कानून समितिले पनि क्यालेण्डर बनाएरै काम गर्छ : सभापति सुवेदी

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडाैं । प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिले पनि क्यालेण्डर बनाएर आफ्नो कामलाई अघि बढाउने भएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको बैठकमा समितिकी सभापति विमला सुवेदीले क्यालेण्डर बनाएरै समितिको कामलाई व्यवस्थित र प्रभावकारी बनाएर लैजाने बताउनुभएको हो । उहाँले संघीय संसदले पनि क्यालेन्डर बनाएर आफ्नो कामलाई अघि बढाएकाले समितिले पनि त्यसैअनुसार अघि बढ्न कुनै समस्या नहुने स्पष्ट पार्नु भयो ।

सभापति सुदेवीले समितिले आफ्नो कार्यक्षेत्र भित्रका विविध विषयहरुमा पनि छलफललाई अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । विगतमा विधेयक केन्द्रित विषयहरुले मात्रै प्राथमिकता पाएको र अब भने कार्य क्षेत्र भित्रका अन्य विषयमा पनि छलफललाई अघि बढाउने उहाँको प्रष्टिकरण थियो ।

सभापति सुदेवीले भन्नुभयो, ‘विधेयकबाहेक हाम्रो अरु कार्यक्षेत्रको बारेमा काम गर्नुप¥यो भन्ने विषय माननीयज्युहरुले पहिलापनि उठाउनुभएको थियो । र अहिले पनि उठाउनु भएको छ, जोडदार ढंगले उठाउनुभएको छ । र, म के भन्न चाहन्छु भने-हामीले विधेयकमै केन्द्रित भएर काम गरिराखेको हुनाले अरु विषयमा हामी केन्द्रित हुन नपाएका हौं भन्ने कुरा यहाँहरुलाई जानकारी नै छ । र हाम्रो यो बीचमा अलिकति ग्याप भयो । त्यो पनि विभिन्न पार्टीको अधिवेशन, महासमिति बैठकलगायतका विविद कारणले हाम्रो बैठकमा बीचमा ग्याप हुन गएको हो । त्यो कुरा पनि यहाँहरुलाई अवगत नै छ । र, त्यसकारणले आगामी बैठकहरु क्यालेण्डरका विषयहरु पनि माननीयज्युहरुले गर्नुभएको छ । र हामीले कामै गर्ने हो, हामी क्यालेन्डर बनाएर अगाडि बढ्दा हामीलाई केही समस्या हुन्न । त्यसकारणले गर्दा अव संसदले पनि आफ्नो क्यालेन्डर बनाई सकेको स्थितिमा हामीले पनि कामलाई व्यवस्थित गरेर जानेछौं । र हाम्रो कार्य क्षेत्र भित्र रहेका विविध विषयहरुमा पनि जाने कुरा म यहाँ राख्न चाहन्छु ।’

बैठकमा समितिका सदस्यहरुले बैठकलाई निरन्तरता दिने काम समेत नगरेको भन्दै सभापति सुवेदीको आलोचना गर्नुभएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले सभापति सुवेदी बैठकलाई निरन्तरता दिन डराईरहेको टिप्पणी समेत गर्नुभयो । उहाँले समितिको बैठकलाई प्रभावकारी बनाउने विषयमा पनि ध्यान दिन सभापति सुवेदीको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब केही नेपाल ऐनको विषयमा छलफल भइरहेको छ । बीचमा टिआरसीको कुरा आउँछ । फेरि अरुअरु कुरा पनि आएका छन् । हामीले त समितिको क्षेत्राधिकार भित्र पर्ने कतिपय विषयवस्तुहरु उजुरी परेतापनि हामीले गर्न सकिरहेका छैनौं । मैले माननीय सभापतिजीको ध्यानाकर्षण गराउन चाहेँ । कतिपय त मैले आफैं हालेको छु । तर बैठक राखेका छैनौं । के कुराले सभापतिलाई डर लागिरहेको छ ? यो विषय चाहीँ प्रष्ट हुनुपर्छ । सभापतिज्यूले यो समितिको प्रभावकारिता, यो समितिको बैठक निरन्तर नगर्नुको कारण के हो ? यसको बारेमा सभापतिज्युले हामीलाई स्पष्ट पार्नुपर्छ । समितिको बैठकलाई निरन्तर रुपमा चलाऔं । धेरैभन्दा धेरै बिजनेश दिन सकियोस् । सभापतिज्युले बैठक चलाउने कुरामा ध्यान दिनुहोस भन्ने अुनरोध गर्न चाहन्छु ।’

सांसद गौतमले कार्य क्षेत्र भित्रका अन्य विषयमा पनि समितिमा छलफल चलाउने कुरामा पनि केन्द्रित हुन सभापति सुवेदीलाई दबाब दिनुभयो । -न्युज एजेन्सी नेपाल

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?