काठमाडौं । चार भाषामा निर्माण भएको ऐतिहासिक चलचित्र गोर्खा वारियर शुक्रबारबाट दोस्रो सातामा प्रदर्शन भइरहेको छ । यो चलचित्र दोस्रो साता पनि देशका करिब ६५ वटा सिनेमा हलमा प्रदर्शन भइरहेको यसका निर्देशक मिलन चाम्सले जानकारी दिनुभयो । यसैबीच उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार अपराहृन जमलस्थित विश्वज्योति सिनेप्लेक्समा चलचित्र ‘गोर्खा वारियर’ हेर्नुभएको थियो ।
चलचित्र हेरेपछि गृहमन्त्री श्रेष्ठले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भन्नुभयो, ‘गोर्खा वारियर चलचित्रमा वीरताको कथासँगै नेपाली मौलिकता, गाउँको परिवेश, संस्कृतिलाई समावेश गरिएको छ ।’ निर्माण पक्षलाई बधाई दिँदै उहाँले यस्ता चलचित्र निर्माणलाई संख्यात्मक रुपमा बढाउन आग्रह गर्नुभएको थियो । लामो समयपछि आफूले निकै राम्रो चलचित्र हेर्न पाएको बताउँदै उहाँले यसका निर्माता सुमन राई, निर्देशक मिलन चाम्सलगायत टिमलाई बधाई दिनुभएको थियो । आउँदा दिनमा पनि यस्ता चलचित्र निर्माण गर्न उहाँले सुझाब दिनुभयो ।
यो चलचित्रलाई यसअघि काठमाडौंको प्रिमियरमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली, संस्कृति मन्त्री सुदन किराती, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद ज्ञानेन्द्र शाहीसहित विभिन्न नेताले हेरेर यो चलचित्रको तारिफ गर्नुभएको थियो । चलचित्रका वितरण संयोजक करण क्रेजीले दोस्रो सातामा पनि गोर्खा वारियरलाई दर्शकले साथ दिएको बताउनुभयो ।
गोर्खा वारियरमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सुरज तमु, सारा राईलगायत कलाकारले अभिनय गर्नुभएको छ । पहिलोपटक बेलायतस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिनेवल्र्डमा प्रिमियर भएर विश्वलाई नेपाली चलचित्रको स्तरीयता र महत्व दर्शाउन सफल ‘गोर्खा वारियर’को नेपालमा पनि धरान, पोखरा र काठमाडौंमा प्रिमियर गरिएको थियो । यो चलचित्र गत ११ फागुनबाट नेपालमा प्रदर्शन भइरहेको छ ।
लण्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा सुमन राई र सुस्मिता वाइवा रहनुभएको छ । यसमा कार्याकारी निर्मातामा प्रशान्त थापा र सह-निर्मातामा रूपमा सुरेश राई हुनुहुन्छ ।
‘गोर्खा वारियर’ मा सन् १९४९ मा मलाया जंगलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा यो चलचित्रमा प्रस्तुत गरिएको यसका निर्देशक मिलन चाम्सले जानकारी गराउनुभयो । उहाँका अनुसार यो चलचित्र नेपाली, अंग्रेजी, कोरियन र हिन्दी गरी चार भाषामा तयार भएको छ । नेपाली भाषाको सिनेमा अहिले प्रदर्शन भइरहेको छ भने बाँकी तीन भाषाको चलचित्र पनि प्रदर्शनमा आउने चाम्सले जानकारी गराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच