काठमाडौं । १३औँ संस्करणको पुष्पलाल स्मृति राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगिता यसै फागुन महिनाको तेस्रो साता हुने भएको छ । खेल सामग्री उत्पादक संस्था लि-निङको मुख्य प्रायोजन रहेको प्रतियोगिता फागुन १४ देखि १९ गतेसम्म सञ्चालन हुनेछ ।
नेकपा एमाले निकट भ्रातृ संस्था नेपाल खेलकुद महासंघअन्तर्गत रहेको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनामा काठमाडौंको महांकाल ब्याडमिन्टन क्लब, चन्द्रागिरिको कभर्डहलमा आयोजना हुने प्रतियोगितामा विभिन्न १२ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघको शीर्ष आठ वरीयतामा रहेका पुरुष र महिलाहरूको एकल, आठ वरीयतादेखि बाहेकका पुरुष र महिला एकल, पुरुष र महिला युगल, यू–१७ ब्वाइज र गल्र्स एकल, भेट्रान्स ४५ वर्षमाथि र मास्टर्स ५५ वर्षमाथिको स्पर्धाका साथ यसपटकको प्रतियोगितामा यू–१३ को ब्वाइज र गल्र्स एकलको थप विधा समावेश गरिएको छ ।
ब्याडमिन्टनको इतिहासमा एक सम्मानित प्रतियोगिताका रूपमा रहेको यस प्रतियोगिताको कुल पुरस्कार राशि सात लाख २३ हजार रहेको छ । शीर्ष आठ वरीयताका खेलाडीहरूको प्रतिस्पर्धा दुई समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा खेलाइनेछ । यस विधामा सहभागी प्रत्येक खेलाडीले नगद १५ हजार प्राप्त गर्ने र लिग चरणका प्रत्येक खेलमा जित हात पारेबापत थप नगद १५ सय प्राप्त गर्नेछन् । दुई समूहका शीर्ष २ स्थान प्राप्त गर्ने खेलाडीहरूले सेमिफाइनलमा स्थान पक्का गर्नेछन् । विजयी खेलाडीले नगद ५० हजार, उपविजयीले नगद ३० हजार र सेमिफाइनलिस्ट द्वयले करिब १५ हजार नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने संघका महासचिव सुनिलमान शाक्यले जानकारी गराउनुभएको छ ।
प्रतियोगितामा शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरूले मेडल, ट्रफी र प्रमाणपत्रका साथ शीर्ष आठ वरीयतादेखि बाहेकको पुरुष एकल र महिला एकलका शीर्ष तीन स्थान प्राप्त गर्नेले नगद २० हजार, १० हजार र पाँच हजार प्राप्त गर्नेछन् ।
यस्तै, पुरुष युगलतर्फ शीर्ष तीन स्थान प्राप्त गर्नेले नगद ३० हजार, १५ हजार र पाँच हजार प्राप्त गर्नेछन् । महिला युगलतर्फका शीर्ष तीनले नगद २० हजार, १० हजार र पाँच हजार प्राप्त गर्नेछन् । यू-१७ र यू-१३ विधामा शीर्ष तीन स्थान प्राप्त गर्नेले नगद १५ हजार, आठ हजार र तीन हजार तथा भेट्रान तथा मास्टर्सका शीर्ष तीन स्थान प्राप्त गर्नेले नगद ३० हजार, १५ हजार र पाँच हजार प्राप्त गर्ने आयोजकले जनाएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच