कांग्रेसको निरन्तर उल्टो गति

प्रा. पुरुषोत्तम दाहाल
Read Time = 16 mins

घेराका वरिपरि ‘छन र मन’ गर्दै
हामी उल्लुहरूको परेड ग-यौँ
हामीले यादै गरेनौँ, थाहा थियो हामीलाई
हामी शैतानको आफ्नै ब्रिगेड हौँ
चिण्डे टाउको र लिड्को खुट्टा लिएर
हामी मस्तको गुप्तभेषी भएथ्यौँ
(प्रख्यात आइरिस कवि ओस्कर वाइल्डको कविता: जेलखानाको गीति नाटक : विश्वका सर्वश्रेष्ठ कविताहरूबाट, अनुवाद पुण्यप्रसाद शर्मा ।)

(क) शैतानहरूको परेड:
यथार्थमा हामी नेपालीहरू कहिले उल्लुहरू जस्तो भएर परेड खेल्छौँ कहिले शैतानहरूको ब्रिगेड भएर । यतिखेर उल्लु र शैतानको खेलमा हामी नेपालीहरू मस्त र व्यस्त छौँ । के भएको हो यो देशलाई ? जति ढाँटे पनि भगवान् हुने, जति बदमासी गरे पनि महान् हुने, जति कुकर्म गरे पनि धर्मावतार हुने, जति लुटे पनि विधाता र अन्नदाता हुने अनि नेपाली जनताहरू भने तिनकै कर्मदाता कारिन्दा जस्तो हुनुपर्ने र हुने किन होला ?

कसैले छाती ठोकेर भनिरहेको हुन्छ भिडमा, जनताका माझमा पुगेर: मेरा तीनोटी श्रीमती हुन्, कुरा नमिल्दा छाड्दै हिँडेँ । भिडमा उपस्थित महिला अधिकारका बुलन्द आवाज उठाउनेहरू एकस्वरमा कराउँछन्: मर्दका दशोटी हुन्छन्, भगवान् कृष्णका सोह्र हजार गोपिनी थिए भने तिम्रा किन नहुने ? मौका परे म तिम्रो सती जान तयार छु । टरर्र्र ताली बज्छ र विजयी मुद्रामा भिडभित्रको एकजना मानिस देश बनाउने जिम्मेदारीसाथ अवीरजात्रा गर्दै अगाडि बढ्छ । आफ्नो मातृभूमिलाई पूर्णतः शत्रुदेश घोषणा गर्दै देशको परिचय धुजाधुजा पार्ने र अर्काको देशको शपथ खाएर आउनासाथ, देशभक्तिको पाठ पढाउने र जनताको उत्थान गर्नेहरूलाई देशभक्त, राष्ट्रियताप्रेमी, नेपाली परिचयधारी हामी जनताले अकस्मात र नाटकीय विश्वास गर्ने काम गरिरहेका छौँ । आफ्नो देशलाई शत्रु देश घोषणा गर्नेहरूप्रति कति अमिट विश्वास ? धन्य छौँ हामीहरू । विचित्र भएन त यो देश ?

आम नरसंहारमा दण्डित हुनुपर्ने मानिसहरू मृतक परिवारका लागि सपना देखाउँदै अवीरजात्रा गर्छन् र नेपालीहरू पछि लाग्छन् : जिन्दावाद र मूर्दावादको नारा लगाउँदै । मारिनेले सर्वस्वहरणसहित मृत्युदण्ड भोग्नुपर्ने र मार्नेहरू न्यायाधीश भएर निसाफ र विकास दिने सपनाका साथ स्यालुट खाँदै हिँड्ने मेरो देश के भएको हो ? शैतानको ब्रिगेड होइनौँ त हामी ?

संविधानलाई अनेकपटक धराशायी गराउने, अनेक काण्डहरूका रचनाकारहरूको जयजयकार गर्दै तिनका व्यूह रचनाभित्र नेपाली जनता सदा अभिमन्यू भइरहनु पर्ने किन ? नेपाली जनता उल्लु होइनौँ त ? अनेकपटक नेतृत्व लिने र राष्ट्रको स्थायित्व, विकास र विश्वास लिन नसक्नेहरूको भिडमा हात उठाउँदै मुठ्ठी बटार्दै हिँड्ने हामी के भयौँ ? अनुहारमा लागेको गोबर हटाउन ऐनामा कोलिनले पुछिरहनेहरूप्रति हाम्रो निरन्तरको निष्ठाको भाष्य कसरी होला ? यसरी हामी नेपालीहरूले शैतानहरूको परेडमा कतिदिन सामेल हुने ?

(ख) पुराना कुरा छाडौँ:

पुराना कुरा छाडौँ नयाँ कुरा गरौँ ०६३ सालपछिका । पुराना खोतल्दै गएमा राणा शासन र त्योभन्दा पहिले भीमसेन थापा, पृथ्वीनारायण शाह, अनि बाइसे चौबीसे हुँदै नेपालका अनगिन्ती जातीय राजाहरूसम्म पुग्नुपर्ने हुन्छ अब सकिँदैन । पञ्चायतको तीस वर्षे कालको समेत उत्खनन कठिन भएको छ । ०४६ पछिको परिदृश्य किञ्चित फरक होला तर त्यो पनि क्रमशः विस्मृतिको गर्भमा पुगेको छ । ती दिनहरूसँग तुलना गरेर ०६३ पछिको परिवर्तनले आफूलाई किमार्थ सत्यापित गर्न सक्दैन, हुँदैन । यसमा पनि ०७२ मा नयाँ प्रणालीलाई संस्थागत गरेपछिको हरेक प्रश्न र सन्दर्भहरू खोतल्नुपर्ने हुन्छ ।

(ग) नायकको उल्टो गति:
८० वर्षयता जनताका पक्षमा भएका सबै परिवर्तनको नेतृत्वनायक नेपाली कांग्रेस पार्टी नै हो । यश र अपयश त्यही पार्टीले नै सबैभन्दा बढी व्यहोर्नु अनिवार्य छ । अनि यश र अपयशको प्रथम भागीदार पार्टीले गरेका हरेक समयका कर्महरूको समीक्षा र मूल्यांकन पनि अनिवार्य मानिन्छ । प्रतिशोधको राजनीतिको अग्निमा भष्म हुँदै, पुनः ब्यूतँदै ०४८ यता नेपाली कांग्रेसका फरक जन्म देखिएका छन् । ०६३ यता त यो पार्टी एकप्रकारले दिशाहीन जस्तै भएको छ सिद्धान्त, विचार, कार्यक्रम र रणनीतिमा ।

आदर्श भने यथावत् छ आदर्शमा कांग्रेस च्युत भएको छैन । लोकतान्त्रिक पार्टी तर बिनाविमर्श १२ बुँदे सहमति सभापतिको एकल इच्छा थियो । शान्ति र लोकतन्त्रको आशामा सबैले स्वीकार गरे त्यसबेला । त्यसपछि अनिर्वाचित माओवादीहरूलाई निर्वाचित एमालेभन्दा केही स्थान बढी दिएर प्रतिनिधि सभामा पु-याउनासाथ उसले विधानविरुद्ध अनेक निर्णयमा सहमति गर्दै ओरालो यात्रा तय गरेको थियो । जसका कारण अहिले कांग्रेसभित्र चर्को विवाद सिर्जना भएको छ । ०६४ को चुनावमा सभापति कोइरालाको राष्ट्रपतिको सपनासहित अहंकारपूर्ण महत्वाकांक्षाको सती गयो कांग्रेस र नराम्ररी पछारियो निर्वाचनमा ।

(घ) निरन्तर ओरालो तर्फको यात्रा

०७० मा माओवादीको प्रस्ताव र निर्णयअनुरूप दोस्रो संविधान सभाका लागि प्रधानन्यायाधीशलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाउन सहमत भयो कांग्रेस । ०७२ को संविधान जारी हुनासाथ पूर्व–समझदारीविपरीत नेपाली कांग्रेसले एमालेसँगको गठबन्धन तोड्यो । जसकारण सत्ताविमुख त भयो नै सुशील कोइरालाको राष्ट्रपति हुने सम्भावनालाई पनि अन्त्य गरायो । अझ उनलाई एमाले र माओवादीको नवस्थापित गठबन्धनका प्रधानमन्त्रीको प्रतिस्पर्धी बनाएर हदैसम्म मानमर्दन गरायो । मलाई आश्चर्य लाग्छ कुन र कसको स्वार्थमा यस्तो गलत रणनीति कांग्रेसमा हुने गर्छ ? के साँच्चै शैतानहरूको ब्रिगेड बनेको छ त्यहाँ ? पहिले तय भएको सहमतिलाई ०७४ को निर्वाचनमा अत्यन्त कृतघ्न भएर तोड्ने माओवादीसँग पुनः ०७७ मा घाँटी जोड्न पुग्यो कांग्रेस ।

०७९ को निर्वाचनमा त पालिका, प्रदेश र संघमा समेत माओवादीको झण्डा बोकेर कांग्रेसजन हिँडेको दृश्य सबैका आँखामा छ । हँसिया हथौडा र चारतारा सहितको रूख अब फरक नभएको उद्घोष गर्दै हिँडे कांग्रेस सभापति र शैतानको ब्रिगेडहरूले हो मा हो मिलाउँदै सोही उम्मेदवार भए, कोही प्रचारमा लागे, जय पराजयमा । कताकति आफ्नै पार्टीका उम्मेदवारलाई हराउन सक्रिय कांग्रेस सदस्यहरू माओवादीलाई जिताउन भने इमानदार भएका थिए । तर, निर्वाचनको परिणामलगत्तै माओवादीले लात हान्यो र गठबन्धन टुट्यो । तर, कांग्रेसको मन टुटेन । फेरि माओवादीसँग गला मिलायो र एक वर्षसम्म कस्ने काम मात्रै गरिरह्यो । सायद ओस्कर वाइल्डका उल्लुहरू योभन्दा फरक छैनन् होला ।

(ङ) खाल्डोमा पुग्नै लागेको कांग्रेस:
०७९ को र्विाचनमा चुनावी गठबन्धनबाट कांग्रेसको उल्टो बाटो यतिखेर निस्कनै नसक्ने गरी भयानक खाल्डोमा पुगेको छ । यसलाई हजारौँ हात्तीको बल भएका पाण्डवपुत्र भीमसेन वा चतुर गुरु द्रोणाचार्यले समेत बाहिर निकाल्न कठिन देखिएको छ । सिद्धान्तको व्यापार गर्दै गरिएको चुनावी गठबन्धन पहिलो गल्ती थियो ०७९ पछिको । माओवादीको मागअनुसार प्रधानमन्त्री पद उसलाई नै दिएर गठबन्धन जोगाउनुभन्दा ठूलो पार्टीको सैद्धान्तिक रटानमा अडिनु दोस्रो गल्ती थियो ।किनकि तेस्रो शक्तिमा माओवादी थियो र यो पार्टी ०५१ को राप्रपा, ०६४ का मधेशकेन्द्रित दलहरूको जस्तै हैसियतमा बार्गेनिङ क्षमतामा पुगेको थियो ।

राष्ट्रपति निर्वाचनमा कांग्रेसको हो वा अरू कसैको हो बुद्धिका कारण माओवादीले पुनः कांग्रेससँग गठबन्धन स्थापित गर्दा कांग्रेसले समीकरणमा सहभागी हुन पायो । तर, बेमौसमको बाजा बज्न लाग्यो कांग्रेसमा । पहिलो इतरपक्षका नाममा बढी बुद्धिमान सावित गर्ने दौडमा डा. शेखरले माओवादीबाट सत्ता कांग्रेसले लिने वा गठबन्धन तोड्नुपर्ने महान् विचार प्रक्षेपण गर्नुभयो र यही सूत्रका आधारमा कांग्रेसको एकमहिना पहिले सम्पन्न महासमिति बैठकमा महामन्त्री गगन थापामार्फत प्रस्तुत गठबन्धन तोड्ने विषयले वैधता पायो । महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले प्रस्तुत गर्नुभएको माओवादी सशस्त्र हिंसाबारेको टिप्पणी माओवादीका लागि अप्रिय भाषा जस्तो भयो । त्यो टिप्पणीलाई प्रिय बनाएर माओवादीलाई नचह-याउने गरी प्रस्तुत गर्न सकिन्थ्यो । तर, कांग्रेसका स्वयम्भूहरू सर्वज्ञाता भएका कारण त्यो टिप्पणीले सहयोगी दललाई उक्साउने काम मात्रै ग-यो ।

धर्मको मात्रै होइन अनेक विषय र मागसहित कांग्रेस महासमिति परिसरमा तम्बूहरू बनाइएका थिए । कांग्रेसमा प्रस्तुत तर अनिर्णीत त्यस्ता विषयहरूलाई कांग्रेसले औपचारिक स्वामित्वमा लिएको होइन भन्ने र विश्वस्त तुल्याउने सामथ्र्य कांग्रेसजनमा भएन । अहिले संसद्मा कांग्रेसको अर्को रणनीतिक स्खलनको शृंखला देखिएको छ । गृहमन्त्री रवि लामिछानेको राजीनामाको माग र रोष्ट्रम घेराउ । अर्थात् संसद् बैठक अवरुद्ध पार्ने काम ।

(च) गृहमन्त्रीको राजीनामा माग र प्रवाहित सन्देश:

तत्काल विगतमा एमालेले केही मन्त्रीविरुद्ध नारा लगाउँदै राजीनामा मागेको नक्कल गरी गृहमन्त्रीको राजीनामा माग्न कांग्रेस सक्रिय छ । रवि लामिछाने अनेक काण्डमा मुछिएका छन् । तैपनि नागरिकको समर्थन उनलाई पर्याप्त छ । कांग्रेस, एमाले वा माओवादी र मधेशकेन्द्रित नामधारी सबै दलका नेताहरू भन्दा उनी लोकप्रिय छन् र उनकाप्रति आश्चर्यजनक अन्धसमर्थकहरूको भिड देखिन्छ । उनले अहिले सुनकाण्डदेखि अनेक थाती रहेका काण्डहरूका फाइल खोल्न आफूअन्तर्गत निकायहरूलाई उत्प्रेरित गरिरहेका छन् । भर्खरै मात्र माओवादीका उपाध्यक्ष पूर्वसभामुख पक्राउ परेका छन् र अरू पनि पक्राउ हुने सम्भावना देखिएको छ ।

यसबेला गृहमन्त्री रविलाई सहयोग गर्दै पुराना अनगिन्ती भ्रष्टाचारका मुद्दाहरूको उत्खनन गर्न र कारबाही गराउन सहयोग गर्ने पहिलो रणनीति कांग्रेसको हुनुपर्ने थियो । यसपछि रविको विवादित मुद्दाहरूलाई सशक्त पार्नु आवश्यक थियो । सुनकाण्ड, जग्गा काण्ड, सहकारी र बैंक काण्ड र अरू यस्तै अनेक काण्डहरूमाथि कारबाही गर्न सक्रिय गृहमन्त्री रवि त्यही गृहमन्त्रीविरुद्ध संसद् अवरुद्ध गर्ने कांग्रेस कस्तो सन्देश प्रवाहित भइरहेको होला ? कांग्रेसका महानायक, स्वयंघोषित स्वयम्भू र आफूलाई कांग्रेसका मालिक र अरूलाई नोकर सम्झनेहरूले विश्लेषण कसरी गर्नुभएको छ थाहा छैन । तर, कांग्रेसको नियतिमा नै यदि ओरालो लाग्नु लेखेको छ भने ओरालो लाग्दै अझ तल खाल्डोको पुछारमा पुग्ने होला । यसबेला त कांग्रेसले प्रधानमन्त्री प्रचण्ड वरिपरि परेड खेल्नेहरू, उहाँका पृष्टका शक्तिहरू, अकस्मात परिवर्तित खेलहरूका सूचना लिने, विश्लेषण गर्ने र पार्टी संगठनमा लाग्नुपर्ने थियो । तर, उल्टो मति र गति भएको छ । उल्टो मतिले खाल्डोमा पुग्यो भने त्यसबेला रामराम भन्नुबाहेक कसैसँग पनि अर्को उपाय रहने छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?