
पोखरा । गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) ले प्रदेश सभा सचिवालयलाई दलीय आबद्धता त्यागेको पत्र बुझाउनु भएको छ ।
आइतबार गुरुङले स्वतन्त्र सांसदकै हैसियत कायम गरिदिन प्रदेश सभा सचिवालयलाई पत्रमार्फत आग्रह गर्नुभएको हो । गुरुङले प्रदेशसभा सचिव हरिराज पोखरेललाई दल त्याग गरेको जानकारी गराउनु भएको छ ।
४ मंसिर २०७९ को प्रदेशसभा चुनावमा मनाङबाट स्वतन्त्र हैसियतमा चुनाव जित्नुभएको मनाङे ले त्यसको १५ दिनपछि १९ मंसिरमा नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नुभएको थियो ।
'केन्द्रकै गठबन्धन गण्डकीमा कायम रहे पनि एमाले(माओवादी गठबन्धनलाई बहुमत पुर्याउन सहज अवस्था देखिँदैन । त्यसो हुँदा मौजुदा गण्डकी प्रदेश सभा विघटन हुने र मध्यावधिमा जान सक्ने खतरा देखिन्छ', उहाँले भन्नुभएको छ, 'आफू मध्यावधि चुनाव गरेर देशको ढुकुटी सक्ने कुराको विपक्षमा रहेको र अघिल्लो प्रदेश सभामा पनि विपक्षमै उभिएको उहाँको तर्क छ।
त्यसैले आफूले एकीकृत समाजवादी त्याग गरेको उहाँले बताउनु भएको छ ।
‘स्वतन्त्र रूपमा म जनताको मन जितेर निर्वाचित भएको हुँ र आजको मितिदेखि नेकपा एकीकृत समाजवादी दलको सांसदको मान्यता र संसदीय अभिलेख सच्चाई स्वतन्त्र सांसदको अभिलेख कायम गरिदिन माग गर्दछु,’ उहाँले पत्रमार्फत भन्नुभएको छ ।
मनाङेले कांग्रेसको सरकारलाई समर्थन गर्न सक्ने देखिएको छ । २१ फागुनमा एमाले-माओवादीसहितको गठबन्धन बनेपछि गण्डकीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिनुपर्ने अवस्थामा छ।
कांग्रेसबाट निर्वाचित पाण्डेले २२ फागुनमै माओवादी केन्द्रका मन्त्री बर्खास्त गर्नुभयाे । माओवादीले पनि समर्थन फिर्ता लिइसकेको छ ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसको २७, एमालेको २२, माओवादी केन्द्रको सभामुखसहित ८, राप्रपाको २ र स्वतन्त्र सांसद दीपक मनाङे हुनुहुन्छ । गण्डकीमा अहिलेसम्म राप्रपा निर्णायक देखिएको छ ।
यो स्थितिमा मुख्यमन्त्रीले विश्वासको मत पाउने अवस्था छैन भने एमाले - माओवादीले पनि सरकार बनाउन सक्ने अवस्था छैन । नयाँ गठबन्धनले सरकार गठनको तयारी गरिरहँदा गुरुङको दल त्यागपछि गण्डकीको राजनीतिमा नयाँ मोड आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच