गरिबको भान्सामा पाक्नै छाड्यो चिनो

नन्दराम जैशी
Read Time = 8 mins

सुर्खेत । कुनैबेला गरिबको खाना भनेर चिनिने चिनोको चामल हाल गरिबको भान्सामा पाक्नै छाडेको छ । उत्पादकबाहेक अन्य सामान्य परिवारले यो चामल खरिद गरेर खान मुस्कि बनेपछि चिनोको भात धनिको भान्सामा मात्रै पाक्न थालेको हो ।

चिनो माथिल्लो कर्णालीमा फल्ने लोपोन्मुख खाद्यबाली हो । कुनैबेला अनिकाल परेपछि जुम्ला, हुम्ला, कालिकोटलगाएत माथिल्लो कर्णालीका नागरिकले भोक टार्न यही चिनोको चामल खाने गर्थे । ‘जात फाल्नु चिनोको भातमा’ भन्ने उखान अहिले पनि कर्णालीमा प्रचलित छ । यसको अर्थ हुन्छ, किनेर धानको भात खाने क्षमता नभएकाले मात्र चिनोको चामल प्रयोग गर्नु ।

केही बर्षअघिसम्म सम्पन्न परिवारले चिनोको चामल खेतलालाई ज्यालास्वरूप पनि दिन्थे । तर अहिले यही चामल एकाएक सम्पन्न परिवारको प्रमुख रोजाइमा परेको छ । चिनोको भात मन नपराउनेले पनि अहिले खोजी खोजी खान थालेका छन् । गरिबको भान्सामा पाक्दै आएको चिनोको महत्व बुझेपछि हाल यसको मागसँगै मुल्य पनि महंगिएको हो ।

कुनैबेला सित्तैमा दिने चिनोको चामलको बजार मूल्य अहिले प्रतिकिलो तीन सय रुपैयाँभन्दा माथि छ । जबकी सेतो मन्सुली चामलको मूल्य प्रतिकिलो स्तर हेरेर ९० रुपैयाँ बढी पर्दैन । माथिल्लो कर्णालीका जिल्लामा पाखो बारीमा फल्ने चिनोका लागि खासै दुःख पनि गर्नुपर्दैन । तर यसको खेती घट्दो क्रममा छ ।

खिर लगाएतका परिकार खान यो चामल निकै स्वादिष्ट मानिन्छ । यसको महत्व बुझ्दै गएपछि चिनोको मूल्य र माग एक्कासी आकासिएको हो । ‘पहिले पहिले भान्सामा यो भात पाक्दा कसैले थाहा पाइहाले लाज हुन्छ कि ? भन्दै चनाखो हुनुपर्ने अवस्था थियो’ जुम्ला तातोपानीका गौरीसंकर गौतमले भने, ‘तर हाल चिनोको चामल किन्न नाक खुम्च्याउनुपर्ने अवस्था छैन । फुर्तीका साथ खोजी खोजी पानुपर्ने अवस्था छ ।’

कर्णालीमा घुम्न आउने पर्यटकले समेत पछिल्लो समय चिनोको परिकार निकै रूचाउन थालेका छन् । तर मागअनुसार चिनो उत्पादन हुन नसकेको कृषि विकास कार्यालय जुम्लाका कृषि विज्ञ बालकराम देवकोटा बताउँछन् । उहाँका अनुसार दुई दशक अघिसम्म कर्णालीका नागरिकले जौ र कोदोपछि सबैभन्दा धेरै चिनो खेती नै गर्थे । तर उपभोग हुनछाडेपछि विस्तारै खेती पनि छाड्दै गएका थिए ।

‘हाल बजारमा माग बढी र उत्पादन कम हुँदा फेरी किसानहरु चिनो खेतीतर्फ आकर्षित भएका छन्’ उहाँले भन्नुभयो, ‘कृषि कार्यालय पनि उत्पादन बृद्धिसँगै बाली संरक्षणमा लागेको छ ।’

चिनोको भातभन्दा खिर, केकलगायत परिकार निकै मिठो हुने गरेको उपभोक्ता बताउँछन् । जीवनयापनमा सन्तुलन नमिल्दा अधिकांश सहरिया सुगर रोगले पनि पीडित छन् । बिना औषधि सुगर निको पार्ने सजिलो उपाय चिनो सेवन नै रहेको विज्ञ बताउँछन् । परिकार मिठो हुने र स्वास्थ्यका लागि पनि राम्रो भएकाले यसको माग बढेको हो ।

यस्तै चिनोको सेवनले स्मरण शक्ति वृद्धि गर्ने, उच्च रक्तचाप घटाउने, हड्डी बलियो बनाउन मद्दत गर्छ । पछिल्लो समय सडक सञ्जालको पहुँच भएसँगै कर्णालीका रैथाने उत्पादनले बजार पाएको छ । वीरेन्द्रनगरमा बसेर लामो समयदेखि अर्गानिक वस्तु बेच्दै आएनुभएका जुम्लाका व्यापारी मानबहादुर रावतले बजार माग अनुसार चिनो पुर्‍याउन नसकिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पहिले पहिले हामीजस्ता विपन्नले मात्रै चिनोको भात खान्थ्यौं, त्यही पनि पाहुना आएका बेला इज्जत जाने डरले सेतो चामल किन्नु बाध्यता थियो । तर अहिले चिनोको भात खान विशेष दिन कुनुपर्छ ।’

केहि बर्षपहिले समाजका ठूलाबडाले आफ्नो घरमा उत्पादन भएको चिनोको चामल गरिबलाई दिने र आफूले बजारको सेतो चामल किनेर खाने प्रवृत्ति थियो । जसले गर्दा केही वर्ष चिनो खेती लोप नै हुने अवस्थामा पुगेको थियो । हाल जुम्ला भित्रिने अधिकांश पर्यटकको प्रमुख खाना चिनो नै हुने गरेको होटल व्यवसायी नोर्बु लामा बताउँनुहुन्छ ।

प्याकेजिङ र लेबलिङपछि पर्यटकका माध्यमबाट हाल स्वदेश तथा विदेशमा पनि चिनोको चामल पुगेको चन्दननाथ सहकारी संस्थाद्वारा संचालित सुर्खेतमा रहेको अर्गानिक मिनी मार्केटले जनाएको छ । केहि बर्षअघि मेडिकल व्यवसायी दुर्गा प्रसाँइको भान्सामा पाकेको जुम्ली मार्सी चामलको भात तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र पुस्पकमल दाहाल प्रचण्डले खाएर फोटो सार्वजनिक गरेपछि जुम्ली मार्सीको ब्रान्ड बनेको थियो ।

तर मार्सीभन्दा प्रतिकिलोमा झन्डै एक सय रुपैयाँ बढी छ चिनोको मूल्य । यसको अँझै प्रचार गर्नसके चिनोको उत्पादन र किसानको आम्दानीमा वृद्धि हुने देखिन्छ । भने स्वयं कर्णालीका नागरिक पनि आयातित सेतो चामल किन्नुपर्ने बाध्यताबाट मुक्त हुनसक्छन् ।

विगत चार, पाँच बर्षयता अर्गानिक उत्पादन तथा परिकारको माग अत्यधिक बढ्न थालेको अर्गानीक मिनी मार्केट जुम्लाका संचालक ऋषिराम पाण्डे बताउनुहुन्छ । उहाँका अनुसार पर्यटकहरुलाई चिनो र मार्सी चामल लगाएतका वस्तु पुर्याउन नै धौ धौ भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?