काठमाडौं । निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले आफूले बजेटमा सुशासन कायम गर्न खोज्दा प्रधानमन्त्री पुष्पकमल दाहाल रिसाएको आरोप लगाउनुभएको छ । आफूले अर्थमन्त्रीका रूपमा जथाभावी नगर्दा दुरूपयोगको आरोप लागेको भन्दै उहाँले सर्वसाधारणबाट करमार्फत् उठेको रकमलाई प्रधानमन्त्रीले जथाभावी प्रयोग गर्न भनेको र आफूले नमान्दा दुरूपयोगको आरोप लगाइएको बताउनुभएको हो ।
मंगलबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सजगता अपनाउँदै फजुल खर्च गरिएन ।’ मलाई साधारण खर्चलाई जथाभावी बाँड्ने र खन्याउने छुट थिएन । जनताबाट उठेको करलाई सही स्थानमा लगानी गर्नुपर्छ । मन्त्रीका रूपमा काम गर्दा पार्टी र व्यक्ति नरहेरै सर्वसाधारणको पक्षमा काम गरेको छु । दुरूपयोग नगर्दा, सुशासन कायम गर्दा, अनावश्यक फजुल खर्च नगर्दा दुरूपयोग हुने हो ?’
त्यसैगरी उहाँले आफूले अर्थतन्त्रलाई खराब स्थितिबाट लयमा ल्याएको दाबीसमेत गर्नुभयो । माओवादी–कांग्रेस गठबन्धन टुट्नुका विविध कारणमध्ये मुख्य कारणका रूपमा तत्कालीन अर्थमन्त्री महत नै रहेको आरोपको खण्डन गर्दै उहाँले अर्थ मन्त्रालयको आफूले जिम्मेवारी लिँदा अर्थतन्त्रको अवस्था खराब रहेको र ११ महिनामा निकै सुधार भएको दाबी गर्नुभएको हो ।
नेपाल राष्ट्र बैंकबाट प्रकाशित पछिल्लो समीक्षाबाट अर्थतन्त्र लयमा फर्केको स्पष्ट रहेको उहाँको भनाइ थियो । निवर्तमान अर्थमन्त्री महतले भन्नुभयो, ‘सर्वसाधारणलाई मूल्यवृद्धि होला कि भन्ने चिन्ता थियो, अर्थ मन्त्रालयको जिम्मेवारी लिँदा आठ प्रतिशतको मूल्यवृद्धि थियो, जुन यतिबेला पाँच प्रतिशतमा आइपुगेको छ ।’ कोरोनाकालमा राष्ट्र बैंकले लिएको कसिलो मौद्रिक नीति पनि अर्थतन्त्र बिग्रनुको कारण रहेको उहाँले बताउनुभयो ।
तर, पछिल्लो समय घरजग्गा कारोबारदेखि अन्य सूचक सकारात्मक बन्दै गएको, पर्यटन व्यवसायले गति लिएको र होटल रेष्टुरेन्ट व्यवसायले गति लिएको, १८ सय अंकबाट बढेर सेयर बजार परिसूचक २१ सय अंकभन्दा माथि पुगेको, गत वर्षको तुलनामा १० प्रतिशतभन्दा बढी राजस्व वृद्धि भएको उहाँले बताउनुभयो ।
त्यसो त उहाँले अर्थमन्त्र बिग्रनुमा एमाले पनि दोषी रहेको आरोप लगाउनुभयो । पछिल्ला वर्षमा बजेटरी प्रणालीमा ठूलो चाप आइरहेको र सोको मुख्य कारण अघिल्लो सरकार रहेको उहाँको जिकिर थियो । निवर्तमान अर्थमन्त्री महतले भन्नुभयो, ‘अघिल्लो सरकारले बजेट सुनिश्चितता नै नगरेर देशभरि सयौँ आयोजना अघि बढायो, सोही कारण बजेटमाथि अनावश्यक भुक्तानी सिर्जना भयो । बजेट सुनिश्चितता नै नगरेर अघि बढाइएका आयोजनाका कारण सरकारमाथि अत्यधिक स्रोतको सिर्जना भएको छ । यसलाई सन्तुलनमा ल्याउन कठिन छ ।’
त्यस्तै, चालु आर्थिक वर्षमा विश्व बैंकले नेपालको आर्थिक वृद्धि पाँच प्रतिशत हुने प्रक्षेपण गरेको र गत वर्ष दुर्ई प्रतिशतमा सीमित आर्थिक वृद्धि चालु वर्षमा पाँच प्रतिशत बढी हुने प्रक्षेपण आफ्नै नेतृत्वमा गरेको कामको परिणाम भएको उहाँले जिकिर गर्नुभयो ।
सरकारमा बसेर आफूले दोस्रो चरणको आर्थिक सुधार अघि बढाएको र विदेशी लगानी भिœयाउने गरी काम गरेको भन्दै निवर्तमान अर्थमन्त्री महतले विदेशी लगानी भिœयाउनका लागि विभिन्न ऐन, कानुन संशोधन गर्न संसद्मा पठाउने गरी काम सुुरु भएको, गत वर्षको तुलनामा विदेशी लगानी बढेको, वैशाखमा आयोजना गर्ने तयारी भइरहेको लगानी सम्मेलनमा विश्वभरबाट लगानीकर्ताले चासो व्यक्त गरेका, आगामी असारमा विश्व बैंकले सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने संस्थाको सम्मेलन नेपालमा गर्ने तय भएको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेसका कारणले औसतभन्दा धेरै उपलब्धि भएन भनेर दोषारोपण गर्नु भ्रमपूर्ण र झुट हो । म ठोकुवा गर्छु, हाम्रो उपस्थितिले अर्थतन्त्रमा गुणात्मक सुधार ल्याएको थियो ।’
त्यसैगरी आफ्नो कारण नभई प्रधानमन्त्रीकै कारण नयाँ स्टक कम्पनीको लाइसेन्स रोकिएको पनि उहाँले दाबी गर्नुभएको छ । तत्कालीन समयमा प्रधानमन्त्रीले नै नयाँ स्टकका बारेमा थप अध्ययनपछि मात्रै निर्णय गर्ने भनेर रोकेको महतको जिकिर थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच