काठमाडौं । एभरेष्ट नेपाल कल्चरल ग्रुपले बाह्रौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला गर्ने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजकले उक्त जानकारी गराएको हो । यही फाल्गुन १८ गतेदेखि फागुन २७ गतेसम्म हुने अन्तर्राष्ट्रिय मेलाको अन्तिम तयारी भएको ग्रुपका अध्यक्ष आरसी कोइरालाले जानकारी गराउनुभयो । मेलाका समुद्घाटन यही फागुन १९ गते शनिवार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुँदैछ ।
महोत्सव काठमाडौं, दाङ, पोखरा र ललितपुर जस्ता पर्यटकीय तथा ऐतिहासिक क्षेत्रमा गर्न गइरहेकोे उहाँले बताउनुभयो । ऐतिहासिक तथा विश्व सम्पदा सूचीमा आबद्ध पाटन दरबार र हनुमानढोका दरबारजस्ता क्षेत्रमा यस्ता कार्यक्रम आयोजना गर्नाले हाम्रो ऐतिहासिक धरोहरहरूको संरक्षण र सम्वद्र्धनमा प्रत्यक्ष वा अप्रत्यक्ष टेवा पुग्ने विश्वास लिएको अध्यक्ष कोइरालाको भनाइ थियो ।
यस मेलामा अष्ट्रिया, बेल्जीयम, बोष्टवाना, इष्टोनिया, जर्मनी, भारत, इण्डोनेशिया, मलेसिया, पोल्याण्ड, साउथ अफ्रिका, र नेपाललगायत राष्ट्रका विभिन्न सांस्कृतिक समूहका ३५० भन्दा बढी कलाकारले भाग लिने निश्चित भइसकेको उहाँले जनाकारी गराउनुभयो ।
महोत्सव अवधिभर कलाकारहरूले आ–आफ्नो संस्कृति झल्कने भेषभूषा लगाई सांस्कृतिक झाँकी प्रस्तुत गर्ने र आफ्नो लोकगीत, संगीत र लोक नृत्य प्रस्तुत गर्ने अध्यक्ष कोइरालाले बताउनुभयो । काठमाडौं आसपासका विद्यालयमा गई विदेशी कलाकारहरूले आफ्ना सांस्कृतिक प्रस्तुत गर्ने र विद्यालयका विद्यार्थीहरूको समेत सांस्कृतिक प्रस्तुति गर्ने कार्यक्रम पनि रहेको उहाँले जनाउनुभयो । यस किसिमको सांस्कृतिक आदान प्रदानले विद्यार्थीहरूमा आफ्नो लोक संस्कृतिप्रति अभिरुचि बढ्ने उहाँको भनाइ थियो ।
एभरेष्ट नेपाल कल्चरल ग्रुप नेपाली लोक संस्कृतिको संरक्षण तथा संबद्र्धन गर्ने प्रमुख लक्ष्य बोकेर दुई दशकअघि स्थापना भएको संस्था हो । स्थापनाकालदेखि यस संस्थाले नेपालको सांस्कृतिक विविधतालाई विश्वसामु प्रस्तुत गरी नेपालको गरिमा बढाउने कार्य गर्दै आइरहेको छ । केही दशकयता नेपालले आफ्नो लोक संस्कृतिलाई विश्व समुदायसामु उजागर गर्न थालेको भए तापनि नेपाली पर्यटन क्षेत्रको प्रमुख आकर्षणको रूपमा रहनसक्ने सम्भावना भएको नेपालको अनौठो सांस्कृतिक विविधता अहिलेसम्म ओझेलमा पर्दै आएको छ । यस्तो स्थितिलाई मध्यनजर गर्दै यस संस्थाले आफ्नो मौलिक लोक संस्कृति झल्कने कार्यक्रम स्वदेश तथा विदेशमा प्रस्तुत गर्दै आएको छ ।
यस संस्थाले ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मूल नारासहित २०५९ सालमा प्रथम अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला आयोजना गरेको थियो । त्यसपछि हरेक दुई–दुई वर्षमा आयोजना गरी निरन्तरता दिँदै आएको छ ।
प्रथम अन्तर्राष्ट्रिय लोक सांंस्कृतिक मेलादेखि एघारौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलासम्म आइपुग्दा करिब ८५ भन्दा बढी देशका आठ हजार ५०० भन्दा बढी कलाकारहरूले घर आगनमा आ-आफ्नो देशको मौलिकता झल्कने झाँकीसहित विविध लोक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिसकेका छन् । यस संस्थाले विश्वको ७५ भन्दा बढी मुलुकमा लोक सांस्कृतिक कार्यक्रममार्फत नेपाली लोक संंस्कृतिको पहिचान र प्रवद्र्धन गराउँदै आएको छ । नेपाली संस्कृति उत्थान तथा सांस्कृतिक प्रर्यटन प्रवद्र्धनको आफ्नो अभियानलाई निरन्तता दिँदै लोक संस्कृति आदान-प्रदान गर्नुको साथै नेपालमा सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्नु यस मेलाको प्रमुख उद्देश्य रहेको अध्यक्ष कोराइरालाले जानकारी गराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच