
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले टेरामक्स खरिदमा भएको भ्रष्टाचार प्रकरणमा बयान लिने काम सकिएको बताउनु भएको छ ।
आयुक्त राईका अनुसार सो प्रकरणबारे केही समयमा नै आयोगले मुद्दा दायर गर्ने तयारी भएको छ ।
संसदको सार्वजनिक लेखा समितिको मंगलबार बसेको बैठकमा अख्तियार प्रमुख राईले बयानको अनुसन्धान र विश्लेषण भइरहेको बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘अनुसन्धान करिव–करिव अन्तिम अवस्थामा पुगेको जानकारी गराउन चाहन्छु । केही समयभित्रै रिजल्ट आउनसक्छ ।’
नेपाल दूरसञ्चार प्राधिकरणले अवैध कल वाइपासको अनुगमन गर्न खरिद गर्न लागेको टेरामक्स प्रविधिमा भ्रष्टाचार भएको भन्दै अख्तियारले छानबिन गरिरहेको छ ।
यो प्रकरणमा तत्कालीन सञ्चारमन्त्रीका हैसियतमा निर्णय प्रक्रियामा सहभागी भएको भन्दै अख्तियारले तत्कालीन सूचना तथा संचारमन्त्री एवं वहालवाला स्वास्थ्य तथा जनसंख्यामन्त्री समेत रहनुभएको मोहनबहादुर बस्नेत, तत्कालीन सञ्चारमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की र तत्कालीन सञ्चार सचिव र हालका मुख्यसचिव बैकुण्ठ अर्यालसँग पनि बयान लिइसकेको छ।
त्यस्तै आयुक्त राईले वाइडबडी खरिद प्रकरणको छानबिन अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय स्तरबाट सूचना ल्याउन कठिन भइरहेको र दुईपक्षीय सम्झौता नभई सूचना दिन नसक्ने जवाफ आएकाले सरकारले यसमा ध्यान दिनुपर्ने उहाँले बताउनु भयो ।
उक्त प्रकरणमा अन्य मुलुकबाट सूचना लिनका लागि सम्बन्धित देशसँग सरकारले सहमति गरिदिनुपर्ने उहाँले भनाइ थियो । मुलुक बाहिरबाट पनि भ्रष्टाचार हुने गरेकाले सरकारले द्वीपक्षीय सहमति गर्नुपर्ने आयुक्त राईले बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच