बेनीमा महिला उद्यमीलाई अचार बनाउने तालिम

Read Time = 3 mins

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा महिला उद्यमीलाई पाँचदिने अचार बनाउने तालिम दिइएको छ । म्याग्दी उद्योग वाणिज्य संघ र महिला उद्यम विकास समितिले महिलाहरूको आयआर्जन बढाउने उद्देश्यले तालिम सञ्चालन गरेका हुन् । ८० जना महिलाको सहभागिता रहेको तालिममा स्थानीय उत्पादित वस्तुबाट अचारका परिकार बनाउने तालिम दिइएको थियो ।

वरिष्ठ लघु उद्यमी धनमाया रानाले अमला, कागती, गुन्द्रुक, भट्टा, टुसो र मेथी, मेथी ग्रेभी, लप्सी गुलियोलगायतबाट अचारका परिकार बनाउने तालिम प्रदान गर्नुभएको थियो । तालिममा सिकेको सीप समयअनुसार उत्पादन हुने वस्तुको अचार बनाएर आयआर्जन बढाउन तालिममा सहभागी महिलालाई उहाँले आग्रह गर्नुभएको थियो ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले पछिल्लो समयमा समुदायमा हुने विभिन्न कार्यक्रममा अचारको माग बढेका कारण महिलाका लागि अचार बनाउने तालिम आयोजना गरिएको बताउनुभयो । उहाँले घरमा मौसमी र बेमौसमीरूपमा उत्पादन हुने वस्तुहरूको स्वादिलो अचार बनाएर बिक्री गर्न तालिममा सहभागीलाई आग्रह गर्नुभएको थियो । अचारलगायत अन्य वस्तुको बजारीकरणका लागि कालिपुलमा संघले ‘कोशेली घर’ सञ्चालन गर्न पनि उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य कुविरकुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष उत्तमबहादुर कर्माचार्य, पूर्वअध्यक्ष सुदर्शनकुमार श्रेष्ठ र पत्रकार घनश्याम खड्काले लघुउद्यममार्फत् आफू, परिवार र समाजलाई आत्मनिर्भर बनाउने गरी उद्यमशीलतामा सक्रिय हुन आग्रह गर्नुभएको थियो । समापन कार्यक्रममा तालिममा सहभागीलाई म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल र महिला उद्यम विकास समितिकी अध्यक्ष लक्ष्मी भण्डारी कार्कीले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?