कार्यसम्पादन मुल्याङ्कनमा बर्दघाट जिल्लामै उत्कृष्ट

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 4 mins

नवलपरासी । पश्चिम नवलपरासीका स्थानिय तह मध्ये बर्दघाट नगरपालिका कार्यसम्पादन मुल्याङ्कनमा उत्कृष्ट भएको छ । जिल्लाका सात वटा स्थानिय तह मध्ये आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन मूल्यांकनमा बर्दघाट नगरपालिका पहिलो भएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार बर्दघाटले ४२ दशमलव ७४ अंक प्राप्त गर्दै प्रथम स्थानमा प्राप्त गरेको हो । त्यस्तै रामग्राम नगरपालिका ३६ दशमलव ८८ अंक प्राप्त गरी दोस्रो भएको छ भने सुनवल नगरपालिका ३४ दशमलव ६४ अंकका साथ जिल्लाको तेस्रो स्थानमा भएको छ । त्यस्तै सुस्ताले २८ दसमलब ४०, पाल्हीनन्दनले २३ दसमलब ०८ र सरावलले २० दसमलब १६ अंक र प्रतापपुरले १८ दसमलब ३६ अंक प्राप्त गरेको छ ।

आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मुल्याङ्कन गरि यो नतिजा सार्वजनिक गरेको हो ।आयोगले योजना निर्माण, बजेट तर्जुमा र त्यसको कार्यन्वयन, शिक्षा, स्वास्थ्य, लगायतका बिषयलाई आधार बनाएको छ ।

स्थानीय तहले समयमै बजेट पेश र पारित गरेरनगरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरेरनगरेको, बजेटको वार्षिक समिक्षा गरी कार्तिक मसान्त भित्र सार्वजनिक गरे/नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग गरे/नगरेको जस्ता सूचकहरुका आधार मुल्यांकन गरिएको छ ।

शिक्षा तर्फ आवधिक योजना तर्जुमा, कक्षा १ देखि ८ सम्म खुद विद्यार्थी भर्ना दर, कक्षा-८ को तुलनामा कक्षा-९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा १.६ भन्दा वा सो भन्दा उच्च जीपीए प्राप्त गरेका विद्यार्थी प्रतिशतजस्ता मापदण्ड रहेका छन् ।

स्वास्थ्य तर्फ ४ पटक गर्भजाँच गरेका महिलाको अनुपात, कुल गर्भवतीमध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, पूर्ण खोप पाएका बालबालिकाको अनुपातलगायतका सूचकहरुका आधारमा मुल्यांकन गरिएको हो ।

प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा नगर प्रथम स्थानमा आउनु बर्दघाट बासीको गौरबको बिषय भएको नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो । 'यो बर्दघाटको गौरवको बिषय हो । यसका लागि खटिनुहुने सम्पुर्ण जनप्रतिनिधि, कर्मचारीहरू, राजनीतिक दलहरू, शैक्षिक तथा सामाजिक संघ संस्थाहरू, नगरपालिकाका शाखाहरू, पत्रकारहरूलगायत अन्य सरोकारवाला निकायहरूलाई हार्दिक आभार व्यक्त गर्दछु,' नगर प्रमुख श्रेष्ठले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?