करिब आठ अर्ब हाराहारी जनसंख्या रहेको पृथ्वीमा पानीको खपत दिनानुदिन बढिरहेको छ । जनसंख्या वृद्धि र बढ्दो आर्थिक क्रियाकलापले विश्वको जलस्रोतलाई कम गर्दै लगेको छ । युनेस्कोको रिपोर्टअनुसार विश्वको १० प्रतिशत जनसंख्या गम्भीर जल संकटको सामना गरिरहेको छ । यो संकट बर्सेनि बढ्दै गइरहेको तथ्यांकहरूले देखाएका छन् । यही हालत रहेमा सन् २०५० सम्म शहरमा बस्ने विश्वका करिब साढे दुई अर्ब मानिसहरूलाई पानीको संकटले सताउनेछ । पानीको कमीका कारण लाखौँ मानिसहरू विस्थापित हुन सक्ने र द्वन्द्व एवं राजनीतिक अस्थिरताको कारण हुन सक्ने आँकलन गरिएको छ । मेक्सिकोदेखि चिलीसम्म, अफ्रिकाका भूभाग र दक्षिण युरोपका पर्यटकीय गन्तव्यहरूमा जल संकटको अवस्था चिन्ताजनक छ ।
विश्वको झण्डै एक तिहाइ भूभाग उच्च जल संकटको अवस्थामा छ । डब्ल्युआरआईका अनुसार तीमध्ये १७ देशमा एक अर्ब ७० करोड मानिसहरू उच्चतम जल संकटकोे अवस्थामा रहेका छन् ।
तीमध्ये एक दर्जन राष्ट्रहरू मध्यपूर्वको सुक्खा क्षेत्रमा रहेका देशहरू हुन् । दक्षिण एसियामा उच्चतम जल संकट भएका राष्ट्रहरूमा भारत र पाकिस्तान रहेका छन् । दुनियाँको कुल आवादीको १७ दशमलब पाँच प्रतिशत हिस्सा भारतमा छ । तर, यहाँ धर्तीको ताजा पानीको स्रोतको केवल चार प्रतिशतमात्रै छ । भारतमा खानेपानीको कुल आवश्यकताको ८५ प्रतिशत भू–जलबाट पूरा हुने गरेको छ । अफगानिस्तान र नेपाल दुवै उच्च जल संकट भएको देशका रूपमा रहेका छन् ।
अहिले कृषि क्षेत्रमा सबैभन्दा धेरै पानी खपत भइरहेको छ । विश्वमा उपलब्ध शुद्ध जलको ७० प्रतिशत हिस्सा कृषिमा खर्च भइरहेको छ । पानीको माग पूरा गर्न भूजलको बढी प्रयोग भइरहेको छ । यसकारण हरेक वर्ष दुनियाँभर भूजलको सतहमा १०० देखि २०० घनमिटरले कमी आइरहेको छ ।
जलवायु परिवर्तनका कारण दुनियाँका केही ठाउँ बाढीको शिकार भइरहेका छन् । बाढी पहिरोकै कारण संसारका केही ठाउँ सुक्खामा परिणत भएका छन् । विश्वको तापमान एक डिग्री सेल्सियसले बढेसँगै आर्द्रता सात प्रतिशतले बढ्छ । आर्द्रता बढ्नुको अर्थ असमयमै भारी वर्षा हुन्छ । बाढी, पहिरो, बाली नष्ट र खानेपानी दूषित हुनु पनि यसको प्रत्यक्ष परिणाम हो ।
सन् २००० देखि २०१९ को बीचमा बाढीले ६५० अर्ब डलर नोक्सान गरेको छ । यस अवधिमा एक लाख मानिस मारिए भने १४ लाख मानिस गम्भीर खडेरीको चपेटामा परे । यो खडेरीले थप करिब १३० अर्ब डलरको नोक्सानी पनि बेहोरेको थियो ।
संयुक्त राष्ट्रसंघ जल सम्मेलन, २०२३ मा ५० वर्षपछि विश्वमा हुने जल संकटबारे छलफल भएको थियो । जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल (आइपिसिसी) लगायतले जल संकटबाट उत्पन्न हुने समस्याहरू औंल्याएका छन् । चारमध्ये करिब तीन प्राकृतिक प्रकोप पानीसँग सम्बन्धित रहेको, पृथ्वीको एक चौथाइ जनसंख्या सफा पिउने पानीबिना बाँचिरहेको उल्लेख गरिएको छ । यस्तै, जलवायु परिवर्तन, प्रदूषण र बढ्दो उपभोग तथा उत्पादनका कारण सन् २०५० सम्म करिब ६ अर्ब मानिसले पानीको अभाव सामना गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
संयुक्त राष्ट्रसंघीय जल सम्मेलनअघि प्रतिवेदन सार्वजनिक गर्दै युनेस्कोका महानिर्देशक अड्री अजौलेले ‘विश्वव्यापी जल संकटलाई नियन्त्रणभन्दा बाहिर आउनुअघि नै यसलाई रोक्नका लागि एउटा शक्तिशाली अन्तर्राष्ट्रिय संयन्त्र स्थापना गर्न तत्कालै आवश्यक रहेको बताउनुभएको थियो । अजौलेका अनुसार पानी हाम्रो साझा भविष्य हो, यो अत्यावश्यक छ कि हामीले सँगै काम गर्न र यसलाई समान र दिगोरूपमा बाँडफाँट गर्नुपर्दछ ।
विश्व बैंकले जलवायु परिवर्तनका कारण उत्पन्न हुने पानी संकटले सन् २०५० सम्ममा विश्वको कुल गार्हस्थ्य उत्पादनमा ६ प्रतिशत नोक्सान हुने अनुमान गरेको छ । यसको सबैभन्दा बढी असर कृषि, स्वास्थ्य, आम्दानी र आवासीय क्षेत्रमा पर्नेछ । मानिसहरू ठूलोमात्रामा विस्थापित हुनेछन् र विवादहरू पनि उठ्न सक्छन् ।
संयुक्त राष्ट्र संघको जलवायु विज्ञहरूको प्यानल आइपिसिसीले चेतावनी जारी गर्दै भनेको छ, ‘विश्वको झण्डै आधा जनसंख्याले अब हरेक वर्ष केही समयका लागि गम्भीर पानीको अभावको सामना गरिरहेको छ ।’ बढ्दो जनसंख्यालार्ई स्वच्छ खानेपानी उपलब्ध गराउने लागत यस दशकको अन्त्यसम्ममा तीन गुणा बढ्नेछ । साझा नदी भएका देशहरूमा पानी बाँडफाँटको विवाद बढ्दै गएको छ ।
पानीको अभावले जैविक विविधता र विभिन्न प्रकारका इकोसिस्टममा पनि असर गरिरहेको छ । धेरै प्रजातिका वनस्पति नष्ट भइरहेका छन् । साझेदारी र साझेदारीबिना यी चुनौतीहरू पार गर्न गाह्रो हुनेछ । खानेपानीको अधिकार मानव अधिकार हो । यसमा ध्यान नदिए पक्कै पनि विश्वव्यापी संकट आउनेछ ।
जलवायु परिवर्तन, खराब व्यवस्थापन, जलस्रोतको घट्दो संख्या र लगानीको कमी कुनै न कुनै स्तरमा यी सबै कारण समस्याका लागि जिम्मेवार छन् । तर, जानकारहरूका अनुसार मुद्दा पानी सकिने विषयको होइन, बरु त्यससँग मानिसहरूको सम्बन्ध समाप्त हुनेबारेको हो । समस्याको समाधान त छ तर यसका लागि हामीले आफ्नो तौरतरिका बदल्नुपर्नेछ र एकपटक फेरि पानीको प्रयोगको विषयमा सोच्नुपर्नेछ । ता कि भविष्यमा हरेक व्यक्तिका लागि, हरेक स्थानमा आवश्यकताअनुसारको पानी उपलब्ध होस् । नत्र पानीको महत्व हामीले त्यतिबेला बुझ्नेछौँ जतिबेला कुवा सुकिसकेको हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच