काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी लगायतका दलहरू सम्मिलित सत्ता गठबन्धन भत्किएर एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतको नयाँ गठन बनेपछि पुनगर्ठित मन्त्रिपरिषद्मा तीनजना बिनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसँग नवनियुक्त मन्त्रीहरू एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट उपसभापति डोलप्रसाद अर्यालले मन्त्री पदको शपथ लिनुभएको हो । शपथ लिने तीनैजना प्रतिनिधि सभाका सांसदहरू पूर्व-मन्त्रीसमेत हुन् । ४७ वर्षीय गिरी पर्वत क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित हुनुभएको थियो । उहाँ २०७९ पुसमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा करिब दुई महिना स्वास्थ्य तथा जनसंख्यामन्त्री हुनुभएको थियो । माओवादी केन्द्रका केन्द्रीय सदस्य रहनुभएका नवनियुक्त मन्त्री तामाङ २०६६ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री हुनुभएको थियो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीबाट बिदा भएको १३ महिनामा रास्वपा उपसभापति डोलप्रसाद अर्याल पुनः बिनाविभागीय मन्त्री नियुक्त हुनुभएको छ । अर्याल समानुपातिक कोटाबाट २०७९ मा प्रतिनिधि सभाको सदस्य चुनिनुभएको हो । नवनियुक्त मन्त्रीहरूले कुन मन्त्रालय सम्हाल्ने भन्ने तय भइसकेको छैन । नयाँ गठबन्धन दलभित्र कसले कुन मन्त्रालय लिने भन्ने समझदारी बनिसकेको छैन । त्यसैले सोमबार सानो आकारमा मन्त्रिपरिषद् गठन गरिएको हो ।
म नमर्दासम्म उथलपुथल भई नै राख्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरिएको राजनीतिक समीकरण निरन्तरतामा क्रमभंगता भएको दाबी गर्नुभएको छ । पटक–पटक निरन्तरतामा क्रमभंगता गर्ने माओवादीको विशेषता नै रहेको माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले माओवादी जमेर बस्ने पोखरी नभई गड्गडाउँदो नदी भएको दाबी गर्दै भन्नुभयो, ‘माओवादी जहिले पनि सिद्धान्त र व्यवहारका दृष्टिकोणले जमेर बस्ने पोखरीजस्तो होइन, गड्गडाएर बग्ने नदीजस्तो हो । माओवादी निरन्तरतामा रमाएर बस्ने होइन, निरन्तरतामा क्रमभंगता गर्दै रमाउने जात हो ।’
प्रतिक्रियावादीले उपयोग गर्न खोजे लात्ताले हानेर निस्कने चेतावनी
प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रतिक्रियावादीहरूले उपयोग गर्न खोजे जुनसुकै बेला लात्ताले हानेर निस्कने चेतावनी दिनुभएको छ । आफूलाई कतिपयले अविश्वसनीय भने पनि आफू त्यस्तो नभएको दाबी गर्दै प्रचण्डले भन्नुभयो, ‘मलाई कतिपयले अनप्रेडिक्टेवल भन्छन् तर म श्रमिक, घाइते, अपांग र नेपाल राष्ट्रप्रति प्रेडिक्टेवल नै छु । उनीहरूप्रति इमानदार हुने कुरामा त म जहिले पनि निरन्तर कायम छु । तर, प्रतिक्रियावादीहरूले मलाई उपयोग गर्न खोजे भने म कुनै पनि बेला लात्ताले हानेर निस्कन सक्छु ।’
राजनीतिमा जस्तो फेरबदल आए पनि मिसन ०८४ छोड्दैनौँ : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिमा जे-जस्तो फेरबदल आए पनि मिसन ०८४ नछाड्ने बताउनुभएको छ । देशको परिस्थिति अलि छिटोछिटो हिँड्न खोजेको बताउँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘जे जति परिवर्तन भए पनि हामी मिसन ८४ छाड्दैनौँ । एमालेलाई निर्णायक शक्तिको रूपमा विकास गर्ने उद्देश्यका साथ मिसन-८४ भनेको हो । त्यसको मापन मात्र निर्वाचनले गर्छ । एमाले निर्णायक शक्ति भए मात्र राष्ट्रियता र सार्वभौमसत्ताको रक्षा हुन्छ ।’ सत्ता समीकरणमा भएको फेरबदलले देश भत्ताभुंग अवस्थाबाट सकारात्मक अवस्थातिर फर्किने ओलीको दाबी छ ।
प्रचण्ड धोकेबाज रहेछन् : देउवा
प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई छाडेर नेकपा एमालेसँग गठबन्धन गर्ने निर्णय लिएपछि कांग्रेस शीर्ष नेताहरू सोमबार बालुवाटार पुगेका थिए । गठबन्धनको बैठकका लागि कांग्रेस सभापति शेरबहादुर देउवा सोमबार बिहान ८ बजे पदाधिकारीसहित बालुवाटार जाने तयारीमा हुनुहुन्थ्यो । तर, बालुवाटारबाट बैठक स्थगितको सूचना आयो । लगत्तै सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्का मात्र प्रधानमन्त्रीलाई भेट्न पुग्नुभयो । भेटमा प्रधानमन्त्रीले कांग्रेस र माओवादी गठबन्धनलाई निरन्तरता दिन नसकिने निष्कर्षमा आफू पुगेको सुनाउनुभएको थियो । कांग्रेस नेताहरूले किन ? भन्ने प्रश्न गरेका थिए । जवाफमा माओवादी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले कोशी प्रकरण, महासमिति बैठक लगायतका कारण देखाउनुभयो । लगत्तै, देउवाले पदाधिकारीहरूसँग छलफल गर्नुभएको थियो । बैठकमा सभापति देउवाले गठबन्धनलाई बलियो बनाउन आफू हरसम्भव प्रयास गरेको बताउनुभएको थियो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पटक-पटक भेट्न प्रस्ताव गर्दासमेत गठबन्धन तलमाथि होला कि भनेर आफूले टार्दै आएको भन्दै सभापति देउवाले पदाधिकारी बैठकमा भन्नुभयो, ‘यसले (प्रचण्डले) धोका दियो । प्रचण्डले अहिले गरेका तर्कहरू बहाना मात्र हुन् । अहिले नभए दुई/चार महिनापछि पनि धोका नै दिने रहेछ । धोकेबाज रहेछ ।’
कांग्रेसलाई तत्काल घाटा भए पनि दीर्घकालमा फाइदा : कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता गठबन्धन टुट्दा निर्वाचनको ‘म्याण्डेट’को पालना नभएको टिप्पणी गर्नुभएको छ । सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा सोमबार बिहान बसेको पदाधिकारी र पूर्व-पदाधिकारीको बैठकपछि डा. कोइरालाले गठबन्धन टुट्दा कांग्रेसलाई तत्कालका निम्ति घाटा भए पनि दीर्घकालमा फाइदा हुने बताउनुभयो । ‘गठबन्धन टुट्दा तत्कालका लागि घाटा देखिन्छ । हाम्रा केन्द्र सरकारका मन्त्री, प्रदेश सरकारमा मुख्यमन्त्री र मन्त्रीहरूका पद गएका छन् । उहाँहरूले सरकारबाट जनतामा डेलिभरी दिने अवसर टुटेको छ, तर, यसको माने यो होइन कि कांग्रेसले सब चिज गुमायो । कांग्रेसलाई अर्को अवसर आएको छ, जनतामा जाने र पार्टी निर्माण गर्ने’, कोइरालाले भन्नुभयो । कांग्रेसले आफूलाई जनताकेन्द्रित गरेपछि कसैसँग गठबन्धनको बाध्यता हटेर जाने उहाँको तर्क थियो । कोइरालाले हिजो पनि कांग्रेस एक्लै निर्वाचनमा प्रतिस्पर्धा गर्ने पक्षमा रहेको भन्दै नेकपा (माओवादी केन्द्र)को आग्रहमा गठबन्धन गर्नुपरेको जिकिर गर्नुभयो ।
अप्रत्याशित र अविश्वसनीय ढंगले गठबन्धन भत्कियो : लेखक
कांग्रेसले प्रधानमन्त्री प्रचण्डले अप्रत्याशित र अविश्वसनीय ढंगले गठबन्धन तोडेको प्रतिक्रिया दिएको छ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भन्नुभयो, ‘प्रधानमन्त्री प्रचण्डजीले अप्रत्याशित र अविश्वसनीय ढंगले गठबन्धन भत्काउनुभयो । कांग्रेसले अब रचनात्मक प्रतिपक्षीको भूमिका खेल्छ ।’
राप्रपा वर्तमान सत्ताकेन्द्रित चलखेलमा सामेल छैन : लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी नयाँ गठबन्धनमा सामेल नहुने स्पष्ट पार्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसको साथ छाड्दै नेकपा एमाले सहितको नयाँ गठबन्धन बनाएपछि राप्रपाले के गर्छ ? भन्ने सर्वत्र चासो रहेका बेला अध्यक्ष लिङ्देनले भन्नुभयो, ‘राप्रपा वर्तमान सत्ताकेन्द्रित चलखेलमा सामेल छैन र हुँदैन । वर्तमान समस्याको समाधान सरकार परिवर्तन होइन अवस्था परिवर्तन हो । र, मुलुकको यो अवस्थामा परिवर्तनका लागि वर्तमान भ्रष्ट व्यवस्थाको अन्त्य अहिलेको आवश्यकता हो । राप्रपा अहिले यही बाटोमा छ ।’ यसअघि पुस १० मा बनेको एमाले सहितको गठबन्धनमा भने राप्रपा सामेल भएको थियो ।
नयाँ गठबन्धनमा मधेश सरकारबारे ठोस निर्णय हुनुपर्छ : जनमत
जनमत पार्टीले नयाँ सत्ता गठबन्धनभित्र मधेश प्रदेश सरकारका विषयमा ठोस निर्णय हुनुपर्ने बताएको छ । सोमबार बसेको सचिवालय बैठकमा जनमतले मधेशमा जनता समाजवादी पार्टीकै नेतृत्वमा फेरि सरकारमा सहभागी नहुने निर्णय गरेको पार्टीका सचिव बिपी साहले जानकारी दिनुभयो । मधेशमा जनमत र जसपाबीच भुइँतहसम्म मनमुटाव रहेको देखिन्छ । कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा झडपै भएपछि सरकारमा सहभागी जनमत पार्टीले आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाएर समर्थनसमेत फिर्ता लिएको थियो । त्यस्तै, यसअघि पनि आलोपालो मधेश सरकारको नेतृत्व गर्ने सहमति भए पनि लागू नभएको जनमतको ठहर छ । संघ सरकारमा सम्मानजनक हिस्सेदारी भएको अवस्थामा सरकारमा जानेबारे निर्णय गरिने पनि सचिव साहको भनाइ छ ।
नेपालको नयाँ गठबन्धनमा भारतीय मिडियाले जोडे चीन
प्रधानमन्त्री प्रचण्डले एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीसँग बनाएको नयाँ गठबन्धनबारे भारतीय सञ्चार माध्यमले प्राथमिकताका साथ समाचार प्रकासित गरेका छन् । कतिपयले राष्ट्रियसभा अध्यक्षको विषयले नेपाली कांग्रेस र माओवादी केन्द्रबीचको सहकार्य टुटेको लेखेका छन् भने कतिपयले चीनको भूमिकाका कारण गठबन्धन फेरबदल भएको जिकिर गरेका छन् । हिन्दुस्तान टाइम्सले राष्ट्रियसभा अध्यक्षको दाबीका कारण कांग्रेस र माओवादी केन्द्रको समीकरण टुटेको समाचार लेखेको छ । हिन्दुस्तान टाइम्सले सरकार फेरबदलमा प्रचण्ड माहिर रहेको पनि उल्लेख गरेको छ । माओवादी केन्द्र र कांग्रेसको दूरी अर्थमन्त्री प्रकाशशरण महतको कार्यशैलीका कारण बढेको द हिन्दुमा समाचार छ । यस्तै, अमर उजालाले राष्ट्रिय सभाध्यक्षकै विवादका कारण कांग्रेस र माओवादीको गठबन्धन टुटेको समाचार लेखेको छ । नवभारत टाइम्सले भने माल्दिभ्सपछि चीन नेपालमा पनि सरकार परिवर्तन गर्न सफल भएको समाचारमा उल्लेख गरेको छ । एमाले र माओवादी केन्द्रको गठबन्धन बनाउन चीन सफल भएको समाचार उसले लेखेको छ । नयाँ समीकरण बनाउन चिनियाँ राजदूतले भूमिका खेलेको नवभारत टाइम्सको समाचारमा उल्लेख छ । इण्डियन एक्सप्रेसले करिब १७ महिनापछि वाम गठबन्धन बनेको उल्लेख गरेको छ । पहिला पनि चीनको चाहनामा वाम गठबन्धन बनेकाले यसपटक पनि त्यो सम्भावना रहेको समाचारमा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच