ऐतिहासिक कथावस्तुका साथै नेपाली मौलिकतालाई कलात्मक ढंगबाट प्रस्तुत गरिएको चलचित्र हो ‘गोर्खा वारियर’: रितेश चाम्स

गीता अधिकारी
Read Time = 9 mins

शुक्रबारदेखि देशभरका सिनेमाघरमा बहुप्रतिक्षित चलचित्र ‘गोर्खा वारियर’ प्रदर्शनमा आएको छ । मिलन चाम्सले निर्देशन गर्नुभएको यो चलचित्रमार्फत् रितेश चाम्सले नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्नुभएको छ । यो चलचित्रका लागि निकै मिहिनेत गर्नुभएका रितेशको अभिनयले तारिफ बटुल्न सफल भएको छ । चलचित्रको पहिलो प्रिमियर भदौमा लण्डनस्थित विश्वकै प्रतिष्ठित मानिने ‘आइम्याक्स सिने वल्र्ड’मा गरिएको थियो । यो हलमा प्रिमियर हुने ‘गोर्खा वारियर’ पहिलो नेपाली चलचित्र हो । बेलायतपछि नेपालका तीन स्थानमा प्रिमियर गरिएको छ । फागुन ५ गते धरान, फागुन ७ गते पोखरा र बुधबार साँझ काठमाडौंको बिग मुभिजमा प्रिमियर आयोजना गरिएको थियो । ‘गोर्खा वारियर’मा ऐतिहासिक कथावस्तुका साथै नेपाली मौलिकतालाई कलात्मक ढंगबाट प्रस्तुत गरिएको बताउनुहुने अभिनेता रितेश चाम्ससँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंशः–

शुक्रबारदेखि यहाँको अभिनय रहेको पहिलो चलचित्र सिनेमाघरमा आएको छ, कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
एकदमै उत्साहित छु । सबैले मन पराइदिनुभएको छ । राम्रो भनिरहनुभएको छ ।

यहाँको यो डेब्यु चलचित्र हो, यो चलचित्रका लागि तयारी कत्तिको थियो ?
यहाँले भनेजस्तै मेरो यो डेब्यु चलचित्र हो । मेरो पृष्ठभूमि भनेको एभिएसन हो । मैले यस चलचित्रका लागि धेरै वर्ष लगाएर तयारी गरेको थिएँ । मिलन चाम्सको यो ड्रिम प्रोजेक्ट हो, त्यसका लागि मैले धेरै ठाउँमा गएर ट्रेनिङ लिएँ । म सैनिक थिएँ । केही फरक गरौँ भन्ने लागेर अभिनय सिक्नतर्फ लागँे । किनकि बाल्यकालदेखि नै चाहना त थियो नै तर सिकेर र बुझेर यहाँ आएँ । मैले एउटा अभिनेतामा हुनुपर्ने सम्पूर्ण कुराहरू सिकेर नै अभिनयको सुरुवात गरेँ । पहिलो चलचित्रमा नै मिलन चाम्सजस्तो निर्देशकसँग काम गर्न पाएँ । उहाँजत्तिको सैनिकको विषयमा सायदै कसैले चलचित्र बनाउन सक्नुहुन्छ होला । चाम्स मेरो ‘गड फादर’ नै हुनुहुन्छ ।

चलचित्रको प्रिमियर पनि धेरै ठाउँमा भयो नि ?
हो, हामीले यो चलचित्रको पहिलो प्रिमियर भदौमा लण्डनस्थित विश्वकै प्रतिष्ठित मानिने ‘आइम्याक्स सिने वल्र्ड’मा गरेका थियौँ । यो हलमा प्रिमियर हुने ‘गोर्खा वारियर’ पहिलो नेपाली चलचित्र हो । बेलायतपछि नेपालका तीन स्थानमा प्रिमियर गरिएको छ । फागुन ५ गते धरान, फागुन ७ गते पोखरा र बुधबार साँझ काठमाडौंको बिग मुभिजमा प्रिमियर आयोजना गरिएको थियो । सबै ठाउँमा भएको प्रिमियर भव्य रहृयो । काठमाडौंको प्रिमियर शोमा शीर्षस्थ नेतादेखि विभिन्न देशका राजदूतहरूसम्मको उपस्थिति थियो । प्रिमियरमा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पर्यटनमन्त्री सुदन किराँती, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रोब फेन, एमाले नेता शेरधन राई, पूर्वमुख्यमन्त्री हिक्मत कार्की, राप्रपा नेता तथा सांसद ज्ञानेन्द्र शाही, नेपाली कला क्षेत्रका विशिष्ट व्यक्तित्वलगायतको उपस्थिति थियो । यस्तै, धरान र पोखरामा पनि ऐतिहासिक प्रिमियर भयो । विशिष्ट व्यक्तित्वहरू आउनुभयो, हौसलाका साथै तारिफ गर्नुभयो । उहाँहरूले चलचित्रमा उठान गरिएको विषय र प्रस्तुतीकरणको तारिफ गर्नुभएको थियो । विभिन्न ठाउँमा गरिएका रेड कार्पेट प्रिमियरमा अतिथि तथा दर्शकबाट पाएको सकारात्मक प्रतिक्रियाबाट निकै उत्साहित भएका छाैं ।

कस्तो अनुभूति गरिरहनुभएको छ ?
एकदमै उत्साहित छु । पहिलो चलचित्रमार्फत् नै गोर्खालीको विषयलाई देखाउन पाउँदा उत्साह थपिएको छ ।

कस्तो चलचित्र हो ‘गोर्खा वारियर’ ?
नामबाट नै पनि थाहा हुन्छ यो कस्तो चलचित्र हो भनेर । यो ऐतिहासिक कथावस्तुमा निर्माण भएको चलचित्र हो । यो नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने चलचित्र हो । मिलन चाम्सले निर्देशन गर्नुभएको यो चलचित्रले नेपाली मौलिकतालाई कलात्मक ढंगबाट प्रस्तुत गरेको छ । चलचित्र नेपाली मौलिक सामाजिक कथावस्तुका साथै ७० वर्षअघिको युद्धमा गोर्खाली सेनाहरूको वास्तविक कथावस्तुमा आधारित छ । मलायामा नेपाली गोर्खाली सेनाले लडेको युद्धलाई आधार मानेर निर्माण भएको हो यो चलचित्र । चलचित्रमा विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारको अभिनय छ । सबै कलाकारले एकदमै राम्रो अभिनय गर्नुभएको छ । सबैको मिहिनेतले एउटा उत्कृष्ट चलचित्र बनेको छ । गोर्खा परिवारका साथै हाम्रो गाउँघरका परिवारको कथा हो यो चलचित्र । यो चलचित्र लण्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो । यसमा सुमन राई र सुस्मिता वाइवा निर्माता हुनुहुन्छ । यस्तै, कार्यकारी निर्मातामा प्रशान्त थापा र सह–निर्माताका रूपमा सुरेश राई हुनुहुन्छ । चलचित्रको एसोसिएट वितरकमा ऋच इन्टरटेनमेन्ट रहेको छ । चलचित्र नेपाली, अंग्रेजी, कोरियन र हिन्दी भाषामा निर्माण गरिएको छ । नेपाल र बेलायतको जुन सम्बन्ध छ, यो सम्बन्धलाई अझ प्रगाढ बनाउँछ यो चलचित्रले । नेपाली गौरव गाथा र संघर्षलाई प्रस्तुत गर्छ चलचित्रले ।

अन्त्यमा
यो चलचित्रमात्रै नभएर नेपाली जातिको गौरवको विषयवस्तु रहेको चलचित्र हो । हाम्रो गौरव गाथालाई विश्वका हरेक ठाउँमा चलचित्रमार्फत् पु¥याउने नै हाम्रो उद्देश्य हो । नेपालको गौरवका अन्य विषयमा पनि चलचित्र बनून् भन्ने चाहना छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?