काठमाडौं । देशमा बेथिति छ । अनियमितता र भ्रष्टाचारले सुशासन र राज्य व्यवस्थालाई नै विकृत बनाएको छ । लोकतन्त्रका मूल्य, मान्यता, नैतिकता, न्याय, कानुनी शासनको पूर्णतः प्रत्याभूति हुन सकिरहेको छैन । संकटोन्मुख अर्थतन्त्र एकातिर छ, अर्कोतिर बेराजगारी बढिरहेको छ । अवसर खोजीमा प्रतिभा पलायन भइरहेका छन् । जनतामा चरम निराशा छ । बेथितिका धेरै खबर प्रकाशमा आइरहेकै छन् । आउनुस् आज खुसीको खबर पढौँ । खुसी त आखिर खुसी नै हो नि हैन ? बुधबार विश्वभर खुसी दिवस नै मनाइएको छ । हरेक वर्षको मार्च २० तारिखमा अन्तर्राष्ट्रिय खुसी दिवस मनाइँदै आएको छ ।
फिनल्याण्ड फेरि विश्वको सबैभन्दा खुसी राष्ट्र बनेको छ । सूचकांक पहिलो नम्बरमा रहेको फिनल्याण्ड लगातार सातौँ वर्ष विश्वको सबैभन्दा खुसी राष्ट्र बनेको हो । फिनल्याण्डका नर्डिक छिमेकीहरू पनि शीर्ष खुसी देशहरूमा परेका छन् । डेनमार्क (२), आइसल्याण्ड (३) र स्वीडेन (नम्बर ४) शीर्ष पाँच खुसी देशमा परेका हुन् ।
खुसी दिवस मनाइरहँदा अर्को खुसीको खबर सार्वजनिक भएको छ । नेपाल खुसी हुने मुलुकको सूचीमा दक्षिण एसियामा अरू मुलुकभन्दा अगाडि देखिएको छ । बुधबार सार्वजनिक ‘वल्र्ड हृयापिनेस रिपोर्ट–२०२४’ अनुसार नेपाल दक्षिण एसियाका अन्य मुलुकभन्दा खुसी हुनेमा अघि देखिएको हो । १४३ मुलुकमा गरिएको सर्वेक्षणमा नेपाल ९३औँ स्थानमा छ । नेपालपछि भारत, पाकिस्तान, बंगलादेश श्रीलंकालगायत देशहरू छन् । नेपालभन्दा भारत धेरै पछि छ । भारत खुसी राष्ट्रको सूचीमा १२६औँ स्थानमा छ भने पाकिस्तान भारतभन्दा पनि अगाडि छ । पाकिस्तान १०८औँ नम्बरमा छ । श्रीलंका १२८ औँ नम्बरमा छ ।
ग्यालप, अक्सफोर्ड वेलबिङ रिसर्च सेन्टर, संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्क र सम्पादकीय बोर्डको साझेदारीमा तयार यो रिपोर्ट तयार पारिएको हो । नेपाल सूचांकको ९३औँ स्थानमा छ । तर, यो सुधारिएको स्थिति भने होइन । सन् २०२३ मा नेपाल संसारकै सबैभन्दा खुसी देशको सूचीको ७८औँ स्थानमा थियो ।
खुसी मापन गर्ने भनिएको वल्र्ड हृयापिनेस रिपोर्ट ग्यालप वल्र्ड पोल डेटाको सहयोगमा दिगो विकाससम्बन्धी संयुक्त राष्ट्रसंघको एक अभियानले प्रकाशित गर्ने गर्छ । रिपोर्टका अनुसार उसले हरेक देशका निश्चित मानिसहरूसँग कुराकानी गरेको आधारमा आफ्नो निष्कर्ष निकाल्ने गर्छ । खुसीका लागि उसले औसत जीवन समीक्षाबारे मानिसहरूको अनुभूति बुझ्ने बताइएको छ । त्यस्ता अनुभूति समाजमा जीवन जिउने स्वतन्त्रता, स्वस्थ्य जीवन, सामाजिक सहयोग, एक–अर्कालाई सहयोग गर्ने भावना, आर्थिक अवस्था अनि भ्रष्टाचारबारे विद्यमान आम सोचजस्ता विषय पर्ने जनाइएको छ ।
फिनल्याण्ड फेरि विश्वकै सबैभन्दा खुसी राष्ट्र
फिनल्याण्ड फेरि विश्वको सबैभन्दा खुसी राष्ट्र बनेको छ । सूचकांक पहिलो नम्बरमा रहेको फिनल्याण्ड लगातार सातौँ वर्ष विश्वको सबैभन्दा खुसी राष्ट्र बनेको हो । फिनल्याण्डका नर्डिक छिमेकीहरू पनि शीर्ष खुसी देशहरूमा परेका छन् । डेनमार्क (२), आइसल्याण्ड (३) र स्वीडेन (नम्बर ४) शीर्ष पाँच खुसी देशमा परेका हुन् ।
पाँचौँमा इजरायल छ भने नेदरल्याण्ड्स छैठौँमा परेको छ । यस्तै, नर्बे खुसी राष्ट्रहरूको सूचीमा सातौँ नम्बरमा छ । लग्जम्बर्ग आठाँै, स्वीजरल्याण्ड नवौँ र अष्ट्रेलिया दशौँ नम्बरमा परेका छन् । न्यूजिल्याण्ड, कोस्टारिका, कुवैत, अस्ट्रिया, क्यानडा, बेल्जियम, आयरल्याण्ड, चेसिया, लिथुनिया र युएसए क्रमशः एघारौँदेखि विश्वका बिसौँ खुसी राष्ट्रमा परेका छन् । सिंगापुर ३०औँ नम्बरमा छ भने जापान ५१औँ नम्बरमा छ । थाइल्याण्ड ५८, मलेसिया ५९ र चीन ६०औँ नम्बरमा छन् । सबैभन्दा पुछारमा अफगानिस्तान छ । अफगानिस्तानपछि सबैभन्दा कम खुसी हुने राष्ट्रको सूचीमा लेबनान दोस्रोमा छ ।
बंगलादेश संसारकै प्रदूषित मुलुक, नेपाल आठौँ स्थानमा
खुसीपछि अब लागौँ मानिसहरूलाई दुःखद बनाउने खबरतिर । नेपाल फेरि संसारकै उच्च वायु प्रदूषित देशका रूपमा दरिएको छ । विश्व वायु गुणस्तर प्रतिवेदन–२०२३ ले संसारकै उच्च वायु प्रदूषण भएका मुलुकमध्ये नेपाल आठौँ स्थानमा रहेको उल्लेख गरेको छ । गत वर्ष नेपाल १६औँ स्थानमा थियो । यसले सन् २०२३ मा नेपालको वायु प्रदूषण थप खराब भएको देखाएको छ ।
स्विट्जरल्याण्डस्थित आइक्यु एअर संस्थाले सन् २०२३ मा संसारका १३४ मुलुकहरूको हावाको गुणस्तर मापन गर्ने पिएम २.५ भनिने आँखाले नदेख्ने कणको तथ्यांकका आधारमा यस्तो निष्कर्ष निकालेको हो । प्रतिवेदनले बंगलादेशलाई संसारकै सबैभन्दा प्रदूषित मुलुक उल्लेख गरेको छ ।
पछिल्लो चार वर्षदेखि दिल्ली विश्वको सबैभन्दा प्रदूषित राजधानी बनेको छ । तथ्यांकका अनुसार, दिल्लीको अवस्था नोभेम्बर २०२३ मा सबैभन्दा खराब थियो, जब पिएम २.५ को औसत स्तर बढेर २५५ माइक्रोग्राम प्रतिघनमिटर भयो । आइक्यु एअरले दक्षिण र मध्यएसिया संसारका उच्च प्रदूषित शहरहरूको ‘घर’ भएको उल्लेख गरेको छ ।
संसारकै उच्च प्रदूषित मुलुकको दोस्रो स्थानमा पाकिस्तान, तेस्रोमा भारत र चौथोमा ताजकिस्तान छन् । बुर्किना फासो, इराक र संयुक्त अरब इमिरेट्स पनि उच्च प्रदूषित मुलुकको सूचीमा छन् ।
सन् २०२३ मा नेपालको हावामा आँखाले नदेखिने धुलोको कण पिएम २.५ सरदरमा ४२.४ माइक्रोग्राम प्रतिघनमिटर देखिएको छ । जुन अघिल्लो वर्षको भन्दा धेरै हो । सन् २०२२ मा नेपालमा सरदर पिएम २.५ को मात्रा ४०.१ माइक्रोग्राम प्रतिघनमिटर थियो । संसारका सफा मुलुकका तुलनामा नेपालीले श्वास फेर्ने हावा १० गुणा धेरै प्रदूषित रहेको देखिएको छ । संसारभरिका सर्वाधिक स्वच्छ हावा भएका १० मुलुक र क्षेत्रको पिएम २.५ को मात्रा सरदरमा ४.१८ माइक्रोग्राम प्रतिघनमिटर छ ।
सन् २०२३ मा संसारकै सर्वाधिक स्वच्छ हावा भएका १० मुलुक र क्षेत्र फ्रेन्च पोलिनेसिया, मरिसस, आइसल्याण्ड, ग्रेनडा, बर्मुडा, न्यूजिल्याण्ड, अष्ट्रेलिया, पोर्टरिको, इस्टोनिया र फिनल्याण्ड हुन् ।
विश्व स्वास्थ्य संगठनले हावामा आँखाले नदेखिने धूलोको कण (पिएम २.५) को मात्रा वार्षिक औसत पाँच माइक्रोग्राम घनमिटरभन्दा बढी हुन नहुने मापदण्ड तय गरेको छ । यसअनुसार नेपालको हावा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा झण्डै साढे आठ गुणा बढी प्रदूषित देखिएको छ । विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा बंगलादेशको हावा १५ गुणा र भारतको हावा १० गुणा धेरै प्रदूषित छ ।
दिल्ली विश्वको सबैभन्दा प्रदूषित राजधानी, काठमाडौं ११औँ स्थानमा
भारत विश्वको तेस्रो सबैभन्दा प्रदूषित देश बनेको छ । वायुको गुणस्तरको हिसाबले भारत बंगलादेश र पाकिस्तानपछि विश्वको तेस्रो सबैभन्दा प्रदूषित देश हो । जहाँ वायुको स्तर डब्ल्युएचओले तोकेको मापदण्डभन्दा १० गुणा बढी खराब रेकर्ड गरिएको छ । भारतको ९६ प्रतिशत जनसंख्या अर्थात् १३३ करोड जनता यस्तो हावामा सास फेर्न बाध्य छन् जहाँ पिएम २.५ को वार्षिक औसत स्तर डब्ल्युएचओले जारी गरेको मापदण्डभन्दा सात गुणा खराब छ ।
तथ्यांकअनुसार सन् २०२३ मा भारतमा रहेको पिएम २.५ को औसत वार्षिक स्तर ५४.४ माइक्रोग्राम प्रतिघनमिटर रेकर्ड गरिएको थियो । सन् २०२२ को तुलनामा देशमा पिएम २.५ को औसत स्तरमा केही वृद्धि भएको छ । विश्व स्वास्थ्य संगठनले स्वास्थ्यको दृष्टिकोणले सुरक्षित मानिने पिएम २.५ को लागि प्रतिघनमिटर पाँच माइक्रोग्रामको मापदण्ड तोकेको थियो ।
पछिल्लो चार वर्षदेखि दिल्ली विश्वको सबैभन्दा प्रदूषित राजधानी बनेको छ । तथ्यांकका अनुसार, दिल्लीको अवस्था नोभेम्बर २०२३ मा सबैभन्दा खराब थियो, जब पिएम २.५ को औसत स्तर बढेर २५५ माइक्रोग्राम प्रतिघनमिटर भयो । आइक्यु एअरले दक्षिण र मध्यएसिया संसारका उच्च प्रदूषित शहरहरूको ‘घर’ भएको उल्लेख गरेको छ । आइक्यु एअरका अनुसार ११४ राजधानीहरूमध्ये काठमाडौं ११आँै प्रदूषित शहर हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच