुले माओवादीले आपूm सरकारमा भएका बेला फागुन-१ गतेलाई ‘जनयुद्ध दिवस’ का रूपमा मनाउने निर्णय गरेको थियो । यस्तो घोषणा हुँदा नै यसको व्यापक विरोध भएको थियो । एकातिर माओवादीको हिंसात्मक कार्यबाट आफन्त गुमाएकाहरू हजारौं संख्यामा छन् । तिनले कहिल्यै पनि माओवादीको त्यो कृत्य सही थियो भन्नै सक्दैनन् । विधवा, टुहुरा र सन्तान गुमाएकाहरूले माओवादी हिंसालाई सकारात्मक आँखाले हेर्ने कुरै भएन ।
त्यसमाथि पनि माओवादी पार्टी राष्ट्रिय राजनीतिको मूलधारमा आएयता पार्टीभित्रैका मानिसहरूले पनि आफ्ना नेताहरूको शैली हेरिसकेका छन् । उहाँहरूको बोली र कार्य अर्थात् कथनी र करनीमा समानता आफ्नै कार्यकर्ताहरूले पाउन सकेनन् । अपांग बन्न बाध्य हजारौंले मात्रै होइन ठूलो पंक्तिमा सक्रिय कार्यकर्ताहरूले समेत पार्टीमा आफ्नो स्थान कतै पनि पाएनन् । क्यान्टोनमेन्टमा रहेका लडाकुहरूका नामको ठूलो रकम हिनामिना भयो । सपना सबै तुहिन पुगे । कतिसम्म भने हिंसाका एक योजनाकार माओवादी राजनीतिको मूलधारमा रहेर प्रधानमन्त्रीसमेत बन्नुभएका डा.बाबुराम भट्टराई नै पनि विचलित भएर विभिन्न पार्टीमा फन्को मारिरहनुभएको छ । रामबहादुर थापा र टोपबहादुरहरू एमालेमा हाम फाल्नुभयो ।
माओवादी नेताहरू नै यसरी पलायन भएको देख्नेहरूले फागुन-१ लाई दिवस कसरी मान्छन् ? बिदा र उत्सवको नाटक मञ्चन हुँदैछ ? प्रश्न स्वाभाविक भएको छ । यो प्रश्न माओवादी पार्टीलाई पनि महत्वको हुनसक्छ । उसले फागुन-१ को औचित्य पुष्टि गरेर देखाउन सकेको छैन । फागुन–१ लाई उत्सवका रूपमा लिन अदालतले पनि अस्वीकार गरेको अवस्था छ । अर्थात् माओवादीले घोषणा गरेको जनयुद्ध दिवस (?) ले कतैबाट पनि समर्थन पाउन सकेन । सबै क्षेत्रबाट अस्वीकार गरिएको र अदालतले समेत अमान्य घोषणा गरेको यस दिवसको औचित्य पुष्टि हुन सक्दैन । औचित्यका पक्षको बहस आफैं निरर्थक छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच