काठमाडौं । इटालीको मिलानमा हुने प्रथम विश्व ओलम्पिक बक्सिङ छनोट प्रतियोगितामा नेपालबाट दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । पेरिस ओलम्पिक छनोटको आधार रहेको प्रतियोगिताको पुरुष ५१ केजीमा चन्द्रबहादुर थापा र महिला ५४ केजीमा अञ्जली तेलीले नेपालको चुनौती प्रस्तुत गर्ने हुनुभएको हो । अञ्जली आइबा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा क्वाटरफाइनल पुगेर नेपाली बक्सिङमा इतिहास रच्नुभएको खेलाडी हो ।
टिम व्यवस्थापकमा नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारी तथा प्रशिक्षकमा प्रचण्ड शर्मा रहनुभएको छ । मार्च ३ देखि ११ तारिखसम्म हुने प्रतियोगिताका लागि चार सदस्यीय नेपाली टोली बिहीबार इटाली प्रस्थान गर्नेछ । ओलम्पिकको बक्सिङमा नेपालले सहभागिता नजनाएको ३२ वर्ष भइसकेको छ । सन् १९९२ मा स्पेनको बार्सिलोनामा भएको २५औँ संस्करणदेखि नेपालले ओलम्पिकको बक्सिङमा सहभागिता जनाएको छैन ।
नेपाल बक्सिङ महासंघका उपाध्यक्ष श्यामकाजी अवालेले पाँच महादेशबाट ६८ पुरुष र ७५ महिला खेलाडी पेरिस ओलम्पिकका लागि छनोट भइसकेको जनाउनुभएको छ । इटालीको प्रतियोगिताबाट २८ पुरुष र २१ महिला खेलाडी पेरिस ओलम्पिकका लागि छानिनेछन् । उपाध्यक्ष अवालेका अनुसार पदक प्राप्त गर्ने खेलाडी पेरिस ओलम्पिकका लागि छनोट हुनेछन् । इटालीपछि पनि पेरिस ओलम्पिकका लागि अझै एक छनोट प्रतियोगिता हुनेछ । त्यो प्रतियोगिता थाइल्याण्डको बैंककमा मे महिनामा हुने तालिका छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवाले, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टलगायतले टोलीलाई सफलताको शुभकामना दिँदै एक कार्यक्रमबीच बुधबार बिदाइ गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य-सचिव घिसिङले भन्नुभयो, ‘नेपालले ओलम्पिकको बक्सिङमा सहभागिता नजनाएको ३२ वर्ष भएछ । यो लामो समय हो । सायद अबको समय तपाईं दुईजनाको हुन सक्छ । उत्कृष्ट प्रदर्शन गरेर आफूलाई प्रमाणित गरी इतिहास रच्नुस् । तपाईंहरूलाई शुभकामना छ ।’ सदस्य-सचिव घिसिङले पेरिस ओलम्पिकका लागि परिषद्ले नयाँ ढंगले तयारी अगाडि बढाउने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच