प्रचलितभन्दा अलग स्वस्थानी प्रसंग आज विर्सजन

Read Time = 10 mins

-तोयराज नेपाल
स्वस्थानी परमेश्वरी भनेकी को हुन् भन्ने विषयमा वेद, शिवपुराण, देवीपुराण, देवीभागवत, महाभारत आदि ग्रन्थहरूमा दक्षपुत्री सतीदेवी नै शिवकी प्रथम पत्नी भन्ने बताइएको छ तर कालिकापुराण, बृहद्धर्मपुराण, त्रिपुरारहस्य आदि ग्रन्थका अनुसार सृष्टिका आदिमा ज्ञानस्वरूप परमेश्वर एकमात्र हुनुहुन्थ्यो । परमेश्वरलाई क्रीडा गर्ने इच्छा भएपछि परमेश्वरकी पराशक्ति प्रकृति अलग हुनुभयो । परमपुरुष शिव र प्रकृति स्वरूपिणी भगवती गौरी सर्वप्रथम स्वयं दिव्यरूपमा उत्पन्न हुनुभएको थियो ।

अनि गौरी नै शिवकी प्रथम शक्तिका रूपमा शिवका साथमा रही विभिन्न लीला गर्दै रहउनुभएको थियो । कालान्तरमा दक्षप्रजापतिले भगवती गौरीको तपस्या आराधना गर्न लागे । त्यसैबेला परमपुरुष शिव अन्तर्धान हुनुभयो । अनि भगवती गौरीले सबैतिर खोज्दा शिवलाई नभेटी दुःखित भएर गौरीले पनि आफ्नो स्वरूप लुप्त गरेर आकाश स्वरूपिणी हुनुभयो ।
भनिएको छ
अथ गौरी महादेवं मृगयित्वा तु सर्वतः ।
वियुक्ता देवदेवेन दुःखेनात्यन्तभूयसा ।
देहं विलोपितवती गगनैकस्वरूपिणी ।
दक्षप्रजापतिर्देवीं तपसातोषयच्छिवाम् ।
तदा गौरी देहहीना गगनैकस्वरूपिणी ।
तुष्टा तं छन्दयामास वरेण वरवर्णिनी ।
स वव्रे तनया भूत्वा गृहे मे वस शंकरी ।
समुत्पन्ना ततो गौरी सती दक्षात् प्रजापतेः ।।

दक्षप्रजापतिले भगवती गौरीको धेरै दिनसम्म ठूलो तपस्या गरे, सो तपस्याबाट खुशी भएकी गगनस्वरूपा गौरीले वर मागभन्दा दक्षले हजुर मेरी छोरी भएर मेरा घरमा जन्म लिइदिनुहोस्, भन्ने अनुरोध गरे । गौरीले तथास्तु भनी वरदानद दिनुभयो । त्यसपछि गौरी दक्षका घरमा सतीदेवी नामले जन्म लिएर शिवसँग विवाह गर्नुभएको हुँदा शिवकी दोस्री पत्नी भएर केही समय विहार गर्नुभयो । त्यसपछि दक्षले शिवनिन्दा गरेको सहन नसकी यज्ञकुण्डमा हाम्फाली सतीदेवीले प्राण त्याग गर्नुभयो । आफ्ना पतिको निन्दा सहन नसकी पतिप्रति अत्यन्त श्रद्धाभाव राखेर पतिका लागि सतीदेवीले प्राण त्याग गर्नुभएको हुँदा सती शब्द पतिप्रति श्रद्धा एवं भक्ति गर्ने पतिव्रता महिलामा रूढ भएर अहिलेसम्म पनि पतिव्रता नारीलाई सती भन्ने परम्परा प्रचलित छ । सतीजानु भनेको पनि पतिको वियोग सहन नसकी प्राण त्याग गर्नु हो ।

गौरी दक्षका घरमा सतीदेवी नामले जन्म लिएर शिवसँग विवाह गर्नुभएको हुँदा शिवकी दोस्री पत्नी भएर केही समय विहार गर्नुभयो । त्यसपछि दक्षले शिवनिन्दा गरेको सहन नसकी यज्ञकुण्डमा हाम्फाली सतीदेवीले प्राण त्याग गर्नुभयो । आफ्ना पतिको निन्दा सहन नसकी पतिप्रति अत्यन्त श्रद्धाभाव राखेर पतिका लागि सतीदेवीले प्राण त्याग गर्नुभएको हुँदा सती शब्द पतिप्रति श्रद्धा एवं भक्ति गर्ने पतिव्रता महिलामा रूढ भएर अहिलेसम्म पनि पतिव्रता नारीलाई सती भन्ने परम्परा प्रचलित छ ।

यसरी यज्ञकुण्डमा प्राण त्याग गरेपछि हिमालयकी छोरी पार्वती भएर जन्म लिनुभयो र शिवकी तेस्री श्रीमतीका रूपमा शिवसँग विवाह गर्नुभयो । परमपुरुष शिव र शिवकी शक्तिरूपा उनै गौरी नै विभिन्न समयमा विभिन्न रूपले जन्म लिएर कहिले मधुकैटभ विनाशकारिणी, काहिले योगमाया, कहिले महिषासुरमर्दिनी, कहिले शुम्भनिशुम्भविनाशिनी आदि विभिन्न रूप लिएर लोककल्याणका लागि विभिन्न लीला गर्नुहुन्छ । स्वस्थानीपरमेश्वरी भनेकी पनि भगवती गौरीमाताको नै एउटा स्वरूप हो । त्यसकारण सदाशिवकासाथमा स्वस्थानीकाो पूजा गर्नु भनेको शिवपार्वतीकै पूजा गरेको हो ।

माघ शुक्ल पूर्णिमा अर्थात् आज समापन
पौष शुक्ल पूर्णिमादेखि सुरु भएको एक महिने स्वस्थानी व्रत समापन आज गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याहृनकालमा पार्वतीसहित महादेवको पूजा गरेका भक्तजनले व्रत समापन गर्ने दिन हो माघ शुक्ल पूर्णिमा । स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने काम गर्दै अन्त्य गरिँदैछ ।

विधिपूर्वक एक महिने व्रत गरेकाले माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरिका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्णहोस् भनी भगवतीलाई अघ्र्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ (आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवम् मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने व्रत विधिमा उल्लेख रहेको छ ।

सय रोटी व्रतालुले फलाहार गरी रातमा जाग्राम बस्ने गरिन्छ । जाग्राम बसेमा व्रतालुको मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो ।

उत्तरायणपछिको समय ध्यान, योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थानी भनिएको विश्वास छ । सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनिन्छ । स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी वर्त कथामा उल्लेख गरिएको छ ।

यस्ती देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनः मिलन हुन्छ भन्ने विश्वास छ । रोगव्याधि लागेको भए ठीक हुने र पति वा पत्नीका रूपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथासमेत प्रचलित छ । सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि बिछोडमा परेका नाग नागिनीसमेतको पुनः मिलन भएको कथामा उल्लेख छ ।

गोमा ब्राहृमणीले सप्तऋषिले सिकाएको व्रत विधिअनुसार गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ ।
ॐ मन्दारमालाकुलितालकायै
कपालमाङ्कितशेखराय ।
दिव्याम्बरायै च दिगम्बराय ,
नमः शिवायै च नमः शिवाय ।।

ॐ सदाशिवसहितायै श्रीस्वस्थानीपरमेश्वर्यै नमः भनी यस मन्त्रले जसको श्रद्धा एवं भक्तिपूर्वक पूजा गर्दा मनुष्यहरूका सम्पूर्ण मनोकामना पूर्ण हुन्छन् भनिएको छ ।
श्रीस्वस्थानीपरमेश्वर्यै नमः

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?