
पेरिस । इरानले गत वर्ष कम्तीमा ८३४ जनालाई मृत्युदण्ड दिएको दुई अधिकार समूहले मंलबार बताएका छन् । इरानमा मृत्युदण्डको सजाय बढ्दै गर्दा उक्त संख्या सन् २०१५ यताकै उच्च हो । इरानले हालैका वर्षमा फाँसी दिएर कार्यान्वयन गरेको मृत्युदण्डको संख्या सन् २०२२ मा करिब ४३ प्रतिशतले बढेको छ । नर्वेस्थित हृयुमन राइट्स (आइएचआर) र पेरिसस्थित टुगेदर अगेन्स्ट द डेथ पेनाल्टीको संयुक्त प्रतिवेदनमा एक वर्षमा आठ सयभन्दा बढी मृत्युदण्डको सजाय दुई दशकमा यो दोस्रो पटक भएको बताएका छन् । सन् २०१५ मा नौ सय ७२ लाई मृत्युदण्ड दिइएको थियो ।
दुवै समूहले इरानमाथि सन् २०२२ सेप्टेम्बरमा महसा अमिनीको प्रहरी हिरासतमा भएको मृत्युपछि अधिकारीहरूलाई हल्लाएको विरोध प्रदर्शनका क्रममा इरानले समाजमा डर फैलाउनका लागि मृत्युदण्डको सजायको प्रयोग गरेको आरोप लगाएका छन् ।
आइएचआरका निर्देशक महमुद अमिरी–मोघद्दमले प्रतिवेदनमा भन्नुभएको छ, ‘सामाजिक त्रास उत्पन्न गर्नु भनेको सत्तामा टिकिरहने शासनको एकमात्र तरिका हो र मृत्युदण्ड यसको सबैभन्दा महत्वपूर्ण साधन हो ।’ प्रतिवेदनमा आठ सय ३४ को आँकडालाई ‘आश्चर्यजनक कुल’ भनिएको छ ।
अधिकार समूहहरूका अनुसार इरानले सन् २०२२ को विरोध प्रदर्शनहरूमा सुरक्षा बलमाथि हमलासँग सम्बन्धित मामिलामा नौजनालाई मृत्युदण्ड दिएको छ । तीमध्ये सन् २०२२ मा दुई, सन् २०२३ मा छ र सन् २०२४ मा एक जनालाई मृत्युदण्ड दिइएको छ ।
यद्यपि अन्य आरोपहरूमा मृत्युदण्डको सजयालाई बढाइएको छ । विशेषगरी हालैका वर्षमा गिरावट देखिएको लागूपदार्थसम्बन्धी मामिलामा मृत्युदण्डको सजाय बढेका छन् । ‘सन् २०२३ मा लागूपदार्थसँग सम्बन्धित मृत्युदण्डको सङ्ख्यामा नाटकीय वृद्धि हुनु विशेष चिन्ताको विषय हो, यो बढेर चार सय ७१ सम्म पुगेको छ । सन् २०२० मा रेकर्ड गरिएको आँकडाको तुलनामा यो १८ गुणा बढी हो’, प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदनमा जातीय अल्पसंख्यकका सदस्यहरू विशेषगरी इरानको दक्षिणपूर्वबाट सुन्नी बलुचलाई लागुपदार्थसँग सम्बन्धित आरोपमा ‘मृत्युदण्ड दिइएका मानिसहरूमा अत्यधिक प्रतिनिधित्व गरिएको’ बताइएको छ । समग्रमा बलुच अल्पसंख्यकका कम्तीमा १६७ सदस्यलाई मृत्युदण्ड दिइएको छ । यो सन् २०२३ मा कुल मृत्युदण्ड संख्याको २० प्रतिशत हो । बलुच अल्पसंख्यकको जनसंख्या इरानमा केवल पाँच प्रतिशतको हाराहारीमा छ । रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच