काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले स्वास्थ्य बीमा कार्यक्रम आफैँ भ्रष्टाचारको माध्यम बनिरहेको बताउनुभएको छ । राजनीतिक दल र जनप्रतिनिधिहरूको चेतनाको अभावका कारण सो कार्यक्रम पनि भ्रष्टाचारको माध्यम बन्न गएको उहाँको भनाइ छ । राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले शनिबार संसद् भवनमा आयोजना गरेको नेपालमा क्यान्सर रोगको अवस्था र जनप्रतिनिधिको भूमिका विषयक अन्तरक्रियामा बोल्नुहुँदै सभामुख घिमिरेले राजनीतिक दल र जनप्रतिनिधिहरूले मसिनोसँग ख्याल गर्ने हो भने त्यस्ता कार्यक्रमहरूमा हुने भ्रष्टाचारलाई नियन्त्रण गर्न सकिने स्पष्ट पार्नुभयो । सभामुख घिमिरेले क्यान्सर जस्ता घातक रोग लाग्नै नदिने र चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने काममा राजनीतिक दल जनप्रतिनिधिहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । जनतामा चेतनाको अभावमा त्यस्ता घातक रोगहरू लाग्ने भएको र त्यसलाई लाग्नै नदिने गरी जनप्रतिनिधिहरूले चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने सभामुख घिमिरेले जानकारी दिनुभयो । उहाँले क्यान्सर रोगको निदानका लागि आवश्यक ऐन, कानुन बनाउने कुरामा आफूले सक्दो सहयोग गर्ने आश्वासनसमेत दिनुभयो ।
सभामुख घिमिरेले भन्नुभयो, ‘अहिले हामीले स्वास्थ्य बीमा कार्यक्रम ल्याइसकेपछि मेरो अनुभूति के छ भने स्वास्थ्य जाँच गर्न जाने, बिरामी भएपछि अस्पताल जाने, त्यसले दिएको सुविधाअनुसार औषधि उपचार गर्ने यो प्रक्रियाका राम्रोसँग विकास हुन थालेको छ । तर यसलाई व्यवहारमा लागू गर्ने सन्दर्भमा यति कठिनाइ छ कि यो नै एउटा भ्रष्टाचारको माध्यम बनिरहेको छ । स्वास्थ्य बीमालाई ठिक ढंगले प्रयोग गर्ने बारेमा जनप्रतिनिधि र राजनीतिक संघ, संस्थाहरूकै चेतना छैन । सरकारले यो कसरी लागू गरिरहेको छ र योभित्र भ्रष्टाचार कसरी हुनसक्छ ? भन्ने कुराकै जानकारी छैन । यो जानकारी राजनीतिक दलहरूले आफ्ना प्रतिनिधिमार्फत अथवा जनप्रतिनिधिहरूले आम जनताको बीचमा यो स्वास्थ्य बीमा भनेको के हो ? र यो बीमालाई उपयोग गर्नका लागि हामीले अपनाइरहेका नीतिहरू के हुन् ? यो नीतिलाई कार्यान्वयन गरिरहँदा त्यसभित्र देखापरेका विकृतिहरू के हुन् ? यसको बारेमा पनि मसिनोसँग तल जनताको बीचमा लगियो भने यी धेरै कुराहरू नियन्त्रण हुन सक्छन् । मैले यो चर्चा गरिरहँदा राजनीतिककर्मीहरू अथवा अहिले निर्वाचित जनप्रतिनिधिहरू, विभिन्न तहको सरकारमा काम गरिरहेका जनप्रतिनिधिहरूको भूमिका ज्याँदै महत्वपूर्ण हुन्छ । हिजो यी सबै प्रणाली नहुँदा नहुँदै पनि मैले आफैँले पनि सम्झिँदाखेरि बिफर भन्ने रोग ठाउँअनुसार विभिन्न भनियो । खटिरा आउने र मान्छेहरू मर्ने क्रम थियो । त्यो परिवारमा मात्रै सीमित नभएर टोलटोलमा पनि मानिसहरू मरेर गए । त्यसको निराकरण नै हुन सक्दैन भनेर ईश्वरलाई पुकार्ने चलनहरू पनि थिए । हामो देशमा त्यसको निर्मूल नै गर्ने कामहरू भयो । टिबी रोगको पनि हल भएर गयो । एवं रूपले अहिले चर्चा गर्दाखेरि क्यान्सर जुन रूपबाट आएको छ । मलाई के भन्न मन लाग्छ भने यो डरलाग्दो रोग हो । यो एकदम भयावह रूपबाट बढिरहेको छ । त्यस मानेमा पनि हामीले यसलाई हेर्नुपर्छ । तर, यसलाई नियन्त्रण गर्न सकिन्छ । यसका उपायहरू खोज्न सकिन्छ । अहिले धेरै व्याख्या गर्नुभयो । यसको आधारबाट पनि यो रोग लाग्नुभन्दा अगाडि नै समय समयमा चेक गर्ने यसको आवश्यकतालाई हामीले बुझाउन सकिरहेका छैनौँ । यस मानेमा पनि जनप्रतिनिधिहरूले यसलाई बुझाउने कुरालाई भयावह छ भनेर आत्तिएर बस्ने होइन कि त्यस रोगको उपचारको तयारी गर्ने । त्यो रोग लाग्न नदिने गरी चेतना फैल्याउने काम जनप्रतिनिधिहरूले गर्नुपर्छ ।’
कार्यक्रममा बोल्दै राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी थापा (रावल) ले स्वास्थ्य बिमा कार्यक्रम समेटी क्यान्सर रोगको उपचारको व्यवस्था मिलाउन सरकारलाई सचेत गराउनुभयो । क्यान्सर रोगको पीडाबाट मुक्त हुनुभएका उहाँले किशोरीहरूलाई पाठेघरविरुद्धको क्यान्सर अभियानलाई देशभर सञ्चालन गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । सभापति थापाले भन्नुभयो, ‘क्यान्सर रोगलाई स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत समेटी उपचारको व्यवस्था मिलाउन सरकारसँग आहृवान गर्दछौँ । क्यान्सर रोगको सचेतनाका लागि विद्यालय तहदेखि नै पाठयक्रममा समावेश गरी पठनपाठन गराउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्दछौँ । किशोरीहरूका लागि पाठेघरविरुद्धको क्यान्सर अभियानलाई देशभर सञ्चालन गर्न सरकारसँग माग गर्दछौँ ।’
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले क्यान्सर रोग लाग्नै नदिने गरी ठोस कदम चाल्न प्रमुख दलका शीर्ष नेताहरूको ध्यानाकर्षण गराउनुभयो । उहाँले काठमाडौं उपत्यकामा फोक्सोको क्यान्सर बढी हुने उल्लेख गर्दै त्यसमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न ढिलाइ गर्न नहुने पनि बताउनुभयो । सांसद सुवालले क्यान्सर रोगबाट गरिब बढी मर्ने भएकाले उनीहरूका लागि विशेष सेवा, सुविधाको व्यवस्था गर्न पनि सरकारले गर्नुपर्ने बताउनुभयो ।
के हो स्वास्थ्य बीमा कार्यक्रम ?
स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य सेवा उपयोगको क्रममा हुने नियोजित खर्चको जोखिमलाई अग्रिम व्यवस्थापन गर्दै वित्तीय संरक्षण प्रदान गर्ने अवधारणाअन्तर्गत सरकारले ल्याएको सामाजिक सुरक्षाको एक महत्वपूर्ण कार्यक्रम हो । समस्त नेपाली नागरिकलाई सर्वसुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनका लागि सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यका साथ २०७२ सालमा सामाजिक स्वास्थ्य सुरक्षाका रूपमा सुरुवात भएको यो कार्यक्रम हाल स्वास्थ्य बीमा बोर्डले सञ्चालन गर्दै आएको छ । यस कार्यक्रमले सर्वव्यापी स्वास्थ्यको पहुँच प्राप्त गर्नको लागि नेपाललाई अग्रसर बनाउँदै सन् २०३० सम्ममा दिगो विकास लक्ष्य प्राप्त गर्न महत्वपूर्ण भूमिका खेल्ने आशा लिएको छ ।
नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क र सामाजिक सुरक्षाको हक प्रदान गरेको छ । वर्तमान संविधानको धारा ५१ (ज) मा नागरिकका आधारभूत आवश्यकतासम्बन्धी नीतिअन्तर्गत नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने उल्लेख छ । परिचयपत्रको आधारमा बीमित सदस्यहरूले सरकारले तोकेको अस्पतालबाट एक लाख रुपैयाँ सम्मको निःशुल्क स्वास्थ्य उपचार सेवा प्राप्त गर्न सक्नेछन् । तर, सुविधा थैलीको सीमा पाँचजना सम्मको परिवारका हकमा लागू हुनेछ । परिवारका सदस्य पाँच जनाभन्दा बढी भएमा प्रतिसदस्य ७०० रुपैयाँ तिर्नुपर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच