पर्यटनमन्त्रीको देउवा लक्षित टिप्पणी : ‘सात पटक प्रधानमन्त्री भइसक्दासमेत अत्तोपत्तो छैन’

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किराँतीले नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लक्षित अमर्यादित (भद्दा) टिप्पणी गर्नुभएको छ ।

बिहीवार वायुसेवा सञ्चालक संघ, नेपालको २३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले नेपालमा सात पटकसम्म प्रधानमन्त्री हुनेकुरा चिनामै लेखिसकेको भन्दै अमर्यादित टिप्पणी गर्नुभएको हो । सार्वजनिक कार्यक्रममै मन्त्रीले पूर्वप्रधानमन्त्री लक्षित भद्दा टिप्पणी गर्नु आफैँमा अशोभनीय हो । तर नेपाली राजनीति वृत्तमा यस प्रकारका घटनाक्रमलाई सामान्य रुपमा लिने गरिन्छ ।

कार्यक्रममा बोल्दै मन्त्री किराँतीले वायुसेवा सञ्चालक संघ, नेपालमा क्याप्टेन रामेश्वर थापाले चार पटकसम्म संघको नेतृत्व गरेको प्रसंग निकाल्दै नेपालमा सबै पदहरु लामै खाने चलन रहेको टिप्पणी गर्नुभयो । नेपालमा मन्त्री पनि लामो समयसम्म भइरहन पाए हुने र प्रधानमन्त्री पनि सात पटकसम्म चिनामा देखि नै सक्यो भन्दै आफ्नो धारणा राख्नुभयो । पछिल्लो वाक्यमा केही वाक्यांश मिलाएर मन्त्री किराँतीले कतिपय स्थानमा आवश्यकता र बाध्यताले पनि हुनसक्ने बताउनु भयो ।

उहाँले वायुसेवा सञ्चालक संघ, नेपालमा सर्वसम्मतिले नेतृत्व चयन भएको भन्दै उहाँले पद छोड्नेले सानो मन गर्न नहुने समेत बताउनु भयो ।

उहाँले केही उदाहरण दिँदै गौतमबुद्धले दरबार त्यागेर ठूलो हुनुभएको, नेलशन मण्डेला एक पटक मात्रै राष्ट्रपति भएर पद त्याग्दा ठूलो हुनुभएको बताउनु भयो । उहाँले पुनः देउवाप्रति लक्षित गर्दै सात पटक प्रधानमन्त्री भइसक्दासमेत अत्तोपत्तो नभएको भन्दै भद्दा टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘चार पटक रामेश्वर सरले सञ्चालन गर्नुभएछ । यसको जन्मकालदेखि अहिलेसम्म २३ वर्ष भएछ । २३ वर्षको अवधिमा । हुनतः नेपालमा सबै पदहरु लामै खाने चलन छ । हाम्रो देशमा मन्त्री पनि लामै खान पाए हुन्थ्यो, प्रधानमन्त्री पनि सात पटकसम्म चिनामा देखि नै सक्यो । तर यो आवश्यकता र बाध्यताले पनि हुनसक्छ । तर सौहाद्रपूर्ण ढंगले जसरी आफ्नो दायित्व हस्तान्तरण गुर्नभएको छ, यो संस्थाको संरक्षक भएर मार्गनिर्देशन गर्दै बस्नुहुनेछ । पद छोड्नेले सानो मन गर्नु पर्दैन । त्यागेर पनि ठूलो भइन्छ भन्नेकुरा संसारमा देखिएको छ । गौतमबुद्धले दरबार त्यागेर ठूलो हुनुभएको हो । नेलशन मण्डेला एक पटक मात्रै राष्ट्रपति भएर पद त्याग्दा ठूलो हुनुभएको हो । आज पनि अमर हुनुहुन्छ । तर यहाँ सात पटक प्रधानमन्त्री भइसक्यो । अत्तोपत्तो छैन । महात्मा गान्धी पनि त राष्ट्रपति,प्रधानमन्त्री हुनुभएन । त्यसकारण पद मात्रै ठूलो कुरा होइन । जीवनमा गरेका योगदान मुख्य कुरा हो ।’

उहाँले हवाई क्षेत्र बिना पर्यटनको परिकल्पना गर्न नसकिने बताउनु भयो । उहाँले नेपालमा निजी क्षेत्रको व्यवसाय र लगानी भएपनि बजारमुखी नभएको जिकिर गर्नुभयो । उहाँले ऐन, कानून परिमार्जन गरी प्रणालीमा सुधार गर्नसके पर्यटन क्षेत्रमा धेरै ठूलो फड्को मार्नसक्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?