
विराटनगर । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा कर्णाली र लुम्बिनी विजयी भएका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा भएको पहिलो खेलमा कर्णाली प्रदेशले विभागीय टोली एपिएफ क्लबलाई ५१ रनले पराजित गरेको छ । जितसँगै कर्णाली समूह ‘ए’मा चार खेलमा दुईमा जित र दुईमा पराजित हुँदै चार अंकका साथ शीर्षस्थानमा उक्लिएको छ ।
टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाई एक सय ६५ रन बनाएको थियो । कर्णालीका लागि प्लेयर अफ द म्याच अर्जुन घर्तीले ३४ बलमा दुई छक्का र दुई चौका प्रहार गरी अविजित ५५ रन बनाउँदा विपिन रावलले ३६ बलमा तीन छक्का र दुई चौका प्रहार गरी ४२ रन र रविन्द्र शाहीले ३५ रनको योगदान दिनुभयो ।
एपिएफका रमेश कुर्मी, चन्दन राम, भुवन कार्की, अमर रौटेला र इर्साद अहमदले एक-एक विकेट लिनुभयो । जवाफमा एक सय ६६ रनको लक्ष्य पाएको एपिएफले निर्धारित २० ओभरमा छ विकेट गुमाई एक सय १४ रनमात्र बनाउन सक्यो । एपिएफका अमर रौटेलाले ३७ बलमा एक छक्का र दुई चौका प्रहार गरी ३७ रन, हिमांसु दत्तले २५ र पुरन विकले १८ रनको योगदान दिनुभयो । कर्णालीका दीपेन्द्र रावतले दुई विकेट लिँदा रविन्द्र साहले पनि दुई विकेट तथा प्रकाश जैशीले एक विकेट लिनुभयो ।
दोस्रो खेलमा लुम्बिनीले बागमती प्रदेशलाई सात विकेटले पराजित गर्दै सेमिफाइनल नजिक पुगेको छ । लुम्बिनी यो लगातार तीन खेलमा शतप्रतिशत नजिता निकाल्दै छ अंकका साथ समूह ‘बी’को शीर्षस्थानमा छ ।
लुम्बिनीले यसअघि गण्डकी र सुदूरपश्चिमलाई पराजित गरेको थियो । टस जितेर ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा आठ विकेट गुमाई १५३ रनको योगफल तयार पारेको थियो । बागमतीका कप्तान रित गौतमले ३३ बलमा एक छक्का र चार चौका प्रहार गरी ४३ रन बनाउँदा आशुतोष घिरैयाले २८, उत्तम मगरले २५ र इसान पाण्डेले २१ रनको योगदान दिनुभयो । लुम्बिनीका चाहुल चौहानले तीन विकेट लिँदा कृष्ण कार्कीले दुई विकेट लिनुभयो । जवाफमा १५४ को लक्ष्य पछ्याएको लुम्बिनीले कप्तान देव खनालको शतकले १७ दशमलब दुई बलमा तीन विकेट गुमाई लक्ष्य पार गरेको थियो ।
लुम्बिनीको जितमा कप्तान खनाल एक सय रनमा अविजित रहनुभयो । उहाँले ५१ बलमा सात छक्का र सात चौका प्रहार गरी शतक पूरा गर्नुभयो । खनालको शतक कोशी प्रदेश ट्रफीमा पहिलो शतक हो । त्यस्तै, विशालविक्रम केसीले अविजित २७ रन बनाउनुभयो ।
बागमतीका विपिन आचार्य, गौतम केसी र कृजन गुरुङले एक-एक विकेट लिनुभयो । आइतबारको पहिलो खेल गण्डकी र नेपाल पुलिस तथा दोस्रो खेल आर्मी र मधेश प्रदेशबीच हुने मोरङ क्रिकेट संघका अध्यक्ष महमद सादबाबु कुरैसीले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच