सुविन र दिलशा च्याम्पियन

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । आर्मीका सुविन श्रेष्ठ र कास्कीकी दिलशा राना इनास अपी स्पोर्ट्स जुनियर ब्याडमिन्टन च्याम्पियनसिपमा च्याम्पियन बन्नुभएको छ । यू-१५ छात्रतर्फ सुविनले धादिङका अश्विन मगरलाई २१-१५, २१-१२ को सोझो सेटमा पराजित गर्दै उपाधि उचाल्नुभएको हो । यस्तै, छात्रातर्फ दिलशाले आर्मीकी रिहाना शेरचनलाई २१-१०, २१-१९ ले पराजित गर्दै उपाधि उचाल्नुभएको हो । छात्रतर्फ सूर्यदर्शनका अमन डंगोल र आर्मीका सुदेश राजकोटी संयुक्त तेस्रो हुनुभयो । छात्रातर्फ नेक्सस इन्टरनेशनल स्कुलकी स्वर्लिन श्रेष्ठ र इमाडोल ब्याडमिन्टनकी टिशा रानी शाक्य संयुक्त तेस्रो हुनुभयो ।

योनेक्सको नेपालमा आधिकारिक बिक्रेता इनास इन्टरप्राइजेज र अपी स्पोर्ट्स म्यानेजमेन्ट प्रालिको संयुक्त आयोजनामा भएको च्याम्पियनसिपको यू-१३ छात्रतर्फ कैलालीका शिशिर रानाले जित हात पार्नुभयो । उहाँले तनहुँका सफल भुजेललाई २१-१४, २२-२० को सोझो सेटमा पराजित गर्दै उपाधि उचाल्नुभयो ।

एपेक्स लाइट स्कुलका सुहम कार्की र ग्यालेक्सी स्कुलका रिशभ राई संयुक्त तेस्रो हुनुभयो । यस्तै, छात्रातर्फ सेनाकी रिहान शेरचनले सेनाकै समृद्धि श्रेष्ठलाई २१-१३, २१-७ ले पराजित गर्दै उपाधि उचाल्नुभयो । तेस्रो स्थानमा नेक्सस इन्टरनेशनल स्कुलकी स्वर्लिन श्रेष्ठ र इमाडोल ब्याडमिन्टनकी टिशा रानी शाक्य रहनुभयो ।

बसुन्धारास्थित जेष्ट ब्याडमिन्टन एकेडेमीमा भएको खेलको यू-११ छात्रतर्फ कैलालीका आदित्य चौधरी र छात्रातर्फ कास्कीकी निभा राईले उपाधि उचाल्नुभयो । आदित्यले दीपक ब्याडमिन्टन एकेडेमीका दियोन भण्डारीलाई २१-१३, २१–१९ ले पराजित गर्नुभयो । निभाले उपाधि उचाल्नेक्रममा दीपक ब्याडमिन्टन एकेडेमीकी अस्मिता खत्रीलाई २१-१७, २१-१८ ले पराजित गर्नुभएको हो । तेस्रो स्थानमा छात्रतर्फ इमाडोल ब्याडमिन्टनका प्रिन्स थापा मगर र प्रशान्त बुढाथोकी तथा छात्रातर्फ सेनाका समृद्धि श्रेष्ठ र अजरेङ्का शेरचन रहनुभयो ।

विजयी खेलाडीहरूले मेडल, ट्रफी, प्रमाणपत्र पाउनुका साथै यू-१५ तर्फ शीर्ष तीन स्थान प्राप्त खेलाडीले क्रमशः नगद १० हजार, सात हजार र पाँच हजार प्राप्त गरे । क्वाटरफाइनलिष्टले दुई हजार ५०० र प्रिक्वाटरफाइनलिष्टले एक हजार ५०० प्राप्त गरे । यस्तै, यू-१३ तर्फ प्रथमले सात हजार, द्वितीयले पाँच हजार, तृतीयले तीन हजार, क्वाटरफाइनलिष्टले दुई हजार र प्रिक्वाटरफाइनलिष्टले एक हजार २०० प्राप्त गरे । यू–११ तर्फ प्रथमले चार हजार, द्वितीयले दुई हजार, तृतीयले दुई हजार, क्वाटरफाइनलिष्टले एक हजार ५०० र प्रिक्वाटरफाइनलिष्टले एक हजार नगद प्राप्त गरे ।

विजयी खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ, बागमती खेलकुद परिषद्का सदस्य-सचिव सूर्य भण्डारी, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, उपाध्यक्ष सुभाष श्रेष्ठ, सचिव नवीनविक्रम शाह, इनास इन्टरप्राइजेजका प्रोपाइटर राजु बास्तोलालगायतले पुरस्कार वितरण गर्नुभएको थियो । च्याम्पियनसिपमा करिब १३९ खेलाडीहरूको सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?