पाल्पा । गर्मी महिनाको आगमनसँगै पाल्पाका उपभोक्ताहरु आगलागी रोकथामका लागि वन सरसफाइमा जुटेका छन् । उनीहरूले सामुदायिक वन क्षेत्रभित्र पलाएको झारपात, साना बिरुवा, हाँगाबिगा, पातपतिङ्गर सरसफाइ अभियानमा जुटेका हुन् ।
जिल्लाका विभिन्न जंगलमा आगलागीबाट वर्षेनी हजारौ हेक्टर वन जंगलमा क्षति हुँदै आएको पाइन्छ । खासगरी चैत, बैशाख, जेठ महिनामा डढेलो तथा आगलागीको उच्च जोखिम हुने गर्छ । यस वर्ष यहाँका उपभोक्ताहरु डढेलोबाट वन जोगाउन कस्सिएका छन् । तानसेनको शिरमा रहेको श्रीनगर वनमा आवद्ध उपभोक्तहरू अहिले वनको झारपात सरसफाइ गर्न जुटेका छन् । उनीहरू हसिया, बखुवालगायतका घरेलु हतियार लिएर सरसफाइमा जुट्ने गरेका हुन् । यहाँ सल्लै सल्लाले भरिएको जंगल छ । जसका कारण प्रत्येक बर्ष आगलागीले तनाव दिने गर्दछ । यस बर्ष आगलागी हुन नदिन र भइहाले पनि क्षति हुन नदिन सदरमुकाम तानसेनबाटै श्रीनगर जंगलका बिच भागका गोरेटो बाटाहरुमा अग्निरेखा बनाउनुको साथै पात पतिङ्गर संकलनमा उपभोक्ता कस्सिएका हुन् । फोहोरको थुप्रो बनाउने र उपभोक्ताको निगरानीमा जलाउने गरिएको छ ।
सुख्खा मौसममा पातपतिङ्गर सुकीसक्या हुन्छ । त्यसमा सजिलो आगो लाग्ने सम्भावना बढ्दो हुन्छ । वनमा प्रवेश गर्ने गोठाला र बटुवाहरुले आगो लगाइदिन्छन् । कतिपय स्थानमा चुरोटको फालिएको ठुटोबाट सल्केर आगलागी भएका घटनाहरूबाट हामी अनभिज्ञ छैनौं । त्यसबाट वनलाई जोगाउन पहिलादेखि नै सतर्कता अपनाउन थालिएको समितिमा आवद्ध सदस्यहरूले बताए । झारपात सरसफाइले आगलागीबाट बिरुवा पनि जोगिन्छ । हुर्केका साना बिरुवा पनि सप्रिन्छ । त्यसैले सरसरफाइमा जोड दिइएको भुसालडाँडाका वन उपभोक्ता देवीदत्त शर्माले बताउनुभयो । ‘वन जोगाउने उपभोक्ताबाटै हो, उपभोक्ता जागरुप सक्रिय भए वन जोगिन्छ, आगलागी भईहाले पनि निभाउन उपभोक्ता नै खटिनु पर्छ, त्यसैले आगलागी भएर खटिनु भन्दा आगलागी हुन नदिनको लागि हामी वनमा हिड्डुल गर्ने बाटाको तल माथि भएका पात संकलन गर्ने, बाटो सफा बनाउने अभियानमा जुटेका छौं’ उहाँले भन्नुभयो ।
अहिले जिल्लामा पनि छिटपुट रुपमा आगलागीका घटनाहरु सुनिन थालेका छन् । यो बर्ष पाल्पाको ५ वटा सामुदायिक वनको ४० हेक्टर क्षेत्रफलमा आगलागी भईसकेको छ । विशेषगरी सल्लाको जंगलमा बाक्लो रुपमा पात झरिसकेको छ, आगलागी पनि छिटो हुने भएकाले सबैघरका उपभोत्ताहरु आ-आफ्नो कुटो कोदालो, हसिया, फरुवालगायतका सरसमानसहित श्रीनगर जंगलमा खटिएको उकाले पिपल सामुदायिक वन उपभोक्ता समितिका सचिव विष्णु बस्यालले बताउनुभयो । वन उपभोक्ताहरुलाई एकिकृत गरेर श्रीनगर वनको कैलाशनगरदेखी भुसालडाँडासम्मको वन क्षेत्रमा अग्निरेखाहरु बनाईएको छ । बाटाहरुमा झरेका पात पतिङ्गर सफा गरिएको छ । वनमा डढेलो लागेर आगो निभाउन खटिनु भन्दा आगलागीका घटना हुनै नदिने गरी सचेतनाका अभियानलाई प्रभावकारी बनाउन वनका उपभोक्ताहरु जुटेको एकिकृत श्रीनगर सामुदायिक वन उपभोक्ता समुहकी अध्यक्ष सुनिता शर्माले बताउनुभयो ।
डिभिजन वन कार्यालय पाल्पाले गर्मी महिना शुरुवातसंगै पहिलो चरणमा वन उपभोक्ताहरुमा सचेतना अभियान चलाएको छ । आगलागीका घटनाहरु नियन्त्रण गर्ने प्रमुख उपाय नै वन जंगलमा अग्निरेखा बनाउने, झरेका पात पतिङ्गर संकलन गर्ने, र आगलागीको जोखिम कम भएको स्थानमा लैजाने वा निगरानीमा सोही स्थानमा जलाउने भएकाले सोही अनुसार उपभोक्ताहरु परिचालन गरिएको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख वन अधिकृत नारायणदेव भट्टराईले बताउनुभयो । वन डिभिजनको सचेतना अभियानमा उपभोक्तासँंगै नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाले सहयोग गरेका छन् । तानसेनको श्रीनगरबाट शुरु भएको यो नौलो अभियानलाई जिल्लाभरीका सामुदायिक वनहरुमा लागु गरिने प्रमुख भट्टराईले बताउनुभयो ।
सब डिभिजन वन कार्यालय मार्फत पाल्पाका १० वटै स्थानीय तहका सामुदायिक वनका सबै उपभोक्ताहरुलाई आगलागीका घटना हुन नदिन, भईहालेमा अपनाउनु पर्ने अवस्थाको बारेमा छलफल अन्तक्रियामार्फत सचेतनाको अभियान सञ्चालन भइरहेको डिभिजन वन कार्यालय पाल्पाका सूचना अधिकृत संयोग बस्नेतले बताउनुभयो । वन डढेलो नियन्त्रण अभियानका हरेक सचेतना कार्यक्रमदेखी वन जंगलमा अग्निरेखा बनाउने, झरेका पात पतिङ्गर संकलन तथा जलाउने काममा उपभोक्तांसँगै हामी वनका कर्मचारी, चार वटै तहका सुरक्षाकर्मीहरु पुर्ण रुपमा खटिएका छौ ,सबै पक्षको मिलेमोतोमा भएको प्रभाव राम्रो र दीर्घकालीन हुने श्रीनगर वन क्षेत्रमा अग्निरेखा निर्माणमा खटिएका वन अधिकृत रामचन्द्र लामाले बताउनुभयो ।
जिल्लामा आगलागी तथा डडेलोको अति जोखिममा तिनाउ गाउँपालिकाको कचल, दोभान, झुम्सा, कोल्डाडाँडा गरी ४ वटा वडा, रिव्दीकोटको गाउँपालिकाको देउराली, खस्यौली, भैरवस्थान, कुसुमखोला, ठिमुरे गरी ५ वटा वडा, रैनादेवी छहरा गाउँपालिकाको सोमादी, भुवनपोखरी, छहरा, जुठापौवा गरी ४ वटा वडा, माथागढी गाउँपालिकाको झडेवा, हात्तीलुङ, गोठादी र रहवास गरी ४ वटा वडा, पुर्वखोला गाउँपालिकाको जल्पा, रिङनेरह, बीरकोट गरी ३ वटा वडा पनि जोखिममा रहेका छन् । तानसेन नगरपालिकाको श्रीनगरडाँडा, बौघापोखराथोक, बोघागुम्हा, बन्दीपोखरा गरी ५ वटा वडा अति जोखिममा रहेका छन् । पाल्पाका ८१ वटा वडाहरुमध्ये २७ वटा वडा अति जोखिम, २९ वटा वडा मध्यम जोखिम र २५ वटा वडा न्युन जोखिममा रहेको डिभिजन वन कार्यालयले गरेको अध्ययनबाट देखिएको रेञ्जर यमलाल पोखरेलले बताउनुभयो ।
जिल्लामा ७ सय १ वटा सामुदायिक, १ सय ४० वटा कवुलियती वन र ४ वटा धार्मिक वन रहेका छन् । जिल्लाभर तानसेन नगरपालिकाको मात्र एउट दमकल रहेको छ । जिल्लामा आगलागी हुँदा एउटा दमकलको मात्र प्रयोग हात्तीको मुखमा जिरा जस्तै भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच