अव्यवस्थित सडक निर्माणले गाउँबस्ती पहिरोको जोखिममा

हिमालय टाइम्स
Read Time = 4 mins

-सरोज निरौला
उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका ७ पुँवारेस्थित मानव बस्तीमा मुर्कुची–पुँवारे खण्डको सडकमा गएको पहिरोले स्थानीय स्वस्ते सार्कीको घर उच्च जोखिममा परेको छ भने गोठ र खोर पुरिँदा आधा दर्जन चौपायामा क्षति पुगेको छ ।

मंगलबार दिउँसो गएको पहिरोले सार्कीको डेढ बिघा क्षेत्रफल जमिनमा लगाइएको धान, मकै अन्नबाली पाक्ने बेलामा पहिरोले पुरिएर क्षति भएको छ ।
स्थानीयका अनुसार पहिरोले छिमेकी रामबहादुर सार्कीको पनि गोठ र खोर पुरेर सुँगुर र बाख्रा मरेका छन् । त्यसैगरी छिमेकीहरु गणेश सार्की र टेबहादुर दुलालको पनि गोठ र खेतबारी पहिरोमा पुरिएर अन्नबाली नष्ट भएको गाउँपालिका अध्यक्ष वीरेन्द्र मगरले जानकारी दिनु भयो ।

उहाँले वर्षा भइरहेकाले पहिरो जाने क्रम पनि जारी रहेपछि पीडित सार्की परिवारलाई अन्यत्र छिमेकीको घरमा सुरक्षित स्थानमा बसोवास गराइएको बताउनु भयो । बस्ती पहिरोको उच्च जोखिम क्षेत्र रहेकाले गाउँपालिकाको विपत् व्यवस्थापन समितिमार्फत तत्काल उद्धार र सुरक्षित गर्दै आवश्यक राहत वितरण गर्ने काम भइरहेको पनि अध्यक्ष मगरले बताउनु भयो ।

सो सडक डिभिजन कार्यालय लाहान, सिराहाको ठेक्कामा निर्माणाधीन रहेको छ । सडक डिभिजन लाहानद्वारा निर्माणाधीन तथा निर्माण सम्पन्न भएका उदयपुरका अधिकांश सडक योजनामा यस्तै गम्भीर लापरबाही हुने गरेको गुनासो पनि सर्वसाधारणको छ ।

सामान्य वर्षाकै कारण पुँवारेमा पहिरोले ३ घरपरिवार विस्थापित हुन पुगेको र अन्य आधा दर्जन घरपरिवार उच्च जोखिममा परेपछि तत्काल सुरक्षित गरेर अरू गम्भीर क्षति हुनबाट रोक्ने प्रयास भइरहेको छ ।

त्यसका लागि प्रमुख जिल्ला अधिकारीमार्फत सडक डिभिजन लाहानका प्रमु्खलाईसमेत झिकाउने काम भइरहेको अध्यक्ष मगरले बताउनु भयो । टोलीले निरीक्षण गरेपछि जोखिमपूर्ण बस्तीको दीर्घकालीन व्यवस्थापन गर्नेबारे उपाय खोजिने उहाँले बताउनु भयो ।

मुर्कुची–रौता खण्ड सडक बनाउँदा प्राविधिक इस्टीमेट अनुसार नगरेको र गुणस्तरीय सामग्री प्रयोग नहुँदा यस्तो आपत्ति आइपरेको स्थानीयको गुनासो छ ।

वर्षायाममा गाउँबस्ती उठिबास नै हुने गरी सडक पूर्वाधार बनाउनुको कुनै अर्थ नरहने भन्दै स्थानीयवासी आक्रोशित भएका छन्।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?