बागलुङ र पूर्वी रुकुमको सीमा विवाद कायमै

हिमालय टाइम्स
Read Time = 7 mins

डम्मर बुढा मगर/हिटा
बागलुङ । पाँच वर्षदेखि चर्किँदै आएको बागलुङ र पूर्वी रुकुमको सीमा विवाद अझै टुंगिएको छैन । बागलुङ जिल्लाको निसीखोला गाउँपालिका र पूर्वी रुकुमको भूमे गाउँपालिकाको सिमाना पर्ने पातिहाल्नेमा वर्षांैदेखि विवाद कायमै छ । विवाद मिलाउन कोसिस गरे पनि अहिलेसम्म कुनै पनि निचोड निक्लिएको छैन । भूमे गाउँपालिकाले वि.सं. २०७४ सालमा बागलुङको भू-भागमा आएर प्रवेशद्वार निर्माण गर्न थालेपछि विवाद सिर्जना भएको थियो ।

पातीहाल्ने दुई जिल्ला मात्रै नभएर गण्डकी र लुम्बिनी प्रदेशकै सीमा पनि हो । दुवै जिल्लाका सरोकारवालाबीच पटक-पटक सहमति जुटाउने प्रयास विगतमा भए तर त्यसले कुनै सहमति जुटाएन । दुई वर्ष अगाडि सीमा विवाद टुंग्याउन कार्यदलसमेत बनेको थियो । कार्यदलले समेत विवाद टुंग्याउन सकेन । कार्यदलले सहमतिका लागि सिमानामा पिल्लर गाड्ने भने पनि भूमे गाउँपालिकाबाट कोही उपस्थित नभएपछि विवाद कायमै रहेको छ । सिमाना खिच्नका लागि पूर्वी रुकुम लागिपरेको स्थानीयको आरोप छ ।

स्थानीय तहको निर्वाचन २०७९ पछि नयाँ जनप्रतिनिधि आएपछि पनि भूमे गाउँपालिकाबाट पातीहाल्ने क्षेत्रमा विवाद नमिलेसम्म कुनै पनि विकास निर्माणका कामहरू नगर्न भनी पत्र पठाएको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘यो सीमासम्बन्धी विवाद भएको धेरै वर्ष भयो, तर अहिलेसम्म यसको समाधान हुन सकेको छैन, पहिले पनि समाधान भएन अहिले पनि भूमे गाउँपालिका-१ बाट पातीहाल्ने क्षेत्रमा विवाद समाधान नभएसम्म कुनै पनि विकासका काम नगर्न पत्र आएको छ, हामीले यसको जवाफ दिएका छैनौँ ।’

अध्यक्ष घर्ती मगरले सीमा विवादका बारेमा निवर्तमान गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष, जिल्ला समन्वय समिति, प्रमुख जिल्ला अधिकारी र प्रदेश सांसदहरूसँग छलफल भए पनि यसको समाधान हुन नसकेको बताउनुहुन्छ । प्रदेश सरकारले तदारुकता नदेखाउँदा विवाद कायमै रहेको उहाँको भनाइ छ । ‘सीमा विवादको बारेमा प्रदेश सरकारलाई समेत जानकारी छ, सांसदहरूनै विवाद मिलाउने भनेर आउनुभएको थियो, तर उहाँहरूले यसप्रति चासो देखाएको पाइएन,’ अध्यक्ष घर्ती मगरले भन्नुभयो, ‘प्रदेश सरकारले तदारुकता देखाएको भए अहिलेसम्म यो विवाद कायमै रहने थिएन, स्थानीय स्तरबाट हामीले धेरै प्रयास गरियो तर अहिलेसम्म समाधान हुन सकेन ।’

भूमे गाउँपालिकाले बागलुङ तिरको भूभाग बढी मिचेको हुँदा आफूहरूले आफ्नो भूभाग नछोडेको स्थानीय बताउँछन् । दुई जिल्लाको सिमाना भएर मध्यपहाडी लोकमार्ग जोडिएपछि सिमाना क्षेत्रमा भौतिक संरचना निर्माण गर्न थालेपछि विवाद उत्पन्न भएको हो । भूमे गाउँपालिकाले निसीखोलाको भूभागमा आएर प्रवेशद्वार (गेट) बनाउन थालेपछि विवाद बढेको थियो । बागलुङको भूमिमा आएर गेट बनाउन थालेपछि गाउँपालिकाले निर्माण गर्न रोक लगाएको थियो ।

मध्यपहाडी लोकमार्गले दुई जिल्ला नजोडिँदा यस क्षेत्रमा निसीखोलाका स्थानीयले चरन क्षेत्रका रूपमा प्रयोग गर्दै आएका थिए । बागलुङको भूभागमा पर्ने रिग ताल, पातीहाल्नेलगायत विभिन्न स्थानमा रुकुम पूर्वले दाबी गर्दै आएको छ । पातीहाल्ने, रिग ताल क्षेत्र पर्यटकीय हिसाबले अत्यन्तै मनमोहक छन् । त्यसले गर्दा यस क्षेत्रमाथि पूर्वी रुकुमले र्‍याल चुहाइरहेको स्थानीय बताउँछन् ।
अहिले पातीहाल्नेमा भवन निर्माण गरी व्यवसाय सञ्चालन हुँदै आएको छ । यस क्षेत्रमा दैनिक दर्जनौँ आन्तरिक पर्यटकहरू पुग्ने गर्दछन् । सिमानमा पर्ने रिग ताल र अन्य सम्भावित पर्यटकीय क्षेत्रलाई भूमे गाउँपालिकाले आफ्नो पक्षमा पार्ने खोजेको स्थानीयको बुझाइ छ ।

आफ्नो भूमि कुनै पनि हालतमा आफूहरूले नछोड्ने निसीखोला गाउँपालिका-६ का स्थानीयहरूको भनाइ छ । निसीखोला गाउँपालिकाले तालसम्म मोटरबाटोले जोड्नुका साथै तालको प्रचारप्रसारमा जुटेको छ । प्रचारप्रसार गर्न थालेपछि आन्तरिक पर्यटकको बाक्लो उपस्थितिसमेत हुने गरेको छ । ताल हेर्न हरेक दिन दर्जनौँ बढी आन्तरिक पर्यटक जाने गरेको स्थानीय बताउँछन् । ताल क्षेत्रबाट अनगिन्ति हिमश्रृंखला, बागलुङको अधिकांश भूभाग, प्युठान, रोल्पा, रुकुम, गुल्मी, पर्वत लगायतका ठाउँहरू देख्न सकिन्छ ।

डेढ वर्ष अगाडि नै जिल्ला समन्वय समिति बागलुङले दुवै जिल्लाको सहमतिमा विवाद नटुंगिएपछि प्रदेश र केन्द्र सरकारलाई आग्रह गरेको थियो । तर, प्रदेश सरकारले कुनै पनि प्रतिक्रिया भने जनाएको छैन । विगतमा पनि बागलुङ र रुकुमको अन्य सीमा क्षेत्रमा विवाद हुँदै आएको थियो । सम्बन्धित सरोकारवालाले विवाद समाधानतर्फ ध्यान नदिए यसबाट ठूलो दुर्घटना हुन सक्ने सम्भावना देखिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?