काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले आमउपभोक्ता उद्योगी व्यापारीको सिण्डिकेटबाट पीडित रहेको बताउनुभएको छ । तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा आयोजित बजारमा बढ्दो सिण्डिकेट प्रणाली र आमउपभोक्तामा परेको असर विषयक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । कमिसनखोर तथा कालाबजारी मौका छोपेर उपभोक्ता हित संरक्षणविपरीत उपभोग्य वस्तुमा कालोबजारी तथा आफूखुसी मूल्यवृद्धि गर्ने कार्य भइरहेको भन्दै खानले त्यस्ता कार्य रोक्न समितिले सरकार र सरोकारवाला निकायलाई पटक-पटक निर्देशन दिँदै आएको भए पनि निर्देशन पालना नभएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सम्माननीय राष्ट्रपतिदेखि श्रमिकसम्म हामी सबै उपभोक्ता हौँ । हामी उपभोक्ता सचेत भएमात्र बजारमा देखिएको विकृत्ति अन्त्य हुन्छ । त्यसका लागि उपभोक्ताले गुणस्तरहीन वस्तु बिक्रीवितरण र सिण्डिकेट भएको अवस्थामा सम्बन्धित सरकारी निकायमा खबर गर्नुपर्छ । सचेत उपभोक्ता बन्नुपर्दछ ।’ गुणस्तरहीन वस्तु बिक्रीवितरण गरेमा क्षतिपूर्तिको माग दाबी गर्दै मुद्दा हाल्नसमेत खानले सुझाव दिनुभयो ।
कार्यक्रममा काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बजारमा देखिएको विकृति न्यूनीकरणका लागि उपभोक्ता नै सचेत हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘बजारमा सिण्डिकेट व्याप्त रहेको छ । त्यो सबै कुरा हामीलाई थाहा हुँदैन । बजारको विषयमा हामीभन्दा पनि बढी उपभोक्तालाई बढी थाहा हुन्छ । त्यसैले उपभोक्ता सचेत हुनुपर्दछ । उपभोक्ता हितविपरीतका गतिविधि भएको थाहा भएमा हामीलाई उजुरी गर्नुहोस् । हामी कारबाही गर्छाैँ ।’
प्रमुख जिल्ला अधिकारी बस्नेतले आफूले पाएको जिम्मेवारी सबैले बहन गर्नुपर्ने भन्दै संघीय प्रणालीअनुसार तीनवटै सरकारले बजार अनुगमनको जिम्मेवारी पाएको बताउनुभयो ।
प्रहरी अतिरिक्त महानिरीक्षक सोमेन्द्रसिंह राठौरले बजारमा देखिएको सिण्डिकेट तोड्न नेपाल प्रहरीले हदैसम्म निर्मम कोसिस गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बजारमा उपभोक्ता हितविपरीतका गतिविधि भइरहेका छन् । त्यसलाई रोक्न नेपाल प्रहरीले हरसम्भव कोसिस गरिरहेको छ । यदि तपार्इंहरूले पनि त्यस्ता गतिविधि भएको जानकारी पाएमा नेपाल प्रहरीलाई १०० मा जानकारी दिनुहोला ।’
उद्योग वाणिज्य तथा आपूर्ति हित संरक्षण विभागका महानिर्देशक तीर्थराज चिलुवालले बजारमा जताततै सिण्डिकेट रहेको स्वीकार गर्दै त्यसलाई रोक्न विभाग सक्रिय भएर लागेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘बजारमा सिण्डिकेट व्याप्त छ । पोल्ट्री व्यवसाय, खानेपानी, सिमेन्ट, डण्डी, चिनी, बंैकिङ क्षेत्र, स्वास्थ्य सेवामा समेत सिण्डिकेट छ । यसको अन्त्य हुनुपर्छ भन्ने मान्यताका साथ विभाग सक्रिय भएर लागेको छ ।’
पछिल्लो समय पाँचतारे होटलमा समेत अखाद्य वस्तुको प्रयोग भइरहेको जानकारी गराउँदै उनीहरूलाई पनि विभागले कारबाही गरेको बताउनुभयो । राजस्व अनुसन्धान विभागका उपमहानिर्देशक नवराज अधिकारीले स्वस्थ र स्वच्छ बजार निर्माणका लागि उपभोक्ता, व्यापारी, नियमनकारी निकाय सबै सक्रिय हुनुपर्ने बताउनुभयो । व्यापारी तथा व्यवसायी राजस्व छलीका गतिविधिमा संलग्न भएको भन्दै त्यस्ता अनुचित गतिविधि रोक्न विभाग सक्रिय भएको दाबी गर्नुभयो ।
दुग्ध वितरण आयोजना बालाजुका प्रमुख गणेश यादवले दुग्ध विकास संस्थान पनि सिण्डिकेटमा परेको गुनासो गर्दै भन्नुभयो, ‘बजारमा बिक्रीवितरण भइरहेको दुग्ध पदार्थमध्ये ७० प्रतिशत खुद्रा व्यापारी र ३० प्रतिशतमात्र दूध उद्योगीले उत्पादन गरेको दुग्ध पदार्थ खपत भइरहेको छ । जसका कारण गुणस्तरहीन दुग्ध पदार्थ उपभोक्ताले प्रयोग गर्न बाध्य छन् ।’ संस्थानले भने गुणस्तरीय दुग्ध पदार्थ बिक्री गरिरहेको दाबी उहाँको दाबी थियो ।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले नेपाली जनता बिचौलियाको मारमा परेको भन्दै दूध, चिनी, माछामासु, तरकारी, चामललगायतमा सिण्डिकेट र कार्टेलिङ हुँदै आए पनि राज्यले कारबाही नगरेको गुनासो गर्नुभयो । राजनीति र बजार एकै ठाउँमा सञ्चालित भएका कारण उपभोक्ता मारमा परेको उहाँको भनाइ थियो । कार्यक्रममा समाचारपत्र दैनिकका सम्पादक सागर पण्डितले राज्य संयन्त्र नै माफिया, तस्कर र बिचौलियाको नियन्त्रणमा रहेकाले आमउपभोक्ता मारमा परेको बताउनुभयो । व्यवसायीले विष बिक्री गर्दा पनि सरकारी संयन्त्र मौन रहेको उहाँको भनाइ थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच