हेर्नुहोस् आज दिनभरका प्रमुख समाचार

हिमालय टाइम्स
Read Time = 13 mins

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीबाटै अध्यागमन अधिकारीहरू कुटिएपछि विभिन्न ट्रेड युनियनहरूले तीन दिनभित्र दोषीलाई कारबाही गर्न माग गरेका छन्।

आज संयुक्त विज्ञप्ति जारी गर्दै घटनामा संलग्न प्रहरीलाई कारबाही गर्न ट्रेड युनियनहरूले सरकारसँग माग गरेका हुन्।

उनीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत छायाँलाल मोक्तानमाथि कुटपिट भएको र कुटपिटमा सम्लग्न प्रहरीलाई कारबाही गर्न सरकारलाई अल्टिमेटम दिएका छन् ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अधिकारका विषयमा सङ्घ, प्रदेश र स्थानीय सरकारबीच रहेका अस्पष्टता हटेर जाने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, “एकल तथा साझा अधिकारबारे देखिएका अन्यौलता तीनै तहबाट हट्नेछन् ।”

सिंहदरबारमा आज आयोजित कार्यविस्तृतीकरण परिमार्जनको मस्यौदा प्रतिवेदनमाथिको उच्चस्तरीय छलफलमा प्रधानमन्त्री दाहालले तीनै तहका संवैधानिक अधिकार र संवेदनशीलता विचार गरेर तहगत अधिकारलाई थप प्रस्ट पारिने बताउनुभयो । उहाँले तीनै तहका सरकारको अधिकारमा स्पष्टता आएपछि मात्र हरेक तहको सेवा प्रवाहमा सुधार भई सङ्घीय शासन प्रणालीको औचित्य पुष्टि हुने उल्लेख गर्नुभयो ।

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सैनिक कल्याणकारी कोषमा सञ्चित रकमलाई बढीभन्दा बढी प्रतिफल प्राप्त हुने कार्यमा उपयोग गर्न सुझाव दिनुभएको छ ।

आईतवार सैनिक कल्याणकारी निर्देशनालयको निरीक्षण गर्नुहुँदै कोषको रकम हिताधिकारीहरूलाई थप आर्थिक तथा सामाजिक सुरक्षा उपलब्ध हुने योजना तथा कार्यक्रममा लगानी हुनुपर्ने उपप्रधानमन्त्री खड्काको भनाइ थियो ।

कोष स्थापनापछि हालसम्म १० लाखभन्दा बढी लाभान्वित भएको सुन्न पाउँदा आफूलाई खुशी लागेको बताउनुहुँदै उपप्रधानमन्त्री खड्काले कोषलाई आगामी दिनमा नेपाली सैनिक तथा आश्रित परिवारजनलाई गुणस्तरीय स्वास्थ्य र शिक्षा सेवा थप बिस्तार गर्दै लैजान सुझाव दिनुभयो । नेपाली सेना र आश्रित परिवारको वृहत्तर हितका लागि स्थापना भएको कोषको रकमबाट विभिन्न कल्याणकारी एवं आयमुलक कार्यक्रमको समन्वय र सञ्‍चालन भइरहेको छ ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याउने उद्देश्यले अगाडि बढाइएको स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्ने बताउनुभएको छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२ औँ सभामा प्रधानमन्त्री एवं कुलपति ‘प्रचण्ड’ले सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यमा सहयोग पुर्‍याउनुपर्नेमा जोड दिनुभयो ।

काठमाडाैं । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले नेपालले विकासको क्षेत्रमा चीनसँग सहकार्य गर्न चाहेको बताउनुभएको छ ।

आईतवार काठमाडौंमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानसहितको टिमसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चीनले विकासको क्षेत्रमा नमूना काम गरेको उल्लेख गर्दै नेपाली काँग्रेस पनि चीनसँग विकासको सहकार्य अघि बढाउन इच्छुक रहेको बताउनु भयो । उहाँले चीनको आर्थिक विकास पनि प्रशंसायोग्य रहेको बताउनु भयो ।

काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बिआरआईअन्तर्गतका परियोजनाहरु छिटो भन्दा छिटो कार्यान्वयन गर्न सरकार तत्पर हुनुपर्ने बताउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित चिनियाँ कम्युनिष्ट पार्टी र नेपाली कम्युनिष्ट पार्टीहरुबीचको छलफलका क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले बिआरआईका सन्दर्भमा नेपालले गरेको सहमतिअनुसार परियोजना पहिचान गर्नेकुरामा आफूहरु पछि परेको बताउनु भयो । उहाँले परियोजना पहिचानको विषय सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो । उहाँले नेपाल र चीनका बीचमा उच्चस्तरमा भएका भ्रमणले दुई पक्षिय सम्बन्धलाई बलियो बनाएको बताउनु भयो । उहाँले विकासको चरणमा रहेको नेपालले बिआरआईबाट लाभ लिनसक्ने प्रशस्त सम्भावना रहेको रहेको जिकिर गर्नुभयो ।

भोजपुर । इच्छा शक्ति भएमा अपाङता भएर पनि केही गर्न सकिन्छ भन्ने उदाहरण भोजपुरका दुई बहिरा बालबालिका भएका छन । उनीहरु जन्मजात नै बोल्न र सुन्न सक्दैनन् । प्राकृतिकरुपमा सुनाई सम्वन्धी अपाङता भए पनि उनीहरुको जोश जाँगर अरुको भन्दा कम छैन ।

सदरमुकाममा संचालनमा रहेको भोजपुर बहिरा आवासीय विद्यालयमा कक्षा ३ मा अध्ययनरत ९ बर्षिया कौशिका ल्वागुन र ११ बर्षका दालाक्पा शेर्पा आफनो प्रतिभा पहिचानका लागि अहिले पूर्वाञ्चल गट टयालेन्ट प्रतियोगिता र भोजपुर गट टयालेन्ट गायन तथा नृत्य प्रतियोगितामा प्रतिस्पर्धामा छन । अरुले भनेको र बोलेको सुन्न नसक्ने उनीहरु बिद्यालयमा कार्यरत बिशेष शिक्षक सन्त कुमार तुम्वापोको हौसलाले प्रतिस्पर्धामा उत्रिएका हुन् ।

काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा सञ्चालन हुने विकास निर्माणका आयोजनाको अनुगमन र मूल्याङ्कन गर्ने कानुनी आधार आवश्यक रहेको बताउनुभएको छ ।

अनुगमन तथा मूल्याङ्कन विधेयक २०७६ मा राज्यव्यवस्था तथा सुशासन समितिमा भएको सैद्धान्तिक छलफलमा उहाँले प्रधानमन्त्री, राष्ट्रिय योजना आयोग र सम्बन्धित मन्त्रालयले अनुगमन तथा मूल्याङ्कनको कानुनी आधार प्रदान गर्र्न विधेयक ल्याइएको स्पष्ट पार्नुभयो ।

काठमाडौं ।  संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको आज बसेको बैठकमा प्रतिपक्ष सांसदहरुले सरकारले संसदीय समितिलाई नटेर्ने गरेको आरोप लगाएका छन् ।

साथै एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका प्रतिपक्ष दलहरुले भारतसँग हालै गरिएको विद्युत खरिद सम्झौता तत्काल सार्वजनिक गर्न सरकारलाई दबाब समेत दिएका छन् ।

बैठकमा बोल्दै एमालेका सचेतक महेश बर्तौला, रास्वपाका प्रमुख सचेतक सन्तोष परियारलगायतका सांसदहरुले सो सम्झौता तत्काल संसदीय समितिमा पेश गर्न सरकारसँग माग गर्नुभएको हो ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म खेल्ने हुनु भएको छ ।

अभिनेता रमित ढुङ्गानाको डेब्यू निर्देशन रहने ‘नमेटिने घाउ’ फिल्म को छायांकन फागुन दोस्रो साताबाट सुरु हुने छ ।

आइतबार चलचित्रको शुभमुहूर्त पनि गरिएको छ । अध्यक्ष ओलीले निर्माता ढुंगानालगायतको टोलीले निर्माण गर्न लागेको ‘नमेटिने घाउ’ को शुभमुहूर्त समेत गर्नुभयो ।

कैलाली । कञ्चनपुरको महेन्द्रनगरस्थित खुला मञ्चमा आजदेखि तेस्रो मुख्यमन्त्री कप, राष्ट्रिय पुरूष भलिबल प्रतियोगिता शुरु भएको छ । सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना एव कञ्चनपुर जिल्ला भलिबल संघको व्यवस्थापनमा मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता शुरु भएको हो ।

पहिलो दिन तीनै विभागिय टिमले विजयी सुरुवात गरेका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टीमले विजयी सुरुवात गरेका हुन । नेपाली सेनाको त्रिभुवन आर्मीको क्बलले बागमती प्रदेशलाई ३–०, नेपाल प्रहरीले लुम्बिनी प्रदेशलाई ३–० र सशस्त्र प्रहरीले मधेश प्रदेशलाई ३–०सेटले हराउँदै विजय यात्रा सुरुवात गरेका हुन् ।

काठमाडौँ । यहाँ जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशमाथि एक सय ६४ रनको फराकिलो अन्तरले जित हासिल गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आर्मीले प्रस्तुत गरेको दुई सय ८० रनको विजयी लक्ष्य पछ्याएको कर्णाली प्रदेश २९ ओभरमा सबै विकेट गुमाउँदै एक सय १५ रनमै समेटियो । कर्णालीका लागि हिमान्शु शाहीले १९, दिवान पुनले १८ तथा विपिन शाहीले १४ रन बनाए । त्यसैगरी, कप्तान रवीन्द्र शाही, निश्चल रावल र दीपेन्द्र रावतले समान १२/१२ रन जोडे ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?