काठमाडौं । माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराको बयान लिन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले तयारी सुरु गरेको छ । सोमबार कपिलवस्तुबाट रोल्पा जाँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएपछि महरालाई काठमाडौं ल्याएर चार दिन म्यादसमेत थप गरेर अनुसन्धान अघि बढाइएको हो ।
विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याएको नौ किलो सुन तस्करी गरेको गिरोहलाई सघाएको उनीमाथि मुख्य आरोप छ । यही प्रकरणमा पहिले उन्मुक्ति दिए पनि गृह मन्त्रालय र सिआइबीको नेतृत्व फेरिएपछि महरालाई पुनः अनुसन्धानको दायरामा ल्याइएको हो । सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनले पनि उनीमाथि पुनः अनुसन्धान गरेर पूरक अभियोग दर्ता गर्न भनेको छ ।
सिआइबीका अनुसार महरामाथि सुन तस्करलाई सहयोग गरेको अर्थात् मतियारको आरोपमा अनुसन्धान हुने भएको छ । सोमबार अदालतको अनुमति लिँदा नै प्रहरीले महरा संगठित रूपमा सुन तस्करी कसुर गर्न चिनियाँ मूलका दावाजिन वाङ समेतलाई सहयोग गरी संगठित अपराध निवारण ऐन, २०७० को दफा ३ र दफा ४ बमोजिम मतियारको कसुरदारको रूपमा भूमिका निर्वाह गरेको आधार प्रस्तुत गरेको छ । मतियारको कसुरमा मुख्य कसुरदारको भन्दा आधा सजाय हुने कानुनी व्यवस्था छ ।
विभिन्न रोग लागेको र आफू अस्वस्थ रहेको बताएका महराको स्वास्थ्य उपचारको व्यवस्था गर्न पनि अदालतले निर्देशन दिएका कारण महरालाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ । मंगलबार दिनभर उनलाई अस्पतालमै राखिएको र त्यहाँ सिआइबी निगरानी गरिरहेको छ । सिआइबीले बुधबारदेखि महराको विषयमा जाँचबुझ आयोगको प्रतिवेदनलाई आधार बनाएर अनुसन्धान अगाडि बढाएको हो । यसअघिको अनुसन्धानमा औँल्याएका त्रुटि र अब गर्नुपर्ने विषय पनि प्रतिवेदनमा निर्देशित गरिएको छ । त्यसैलाई आधार बनाएर अनुसन्धान अगाडि बढाएको सिआइबीको भनाइ छ ।
घटनाबारे बेखबर भएको महराको जवाफ
त्यसो त महरालाई भैरहवाबाट काठमाडौं ल्याएर सिआइबीको कार्यालय पु¥याउँदा पनि सिआइबी अधिकारीले प्रारम्भिक बयान लिएको थियो । त्यतिबेला उनले केही बोलेनन् । आफूमाथि लगाइएको आरोपको बारेमा अनभिज्ञता प्रकट गरे । सिआइबीका अधिकारीहरूसँग उनले आफूलाई यस विषयमा थाहै नभएको र दसौँ वर्ष पहिलेको कुरा याद पनि नभएको भनेका थिए ।
चिनियाँ नागरिकले तस्करी गरी ल्याएको सुन प्रकरणमा महरा र उनका छोरा राहुल संलग्न रहेको प्रतिवेदन यसअघि नै सिआइबीले सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सिआइबीले महरा बाबुछोराको संलग्नता देखाए पनि मुद्दा चलाउन आँट गरेन ।
भन्सारले सुरुमा पक्राउ गरेपछि चिनियाँ नागरिकले सिगरेट नै भएको दाबी गर्दै छुटाउन विभिन्न व्यक्तिमार्फत दबाब दिएका थिए । महराका बाबुछोराले पनि यही दबाब दिएको यसअघिका प्रतिवादीहरूले बयान नै दिइसकेका छन् । चिनियाँ नागरिकहरू लुई र दावाजिङ वाङसँग कृष्णबहादुर महराको पटक–पटक सम्पर्क देखिएको थियो ।
सुन तस्करसँग महरा बाबुछोराको सम्पर्क र संलग्नताबारे सिआइबीले तयार पारेको रेखाचित्र सार्वजनिक भएपछि सार्वजनिक रूपमा व्यापक आलोचना भयो । त्यसबखत गृहमन्त्री नारायणकाजी श्रेष्ठ हुनुहुन्थ्यो । उहाँले माओवादी नेता तथा तिनका परिवारलाई छानीछानी जोगाएको आरोप लागेपछि छोरा राहुल महराविरुद्ध निकै पछि पूरक अभियोगपत्र लगिएको थियो । उनी हाल पुर्पक्षका लागि कारागारमा छन् ।
कारबाही गर्न जाँचबुझ आयोगको प्रतिवेदन नै मुख्य आधार
छोरा कारागार जाँदा कागज मात्रै गरेर छुटेका बाबु कृष्णबहादुर भने जाँचबुझ आयोगको प्रतिवेदनपछि मात्रै कारबाहीको दायरामा आउन लागेका हुन् । चिनियाँ नागरिकले दुबईबाट तस्करी गरी ल्याएको नौ किलो सुन भन्सार कार्यालयले २०७९ पुसमा समातेको थियो । तस्करहरूले भन्सारका कर्मचारीको मिलेमतोमा भेपमा लुकाएर ल्याएको सुन चोरेर सो स्थानमा भेप नै राखिदिएका थिए ।
भन्सारले सुरुमा पक्राउ गरेपछि चिनियाँ नागरिकले सिगरेट नै भएको दाबी गर्दै छुटाउन विभिन्न व्यक्तिमार्फत दबाब दिएका थिए । महराका बाबुछोराले पनि यही दबाब दिएको यसअघिका प्रतिवादीहरूले बयान नै दिइसकेका छन् । चिनियाँ नागरिकहरू लुई र दावाजिङ वाङसँग कृष्णबहादुर महराको पटक–पटक सम्पर्क देखिएको थियो ।
कृष्णबहादुर महरा र राहुल महरा भन्सार अधिकृतको बयानमा पनि जोडिएका थिए । भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठले बयानका क्रममा उक्त सुनको बारेमा महराका बाबुछोराले नै चासो राखेको बयान दिएका थिए । अधिकृत श्रेष्ठले कृष्णबहादुर महराले आफूलाई टेलिफोन गरी भन्सार जाँचपास गरिदिन भनेको बयान दिएका थिए । यही विषयमा छोरा राहुलले पनि फोन गरेको उनको बयान थियो ।
तर, यसरी संलग्नता खुलाए पनि मुद्दा नचलाएपछि सिआइबीका प्रमुखसहित अनुसन्धान अधिकृतहरूमाथि नै जाँचबुझ आयोगले प्रश्न उठाएको छ । आयोगको प्रतिवेदनपछि सिआइबीका प्रमुख किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा, डिएसपीहरू रुगम कुँवर र दुर्गा दाहाललाई सिआइबीबाट प्रहरी प्रधान कार्यालय तानिएको छ । सिआइबीको प्रमुखमा एआइजी श्यामलाल ज्ञवालीलाई पठाइएको छ । अब महरालगायत अन्य भिआइपीमाथि ज्ञवालीले कति निर्भीकताका साथ अनुसन्धान अघि बढाउँछन् भन्ने विषय आमचासो बनेको छ ।
महरा पक्राउप्रति बाबुरामको टिप्पणी– ‘आफैँले पालेको खसी काट्नु ठूलो कुरा होइन’
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सुन तस्करी प्रकरणमा हालै पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराबारे टिप्पणी गर्नुभएको छ । उहाँले पञ्चायत कालको एक प्रसंग स्मरण गर्दै आफैँले पालेको खसी काटेर चोखिन खोजिएको हो कि ? भन्ने आशंका व्यक्त गर्नुभयो ।
‘मलाई सम्झना आउँछ । पञ्चायत कालमा एकचोटि राजाका एडिसी र तत्कालीन प्रहरी प्रमुख नै समातिएका थिए । म पत्रकारितामा पनि रुचि राख्थेँ । त्यतिबेला राजेश्वर देवकोटा भन्ने पञ्चायतका ठूलै नेता हुनुहुन्थ्यो । उहाँको अन्तर्वार्ता लिन जाँदा त्यस घटनाबारे भन्नुभएको थियो– बाबु, आफूले पालेको खसी काट्नु कुन ठूलो कुरा हो ? राजाको शासन कालमा त्योभन्दा धेरै बोल्नुभएन । अहिले यी सबै प्रकरणमा पनि आफैँले पालेको खसी काटेर चोखिन खोजेको त होइनन् ? भन्ने आशंका जनतामा जन्मिएको छ’, उहाँले भन्नुभयो ।
महराले भुरेभारे भने पनि सुन तस्करी प्रकरणमा पक्राउ परेका सबैभन्दा ठूला राजनीतिज्ञ हुन् उनी । उनले सो समयमा यस काण्डमा ठूला माछा पनि छन् भनेका थिए । अब ती ठूला माछा उनीभन्दा माथि को छन् त ? त्यो खोज्नु हालका गृहमन्त्रीलाई अर्को चुनौती थपिएको छ ।
भट्टराईले सबै अनियमितता छानविनका लागि एउटा उच्चस्तरीय अंग बन्नुपर्ने बताउनुभयो । त्यसले सबैमाथि छानविन गरेर स्वतन्त्र र निष्पक्ष ढंगले कारबाही गर्ने हैसियत राख्नुपर्छ र गरिनुपर्छ भन्ने आफ्नो भनाइ रहेको बताउनुभयो । ‘यहाँ त एउटा सत्तामा आएको छ, अर्कोलाई आरोप लगाएको छ । आफ्नालाई चोख्याउने र अरूलाई फसाउने हुन्छ । के हो, के हो, ठेगान पनि छैन । फेरि साना माछा र ठूला माछा भन्ने कुरा पनि छन् । ठूला माछाको संरक्षणका लागि साना माछालाई फसाइएको पनि हुनसक्छ’, उहाँले भन्नुभयो ।
महराको त्यो अभिव्यक्ति, जहाँ भनेका थिए, ‘म त भुरे माछा मात्र हुँ’
तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराको एउटा अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा एकदमै भाइरल भइरहेको छ । जसमा उनले नेपालमा ठूला ठूला माछाहरू रहेको र आफूलाई भुरे माछा भनिरहेका छन् । उक्त अभिव्यक्ति २०७३ पुस २९ गते अर्थ मन्त्रालयले पोखरामा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रमको हो । उक्त समयमा नेपालमा सुन तस्करीको जालोको विषयमा व्यापक चर्चा भइरहेको थियो । जहाँ उनले आफ्नो बचाउ पनि गरेका छन् ।
२०७३ पुस २१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको ३३ किलो सुन समातिएपछि महराको नाम जोडिएको थियो । उनले सो कार्यक्रममा बोलेका थिए, केही दिन अघिको सुन तस्करीबारे कुरा आछ, सुन्नुभाहोला’, महराले भने, ‘मेरो नामै सुन तस्करीमा जोडेर आछ । जुन सुन तस्करी अहिले मैले सबै डिटेलमा भन्न चाहँदिनँ, धेरै ठूला माछाहरू छन् यसमा । त्यो समय क्रममा बाहिर आउँछ । हामी त भुरेभारे मात्र हौँ ।’
महराले भुरेभारे भने पनि सुन तस्करी प्रकरणमा पक्राउ परेका सबैभन्दा ठूला राजनीतिज्ञ हुन् उनी । उनले सो समयमा यस काण्डमा ठूला माछा पनि छन् भनेका थिए । अब ती ठूला माछा उनीभन्दा माथि को छन् त ? त्यो खोज्नु हालका गृहमन्त्रीलाई अर्को चुनौती थपिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच