काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कोशी प्रदेश सरकारले आयोजना गर्न लागेको अन्तर्राष्ट्रियस्तरको चिया सम्मेलनमा सहकार्य गर्ने भएको छ । एनआरएनएको काठमाडौंस्थित सचिवालयमा आयोजित एक कार्यक्रममा नेपालमा उत्पादित चियालाई विश्व बजारमा व्यापक प्रचार–प्रसार गरी निर्यात प्रवद्र्धनका लागि कोशी प्रदेश सरकारबाट आयोजना गर्न लागिएको अन्तर्राष्ट्रियस्तरको चिया सम्मेलनमा एनआरएनएले पनि सहकार्य गर्नेसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरिएको हो ।
कोशी प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइराला र एनआरएनए अध्यक्ष डा. बद्री केसीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको एनआरएनएले जनाएको छ ।एनआरएनए अध्यक्ष डा. केसीले आगामी जुन २१ देखि २३ सम्म आयोजना हुने सम्मेलनका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउनुका साथै विभिन्न देशबाट सम्मेलनमा सहभागी हुन चाहने चिया खरिद, बिक्रीकर्तालगायत सरोकारवाला तथा अन्य अन्तर्राष्ट्रियस्तरका पाहुनाको नेपाल आगमनका लागि सहज वातावरण बनाउन सम्बन्धित देशका दूतावासलगायत नेपाल सरकारका सरोकारवाला निकायसँग आवश्यक समन्वयलगायतमा आवश्यक सहजीकरण गर्ने बताउनुभयो ।
संघ र प्रदेशबीचको सहमतिपत्रमा नेपालकै सबैभन्दा बढी चिया उत्पादन हुने कोशी प्रदेशमा लगानीका लागि पहिचान भएको चिया क्षेत्रको अझ बढी विश्व बजारीकरण गर्ने वातावरण तयार पार्न चिया क्षेत्रमा संलग्न किसान, उद्योगी, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका व्यापारी, विभिन्न संघ संस्थालगायत सबै सरोकारवाला पक्षलाई सामूहिकरूपमा एउटै मञ्चमा भेला गराई अन्तरक्रिया तथा छलफलका लागि चिया उत्पादन हुने आगामी सिजनमा अन्तर्राष्ट्रिय चिया सम्मेलन गरी नेपाली चिया विश्व बजारमा परिचित गराउन बढीभन्दा बढी चियाको माग सिर्जना गरी उत्पादन, बिक्रीवितरण र निर्यात प्रवद्र्धनलगायतका विषयमा सहकार्य गर्ने उल्लेख छ । चिया सम्मेलन आयोजक कमिटीमा संघतर्फबाट महिला उपाध्यक्ष रोजिना प्रधान राईलाई संघका तर्फबाट प्रतिनिधि तोकिएको छ ।
कार्यक्रममा एनआरएनए महिला उपाध्यक्ष रोजिना प्रधान राई, महिला सचिव राधिका गुरुङ (टीका), संघका सल्लाहकार टिबी कार्की र अतुल कोइराला, भुवन खराल (आइसिसी सदस्य), एनआरएन फाउण्डेसनका अध्यक्ष रामप्रताप थापा, हङकङका लागि पर्यटन प्रवद्र्धन दूत तेजप्रकाश पुन, राजु शर्मा लिम्बू, (नेपाल चिया एसोसिएसन समाज), कमलराज मैनाली, केदारमणि पौडेल (नेपाल चिया संघ), डा. एकनारायण चापागाईं (नेचर हिमालय टी) लगायतको उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच