
काठमाडौं । विसंं २००७ का प्रजातान्त्रिक योद्धा तथा जननायक रामप्रसाद राईको ११५औं जन्मजयन्ती शुक्रबार काठमाडौंमा एक समारोहको आयोजना गरी मनाइएको छ । पूर्वमन्त्री तथा वरिष्ठ साहित्यकार प्रदीप नेपालको प्रमुख आतिथ्य एवं प्रतिष्ठानका कार्यबाहक अध्यक्ष टंकप्रसाद श्रेष्ठको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो । उक्त अवसरमा इतिहासविद् प्रा.डा.गोविन्दमानसिंह कार्कीले २००७ सालको क्रान्तिमा रामप्रसाद राईले दिएको योगदानको चर्चा गर्दै नेपालको वर्तमान राजनीतिक परिवर्तनको संवाहक प्रजातान्त्रिक योद्धा राई नै रहेको विचार व्यक्त गर्नुभयोे । ‘तर, अहिलेको शासन व्यवस्था संविधानले परिकल्पना गरेअनुरूप भने सञ्चालन नभएकोमा हामीलाई चिन्ता लागेको छ’ उहाँले भन्नुभयो ।
प्रतिष्ठानका महासचिव देवान राईले संस्थाका गतिविधिमाथि प्रकाश पार्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको जग तयार पारिदिने प्रजातान्त्रिक योद्धालाई राज्यले वास्ता नगरेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘राज्यले योद्धा राईलाई राष्ट्रिय विभूति घोषणा गरी सम्मान व्यक्त गर्नुपर्दछ अन्यथा इतिहासले धिक्कार्ने छ ।’
कोषाध्यक्ष इन्दिरा पोखरेलले संस्थाको आर्थिक अवस्थाका बारेमा प्रकाश पार्नु भएको थियो भने रेडियो वाचक अच्युत घिमिरे ‘बुलबुल’ले प्रदीप नेपालद्वारा लिखित रामप्रसाद राईको जीवनीमा आधारित उपन्यास ‘क्रान्तिवीरको सपना’को श्रव्य-किताब तयारीका क्रममा उपन्यास वाचन गर्दा गौरव महसुस भएको बताउनुभयो । स्वागत मन्तव्य सदस्य शान्ति देवानले व्यक्त गर्नुभएको थियो । कार्यक्रममा श्रव्य-किताब ‘क्रान्तिवीरको सपना’ सार्वजनिक भएको थियो । कार्यक्रम संस्थाका सदस्य भरत ढकालले सहजीकरण गर्नुभएको थियो ।
कर्ण घलेको नेतृत्वमा नयाँ कार्यसमिति
प्रतिष्ठानको ११औं अधिवेशनले वरिष्ठ समाजसेवी कर्ण घलेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको दुई उपाध्यक्षमा शशी लुमुम्बू, इन्दिरा पोखरेल, महासचिवमा शान्ति देवान, सचिवमा प्रमिला राई, सहसचिवमा विशाल राई र कोषाध्यक्षमा इन्दिरा भट्टराई ओझा चयन हुनुभएको छ । सदस्यमा भरत ढकाल, सर्वधन राई, डिल्लीबहादुर राई (डिबि सरोज) र मनिकुमार राईलाई चयन गरिएको छ । अधिवेशनले प्रतिष्ठाको संरक्षकमा प्रदीप नेपाललाई चयन गरेको छ भने सल्लाहकारमा तारादेवी राई, शेरधन राई, विशाल भट्टराई, प्रा.डा.गोविन्दमानसिंह कार्की, पारुहाङ राई, देवान राई र गोपीकृष्ण न्यौपानेलाई मनोनयन गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच