काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले केही दिनभित्रै किसानले दूधको भुक्तानी पाउने बताउनुभएको छ ।
नेपाल डेरी एसोसिएसन र नेपाल दुग्ध विकास संस्थानको सहकार्यमा काठमाडौंको धुम्बाराहीस्थित प्रोलिफिक माध्यमिक विद्यालयका बालबालिकाबीच सोमबार आयोजित दूधपान कार्यक्रममा उहाँले अर्थ मन्त्रालयले दूध किसानको भुक्तानीका लागि ३० करोड रकम पठाइसकेको र एक हप्ताभित्र किसानको हातमा पु-याउने गरी कृषि मन्त्रालय लागिरहेको बताउनुभएको हो ।
विद्यार्थीलाई दिवाखाजामा एक गिलास दूध अनिवार्य खुवाउने कार्यक्रम ल्याउनसमेत आफूले पहल गर्ने बताउनुभयो । मन्त्री साहले खपत नभएको दूध छुर्पी, चिज, आइसक्रिमजस्ता अन्य दुग्धजन्य पदार्थ बनाएर विदेशमा पनि निर्यात गर्न पहल गर्दै किसानका समस्या समाधानमा मन्त्रालय केन्द्रित रहने उहाँले बताउनुभयो ।
पशुसेवा विभागका महानिर्देशक डा. उमेश दाहालले सरकारी र निजी विद्यालयमा दूध तथा दुग्धजन्य पदार्थ अनिवार्य खुवाउन सरकारले पहल गर्ने बताउनुभयो । केही समयदेखि दुग्ध क्षेत्रतर्फ देखिएको समस्या समाधान गर्न नवनियुक्त मन्त्रीको नेतृत्वमा पहल सुरु भइसकेको उहाँको भनाइ थियो ।
नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रहृलाद दाहालले नवनियुक्त मन्त्रीको सक्रियताले दूधको भुक्तानी नपाएका किसानले केही दिनमा नै भुक्तानी पाउने अवस्था सिर्जना भन्दै आगामी दिनमा बाँकी किसानका समस्यासमेत समाधान गर्न सक्रिय भएर लाग्न मन्त्री साहलाई आग्रह गर्नुभयो ।
पछिल्लो समय एसोसिएसनले विद्यालयमा दूध खुवाउने कार्यक्रम अभियानकै रूपमा अघि बढाएको जानकारी गराउँदै उहाँले आगामी दिनमा सरकारले नै यस्ता कार्यक्रम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । कृषि उद्यम केन्द्रका उपसभापति राजकुमार कार्कीले देशको अर्थतन्त्र बलियो बनाउन कृषि क्षेत्रलाई प्राथमिकता दिएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो । अध्यक्ष दाहालका अनुसार प्रोलिफिक माध्यमिक विद्यालयमा रहेका करिब पाँच सय विद्यार्थीलाई दूधपान गराइएको थियो ।
कार्यक्रममा बागमती प्रदेशका सांसद जयराम थापा, राष्ट्रिय दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक डा. बालक चौधरी, दुग्ध उत्पादक सहकारी संघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटा, महासचिव राम आचार्य, डेरी एसोसिएसनका उपाध्यक्ष दीपप्रसाद धमला, मनोजकुमार घिमिरे, बागमती प्रदेशका उपाध्यक्ष धु्रव तिवारी, गोपाल तिमल्सिना, सचिव श्याम घिमिरे, एसोसिएसन काठमाडौंका अध्यक्ष अजित बजगार्इं तथा विद्यालयका प्रधानाध्यापक गोपाल महतलगायतको सहभागिता रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच