हुम्लामा हिमपात (तस्बिरसहित)

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 5 mins

हुम्ला । हिमाली जिल्ला हुम्लामा शनिबार रातिदेखि हिमपात भएको छ । शनिबार दिउँसो सदरमुकाम सिमकोटसहित होचो स्थानमा पानी परेको थियो । भने उत्तरी उच्च भेगमा हिमपात भएको हो ।

रातीदेखि हिमपात हुँदा सिमकोट, नाम्खा लगायतका भेग सेताम्ये देखिएका छन् । सिमकोटमा तीन इन्चसम्म हिउँ जमेको छ । उत्तरी भेगमा त्यो भन्दा बढी हिउँ जमेको लिमी स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी गोर भण्डारीले बताउनुभयो । लिमी अहिले पनि सामान्य हिमपात हुनुका साथै चिसो अत्याधिक बढेको स्वास्थ्यकर्मी भण्डारीले बताउनुभयो ।

सिमकोटसहित क्षेत्रमा आइतबार विहान हिउँ रोकिएपनि अहिले बाक्लो बादल लाग्नुका साथै हिउँ पर्न सुरु भएको छ । यतिबेला परेको हिउँले किसान उत्साहित भएका छन् । फागुन महिनाको अन्त तिर परेको हिउँले कात्तिके बालीका लागि खेतमा खनजोत गर्न सजिलो हुनुका साथै बिउबिजन छर्न समेत सहज हुने भएको किसान प्रेम भण्डारीले बताउनुभयो । फागुन महिनाको अन्तिमदेखि चैत पहिलो साताबाट जिल्लाका किसानले खुर्सानी, मकै छर्न सुरु गर्ने भएको उहाँले बताउनुभयो । त्यस लगत्तै कोदो, चिनो र आलु रोप्नका लागि खेत मलिलो बनाउन सुरु गर्ने गरेको उहाँले बताउनुभयो । यो पटक परेको हिउँले जमिन भिज्नुका साथै किसानलाई खनजोत गर्न सहज हुने भएको छ ।

यस्तै जिल्लाका एक मात्रै अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई यातायातको साधन दुई दिन अवरुद्ध भएको छ । शनिबार दिनभर पानी पर्दा अवरुद्ध भएको हो भने आइतबार विहानैदखि जिल्लामा बाक्लो हुस्सु लागेका कारण अवरुद्ध हुन पुगेको हो । हवाई सेवा अवरुद्ध हुँदा जिल्ला बाहिर जाने यात्रु सिमकोटमै रोकिएका छन् । नेपालगञ्ज, सुखेर्तदेखि यात्रु सिमकोट आउन सकेका छैनन् । व्यवसायी, निर्माण कम्पनी, खाद्यान्न सागम्री ढुवानी हुन सकेको छैन ।

जिल्लामा मंसिर,पुस माघ तीन महिना हिमपात भएको थिएन् । फागुनदेखि हिउँ पर्न सुरु भएको हो । जिल्लामा पाँचौ पटक हिमपात भएको हो ।

तस्बिरहरु हेर्नुहाेस्

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?